पञ्चेश्वरको ‘डीपीआर’ लाई अन्तिम रूप दिएर आयोजना अगाडि बढाउन भारत सकारात्मक

Swastika Bhandari

१ फागुन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच पञ्चेश्वर परियोजना अगाडि बढाउने विषयमा वार्ता भएको छ ।

‘इन्डिया इनर्जी विक–२०२५’ मा सहभागी हुन भारत नयाँदिल्ली पुगेका मन्त्री खड्काले आज बिहीबार भारतीय समकक्षी पाटिलसँग श्रमशक्ति भवन नयाँदिल्लीमा भेट गरी पञ्चेश्वर परियोजना अगाडि बढाउने विषयमा छलफल गरेका हुन् ।भेटमा पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको डीपीआर चाँडो फाइनल गरेर आयोजना अघि बढाउने सहमति भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।

भेटमा टनकपुरदेखि नेपाल–भारत सीमासम्मको लिंक नहर निर्माण सम्पन्न भइसकेको तर पानी सञ्चालन कार्यविधिलाई चाँडै अन्तिम रूप दिई महाकाली सन्धि अनुसार पानी छाड्ने सहमति भएको छ ।यस्तै बाढी र डुबान व्यवस्थापनका लागि संयुक्त समितिको १४औं बैठक आगामी २२ देखि २४ मार्चसम्म गर्ने र यसका लागि मन्त्रालयबाट औपचारिक पत्राचार गर्ने सहमति पनि भएको छ ।

यसैगरी सप्तकोशी बहुउदेश्यीय आयोजनाको डीपीआर सम्बन्धमा पनि द्विपक्षीय बैठक मार्फत छलफल अगाडि बढाउने सहमति भएको छ ।

ऊर्जामन्त्री खड्काले गत ५ नोभेम्बरमा भएको भेटघाट र छलफलले दुई देशको सहकार्यमा जलस्रोत क्षेत्रमा महत्त्वपूर्ण कार्यका लागि अघि बढ्न थप हौसला प्रदान गरेको स्मरण गरे ।

भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रूप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताए ।

भेटवार्तामा मन्त्री खड्कासँगै मन्त्रालयका सचिव सुरेश आचार्य, वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठ लगायत सहभागी थिए ।

Sharing Is Caring:

Leave a Comment