करोडौं लगानीका शीत भण्डार रित्तै

Swastika Bhandari

माघ ३०, २०८१अर्घाखाँची — जिल्लामा निर्माण भएका शीत भण्डार यतिबेला खाली छन् । कृषि सामग्री भण्डारणका लागि बनाइएका जिल्लाका पाँचवटा शीत भण्डारमा ताला लगाइएको छ । उत्पादन भण्डारण गर्नुपर्ने भण्डारका कोठामा माकुराले जालो लगाइसकेका छन् । मालारानी गाउँपालिका–५ बाँगीमा चार वर्षअघि ‘शीत भण्डार’को भवन निर्माण सम्पन्न भएको थियो । भवन निर्माण, चिस्यान उपकरण जडान, विद्युत् टान्सफर्मर जडान लगायतमा अहिलेसम्म ८० लाख रुपैयाँ लगानी भएको वडाध्यक्ष तिलक मिश्रले बताए । भवन बने पनि उपकरण र विद्युत् जडान लगायका काम अझै भइसकेको छैन ।‘शीत भण्डार अहिले खाली छ, यो वर्ष बाँगीलाई आलु पकेट क्षेत्र कार्यक्रम अन्तर्गत ७० क्वीन्टल आलु लगाएका छौं,’ उनले भने, ‘आलु उत्पादन भएपछि परीक्षणका लागि राख्ने योजनामा छौं । आलुपछि सुन्तला राख्छौं ।’ उनले भण्डार सञ्चालन गर्न कुनै सहकारी वा समूहलाई दिइने पनि बताए ।

भवन बने पनि उपकरण जडानको काम पूरा भइनसकेको र राख्ने उत्पादन नभएपछि खाली रहेको उनको भनाइ छ । चैतसम्ममा आलु उत्पादन भएपछि राख्ने योजना वडाको रहेको छ । बाँगीका स्थानीय सन्धिखर्क बजारदेखि भारतीय आलु किनेर खाइरहेका छन् । गाउँमा पूर्वाधार बने पनि त्यसमा राख्ने पर्याप्त उत्पादन छैन । बिना अध्ययन गाउँपालिकाले एक सय टन क्षमताको शीत भण्डार बनाएको थियो ।मालारानीकै वडा ६ को रतनमारे, वडा ३ को खनदह र डाँडाकटेरी र १०–१० टन क्षमताको भवन निर्माण गरिएको छ । यहाँ चिस्यान केन्द्रका उपकरण जडान भएका छैनन् । शीत भण्डारको नाममा भवन मात्रै निर्माण गरिएको छ । जुन अलपत्र छ । स्थानीय उत्पादनलाई राख्ने र बेमौसममा बिक्री गर्ने उद्देश्यले निर्माण गरिएका भवनको न काम पूरा भएको छ न त्यसमा राख्ने पर्याप्त उत्पादन नै ।खनदह र हंसपुरमा सुन्तला उत्पादन हुन्छ । तर क्षमता अनुसार शीत भण्डारमा राख्न पुग्नेजति उत्पादन भने देखिँदैन । यता सन्धिखर्क नगरपालिकाले संघीय सरकारको सहयोगमा निर्माण सुरु गरेको कोल्डस्टोर पनि अहिले अलपत्र नै छ । झ्याल ढोकासम्म नराखिएकाले रातिमा जनावरहरुको बासस्थान बनेको छ ।

फलफूल र खाद्यवस्तु राख्न संघीय सरकारको ७ करोड ४५ लाख लगानीमा १५ सय टन क्षमताको शीत भण्डारको भवन निर्माण नगरपालिकाले चार वर्षअघि सुरु गरेको थियो । जसमा ५० साझेदारी नगरपालिकाको हो । यसवर्ष संघको २ करोड ३ लाख र नगरले १ करोड ५ लाख विनियोजन गरिएको नगरपालिकाका योजना अधिकृत दिलीप केसीले जानकारी दिए ।यस्तै पाणिनि गाउँपालिका–२ पोखराथोक स्थित शिवशक्ति कोल्डस्टोरमा तीन वर्षजति सुन्तला राखियो । तर त्यहाँ राखिका सुन्तला कुहिएरै खेर गए । गतवर्ष स्टोरमा राखिएको ९० मेट्रिक टन मध्ये ६० मेट्रिक टन सुन्तलाका दानामा ढुसी लागेर कुहिए । यसपाली कृषकले सुन्तला राखेनन् ।

शीत भण्डार निर्माणको लागि सुन्तला कृषकको शिवशक्ति मिश्रित कृषक समूहको २५ प्रतिशत साझेदारी र लुम्बिनी प्रदेश सरकारको २ करोड ५० लाख लगानी भएको थियो । तर अहिले यहाँ पनि ताला लागेको छ । सञ्चालनको जिम्मा पाएको शिवशक्ति समूहका अध्यक्ष रेवतीराज पौडेलले तीन वर्षसम्म सुन्तला कुहिएपछि अर्को व्यवस्था नहुँदासम्मका लागि सुन्तला नराख्ने निर्णय कृषकले गरेको बताए ।

‘स्टोर अहिले खाली छ,’ वडा २ पोखराथोकका अध्यक्ष चन्द्रकान्त पौडेलले भने, ‘लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका प्राविधिक आएर तालिम दिएर गतवर्ष स्टोरमा सुन्तला राखिएको थियो । अहिले निर्देशनालयले आफैं सुन्तला किनेर राख्ने तयारी गरे पनि अन्तिममा पछि हट्यो ।’

गतवर्ष कृषि वैज्ञानिकले भने अनुसार स्टोर गर्दा पनि सफल नभएको उनको भनाइ छ । कृषकले नराख्ने भएपछि लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय बुटवलले आफैं किनेर राख्ने तयारी गरेको थियो । निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत विवेक पन्तले विज्ञसँग परामर्श गरेर निर्णय लिइने बताए । ३ सय मेट्रिक टन क्षमता रहेको भण्डारमा सुन्तलाबाहेक अरु खाद्यवस्तु तथा तरकारी राख्न उत्पादन छैन ।

Sharing Is Caring:

Leave a Comment