माघ ३०, २०८१काठमाडौँ — नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले १७ पटकसम्म ज्ञापनपत्र बुझाउँदा पनि सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिने भएको छ । पत्रकार सम्मेलन गर्दै महासंघले बुधबार चरणबद्ध विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।महासंघले फागुन १ गतेदेखि नेपाल आयल निगम लिमिटेडको केन्द्रीय कार्यालयमा धर्ना र प्रदर्शन गरेर आन्दोलन सुरु गर्ने जनाएको छ । २ गतेबाट पीडीओ नलिने र ५ गतेबाट सबै डिपोहरुमा ट्याङ्करको साँचो निगममा बुझाई ट्याङ्कर लोड-अनलोड नगराउने तर निगम स्वयंले सञ्चालन गर्न चाहेमा ट्याङ्कर उपलब्ध गराउने बताएको छ ।महासंघका अध्यक्ष मनोजकुमार दासले महासंघले गत पुस २३ गते आयल निगम लगायत मन्त्रालयलाई पत्राचार गरी जानकारी गराएको तर सरकारले नसुनेको आरोप लगाए । अध्यक्ष दासले विशेषगरी ढुवानी भाडा समायोजन नगरेको आरोप लगाउँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जायज माग सम्बोधन गर्न निर्देशन दिँदा पनि सुनुवाइ नभएको बताए ।