३० माघ, काठमाडौं । हाल सञ्चालनमा रहेको अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४ सय किलोभोल्ट प्रसारण लाइनबाट हुने विद्युत् आयात–निर्यात परिमाण अब ८ सय मेगावाटबाट १ हजार मेगावाट पुर्याइने भएको छ ।
मंगलबार नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशन समिति बैठकमा दुई देशबीच यस्तो सहमति भएको हो ।समितिको १२औं बैठकमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले नेतृत्व गरेका थिए ।
उक्त बैठकले ९ माघमा सम्पन्न सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठकले सिफारिस गरेका विषयमा छलफल गरेको हो ।बैठकमा नेपाल–भारत बीच विद्यमान विद्युत् प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, अन्तरदेशीय विद्युत् आयात–निर्यात लगायत विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बैठकमा चमेलिया–जौलिजिबीबीचको २२० किलोभोल्ट डबल सर्किट प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन सन् २०२५ सम्म तयार पार्ने सहमति समेत भएको छ ।
नेपाल खण्डको प्रसारणलाइन नेपाल विद्युत् प्रािधकरण र भारततर्फको लाइन पावर ग्रिडले २०२५ सम्म बनाइ सक्ने सहमति समेत भएको छ ।नेपाल–भारतबीच इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेलीबीच ४ सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य २०३० सम्म सम्पन्न गर्ने समेत सहमतिमा उल्लेख छ ।
यसका लागि नेपालतर्फको प्रसारण लाइनको ५१ प्रतिशत र भारतको पावर ग्रिडको ४९ प्रतिशत एवं भारततर्फको प्रसारण लाइनका लागि पावर ग्रिडको ५१ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४९ प्रतिशत स्वपूँजी रहने गरी मोडालिटी तय गर्ने सहमति समेत भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
यस्तो कम्पनी एक महिनाभित्र स्थापना हुने भएको छ । सन् २०३४/३५ सम्मका लागि नेपालबाट थप विद्युत् भारत निर्यात गर्न अन्तरदेशीय प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण र विस्तार गर्ने सहमति समेत भएको छ ।
जसमा निजगढ/हरनैया–मोतिहारीबीच ४ सय केभी प्रसारणलाइन २०३४/३५ सम्म निर्माण गर्ने, कोहलपुर–लखनउबीच ४ सय केभी, ढल्केबर–मुजफ्फरपुरबीच ४ सय केभी प्रसारण लाइनमा उच्च क्षमताको कन्डक्टरले प्रतिस्थापन गर्ने सहमति समेत भएको छ ।