माघ ३०, २०८१पाल्पा — पाल्पाको प्रमुख पर्यटकीयस्थल रानीमहलमा हुन लागेको अन्तरप्रदेश समन्वय बैठकमा यस क्षेत्रको विकास निर्माणमा ध्यान दिन नागरिक समाजका अगुवाले आग्रह गरेका छन् ।लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, मन्त्री लगायतको उपस्थितिमा हुने बैठकमा रानीमहल क्षेत्रको विकाससँगै स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित आलमदेवीलाई पनि सँगै विकास गर्नुपर्नेमा उनीहरुको जोड छ ।नागरिक समाजका अगुवाले सामाजिक सञ्जाल र कुराकानीका क्रममा रानीमहल पाल्पाकै प्रमुख पर्यटकीय गन्तव्यस्थल भए पनि बेवारिसे जस्तै बनेकाले लुम्बिनी र गण्डकी प्रदेश सरकारले यस क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरेका हुन् ।
‘रानीमहल क्षेत्रको विकासका लागि लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीले बुझ्न जरुरी छ,’ पाल्पाली संगम काठमाडौंका पूर्वअध्यक्ष पदमराज न्यौपानेले भने, ‘रानीमहल क्षेत्रको विकासका लागि विकास समिति गठन गरेर संरक्षणका कामलाई अघि बढाउनुपर्छ ।’ उनले महलको उत्तरतर्फको भाग मर्मत गर्नुपर्ने, कालीगण्डकी नदीको कटान रोक्ने उपाय अवलम्बन गर्नुपर्ने, दरबार अघिको खोला व्यवस्थित गर्नुपर्ने सुझाव दिए ।रानीमहल परिसरको बगरमा रहेको दुई पालिका (तानसेन नगरपालिका र बगनासकाली गाउँपालिका) बीचको स्वामित्व स्पष्ट पार्नुपर्नेमा पूर्वअध्यक्ष न्यौपानेले जोड दिए । साथै बीच भलिबल खेलमैदान व्यवस्थित गर्दे संरक्षण गर्नुपर्ने, दरबार क्षेत्रको अतिक्रमण भएका जग्गा खोजी गर्ने, दरबारभित्र संग्रहालय, राणाकालीन झल्को दिने गरी व्यवस्थापन गर्नुपर्ने, व्यवस्थित शौचालय, साहसिक पर्यटनका लागि पूर्वाधार तयार गर्नुपर्ने उनको सुझाव छ । बतासेडाँडा तानसेनदेखि रानीमहलसम्मको सडक चौडा गर्दै सहजै पुग्न सकिने बनाउनुपर्नेमा उनको जोड छ ।नदीजन्य पदार्थ नदीकै संरक्षणमा खर्च, पर्यटन व्यवसाय, विकास, कालीगण्डकी करिडोर सडकको उपयोगिता, कालीगण्डकी नदी डायभर्सन, संस्कृति आदानप्रदानका विषयमा दुई मुख्यमन्त्रीबीचको अन्तरसमन्वय बैठकमा छलफल हुनुपर्ने मानवअधिकारकर्मी भगवान भण्डारीको सुझाव छ ।
‘मुख्य कुरा रानीमहलमा बैठक बसेकाले यस क्षेत्रकै विकासमा केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘रानीमहल स्थानीय सरकारले मात्र सकेको छैन । प्रदेश सरकारले सहयोग गर्नुपर्छ । सँगै रूरूक्षेत्रदेखि रानीमहल हुँदै रानीमहलदेखि राम्दीधामसम्मको विकासमा काम गर्ने गरी योजना बन्नुपर्छ ।’लोकगायक तथा बगनासकाली–५, दर्लमडाँडाका अगुवा युवा नविन पौडेल पनि रानीमहल क्षेत्रको विकासका लागि प्रदेश र स्थानीय सरकार सँगसँगै लाग्नुपर्नेमा जोड दिन्छन् । सोनौली, बुटवल लगायतका स्थानमा रानीमहलको प्रचार गर्दै तानसेनदेखि रानीमहल जतिबेला पनि यातायात सुविधा दिनुपर्ने उनको सुझाव छ ।
‘रानीमहल पुगेपछि आधाघण्टामै फर्किने हैन कम्तीमा पाँच घण्टासम्म भुल्ने व्यवस्थापन मिलाउनुपर्छ,’ उनले भने, ‘रानीमहलको जग्गाको सही सदुपयोग गरेर पार्क व्यवस्थापनदेखि लिएर स्तरीय रेष्टुरेण्ट, होटल व्यवस्थापन हुनुपर्छ ।’
रानीमहलसँगै जोडिएको खानीगाउँका अगुवा युवा सुमन गैरेले पनि रानीमहललाई कुनै विशेष दिनमा मात्र नभई सधैं आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिए । उनले आन्तरिक तथा बाहृय पर्यटकको आकर्षण रानीमहलमा भए पनि यहाँको उचित विकास हुन नसकेको गुनासो गरे । राजनीतिज्ञ एवं युवा अगुवा विशाल दर्लामी पनि तानसेन नगरपालिका र बगनासकाली गाउँपालिका जिम्मेवार नबन्दा समस्या आएको बताउँछन् । ‘रानीमहलमा उठेको कम्तीमा १० प्रतिशत राजश्व त्यहिँ लगानी गरे पनि आकर्षक र चिटिक्क बन्छ,’ उनले भने, ‘मुख्यमन्त्रीको बैठकले ठोस सहयोग र योजना अघि बढ्यो भने राम्रो हुन्छ । तर केही हुँदैन जस्तो लाग्छ ।’
दैनिक कम्तीमा ३ सय पर्यटक भित्रिने र मासिक प्रवेश शुल्कबाट मात्रै कम्तीमा साढे ३ लाख आम्दानी हुन्छ । त्यसको सही उपयोग गर्नसके यहाँको विकास हुने नागरिक समाजका अगुवा चोपलाल गिरीले बताए । ‘तीन तहको सरकार छ, तर वार्षिक रंगरोगन र साधारण मर्मत मात्र भएको छ,’ उनले भने, ‘त्यस क्षेत्रबाहिर पार्क, उद्यान, प्रेमको प्रतिक राणा शासन झल्किने मूर्ति, वास्तुकला, श्रव्यदृष्य, ट्रेकिङमार्ग निर्माण गर्नुपर्छ ।’
नेपालपत्रकार महासंघका पूर्वअध्यक्ष रेखीराम रानाले स्थानीय तहले आम्दानी गरे पनि त्यसको सही व्यवस्थापन गर्न नसकेको बताए । रानीमहल पुग्ने पर्यटकलाई कम्तीमा बास बस्न सकिने पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने, जलाशययुक्त पूर्वाधार, नजिकैको आलमदेवी पुग्न सकिने, फोहोर र बजार व्यवस्थापन, नदीजन्य पदार्थको उत्खनन रोक्नुपर्ने लगायतका काममा ध्यान दिनुपर्ने उनको आग्रह छ ।
रानीमहलबाट तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाले वार्षिक लाखौं राजश्व उठाएका छन् । नगरपालिकाले प्रवेश शुल्क र बगनासकालीले पार्किङ शुल्क लिन्छ । तर यहाँको थप विकास र विस्तारमा भने दुवै पालिकाको ध्यान नपुगेको उनले बताए ।
पाल्पास्थित ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वको रानीमहल स्थानीय सरकारलाई २०७५ साउन १० गते १० वर्षका लागि हस्तान्तरण गरेको थियो । पुरातत्व विभागले ऐतिहासिक, पूरातात्विक तथा धार्मिक महत्वको रानीमहल तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको हो । महलको भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक बजेटको व्यवस्था भने संघीय सरकारले गर्ने समझदारीमापत्रमा छ ।
१० वर्षे समझदारी पत्रमा महल र त्यसले चर्चेका क्षेत्रमा तेस्रो पक्षलाई भोगाधिकार दिन वा भाडामा लगाउन नपाउने व्यवस्था गरिएको छ ।
खोजी भएन रानीमहलको जग्गा
रानीमहल क्षेत्रको जग्गा अतिक्रमण भए पनि यसको खोजी हुन सकेको छैन । पुरातत्व विभागले तानसेन नगरपालिकालाई रानीमहल हस्तान्तरण गरेपछि यससँग सम्बन्धित जग्गाका विषयमा खोजी गर्ने तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख अशोककुमार शाहीले बताएका थिए । तर वर्षौं बित्दासमेत यसको खोजी र संरक्षण भएको छैन ।
अहिलेको अवस्थामा फूलबारी, रानीमहलसम्म पुग्ने सिँढी नजिकसम्म व्यक्तिको जग्गा भएको भेटिएको थियो । महलको जगसम्म बगनासकाली गाउँपालिकाको जग्गा नापेको छ । डिजिटल नापीले पनि उक्त जग्गा नापी गरिसकेको छ ।
रानीमहल दरबार परिसरमा झन्डै २५ रोपनी जग्गा रहेको छ । वि.सं. २०३२ सालको नापीमा रानीमहल दरबार वरपरको जग्गा व्यक्तिका नाममा दर्ता गरेको भेटिएको छ । रानीमहल क्षेत्रमा सरसफाइ गरी पार्क, फूलबारी, बगैंचालाई पुरानै स्वरूपमा लैजानुपर्ने माग हुँदै आएको छ । रानीमहल दरबार वरिपरि करिब ४० रोपनी जग्गा व्यक्तिका नाममा दर्ता भएको अनुमान स्थानीयको छ । रानीमहल फूलबारीको जग्गा व्यक्तिका नाममा दर्ता गरिएपछि स्थानीय चिन्तित छन् ।
यस क्षेत्रको खानीगाउँ खोलातर्फ दुई–तीन जनाको खेत थियो । रानीमहल फूलबारी क्षेत्रमा पुजारी बस्ने कुटी थियो । फूलका बगैंचा, आँपका रुख धेरै थिए । रानीमहल दरबार परिसरमा बस्दै आएका सामाकोटे परिवारले ०३२ सालमा उक्त जग्गा आफ्नो नाममा दर्ता गराएको हुन सक्ने वडाध्यक्ष टुकप्रसाद भट्टराईले बताए ।
उनीहरूले नै ०४० देखि ०६२ सालसम्म उक्त क्षेत्रका जग्गा खरिद–बिक्री गर्दै आएका हुन् । अहिले सामाकोटे परिवार कहाँ छन् भन्नेसमेत जानकारी छैन । तर मालपोत कार्यालयमा २०६२ माघ १८ मा कागजात जलेपछि नक्कली बनाएको हुनसक्ने स्थानीयको आशंका छ । यहाँ पनि भू–माफिया सक्रिय भएको हुन सक्ने स्थानीयले बताएका छन् ।
तत्कालीन पश्चिम नेपालका कमान्डर रहेका खडगशमशेर राणाले आफ्नी दिवंगत श्रीमती तेजकुमारीको सम्झनामा विक्रम संवत् १९५० मा रानीमहल बनाउन लगाएका हुन् ।