माघ ३०, २०८१काठमाडौँ — मुलुकको राजस्व संकलनमा सबैभन्दा धेरै भूमिका रहेको आन्तरिक राजस्व र भन्सार विभागका दुई महानिर्देशकलाई सरकारले पाँच महिनामै सरुवा गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई महिनापछि गत भदौमा महानिर्देशक बनेका दुवै जनालाई पद सम्हालेको ६ महिनामै सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेको हो । अर्थ सचिव रामप्रसाद घिमिरेलाई पनि सोमबारकै बैठकले राष्ट्रपति कार्यालयमा सरुवा गरेको हो । मन्त्रिपरिषद्ले १७ जना सहसचिव सरुवा गरेकामा राजस्वसँग सम्बन्धित महानिर्देशकलाई संघीय मामिला मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पठाइएको छ । हरेक सरकारको नेतृत्व फेरिनेबित्तिकै विभागका महानिर्देशक फेरिने र लामो समय काम गर्न पनि नदिने प्रवृत्ति यस पटक पनि दोहोरिएको छ ।
विष्णु पौडेल अर्थमन्त्री भएपछि साविक महानिर्देशक भूपाल बराललाई आन्तरिक राजस्वबाट दुई महिनामा हटाएर वन तथा वातावरण विभाग सरुवा गरिएको थियो । उनको स्थानमा रामप्रसाद आचार्यलाई पठाइएको थियो । आचार्यलाई पनि ६ महिनामा सरुवा गरिएको छ । भन्सार विभागका साविक महानिर्देशक शोभाकन्त पौडेललाई नौ महिनामा हटाएर हरिशरण पुडासैनीलाई ल्याइएको थियो । उनलाई पनि ६ महिनामा हटाइएको छ । पुडासैनीलाई बागमती प्रदेश पर्यटन मन्त्रालयबाट सरुवा गरेर महानिर्देशक बनाइएको थियो ।लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको तथ्यांक सार्वजनिक भइरहेका बेला सहसचिवहरूको सरुवा गरिएको हो । सरकारले ६ महिनाअघि रोजेर र खोजेर पठाएका महानिर्देशकको सरुवाको कारण भने खुल्न सकेको छैन । हामी त अर्थ मन्त्रालयमा नयाँ सचिवको स्वागतमा थियौं, सरुवा भएको सुनियो,’ अर्थ मन्त्रालयका एक कर्मचारीले भने । सरकारले सोमबार नै अर्थ सचिव रामप्रसाद घिमिरेलाई सरुवा गरेको थियो । उनको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई ल्याइएको छ । घिमिरेले पनि ७ महिना मात्र अर्थ सचिव हुने अवसर पाए । सचिवसँगै दुई महत्त्वपूर्ण विभागका महानिर्देशक फेरिएका हुन् ।मन्त्रिपरिषद्ले मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाललाई अर्थ मन्त्रालय सरुवा गरेको छ । अर्थका सहसचिव तीर्थराज मैनालीलाई राष्ट्रिय सूचना आयोगमा पठाइएको छ । २०७४ को निर्वाचनपछि ओलीको प्रधानमन्त्रीकालमा झन्डै साढे तीन वर्ष राजस्व अनुसन्धानको महानिर्देशक भएका मैनालीलाई अहिले अर्थ मन्त्रालय मातहतबाटै हटाइएको छ ।
राष्ट्रिय सूचना आयोगका कमलप्रसाद भट्टराईलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । उनी भन्सार र सम्पत्ति शुद्धीकरणका महानिर्देशक भइसकेका सहसचिव हुन् । संघीय मन्त्रालयमा अतिरिक्त समूहमा रहेका आदेश खड्कालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । संघीय मन्त्रालयमा अतिरिक्त समूहमा रहेका श्रीचन्द्र शाहलाई अर्थ मन्त्रालय लगिएको छ भने महिला आयोगकी पार्वती अर्याललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।अर्थका नारायणप्रसाद रिसाललाई गृह मन्त्रालय सरुवा गरिएको छ । लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा रहेकी नम्रता सिंहलाई संघीय मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।