पेरिसमा सुरु भयो विश्व एआई एक्सन सम्मेलन, चर्चामा डिपसिक

Swastika Bhandari

माघ २८, २०८१काठमाडौँ — फ्रान्सको राजधानी पेरिसमा आजदेखि विश्व आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिखर सम्मेलन सुरु भएको छ । दुई दिने यस सम्मेलनमा ८० देशका सरकारी प्रतिनिधिसँगै एआई क्षेत्रका अग्रणी कम्पनी, डेभेलपर, विज्ञ लगायतको सहभागीता रहनेछ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले अध्यक्षता गरेको सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सह-अध्यक्षका रूपमा उपस्थित छन् । एआईसम्बन्धी विश्वव्यापी संवादको यो तेस्रो संस्करणको हो । यसअघि सन् २०२३ मा पहिलोपटक बेलायतमा र गत वर्ष दक्षिण कोरियाको सोलमा एआई सम्मेलन भएको थियो । यसपटक चिनियाँ एआई मोडल डिपसिकको व्यापक लोकप्रियतासँगै सूचना प्रविधि क्षेत्रमा ठूलो परिवर्तनका बीच यो सम्मेलन आयोजना भइरहेकाले यसप्रति धेरैको चासो छ । प्रधानमन्त्री मोदी पहिलोपटक एआई सम्मेलनमा पुगेका हुन् । अमेरिकाबाट उपराष्ट्रपति जेडी भान्सले प्रतिनिधित्व गरेका छन् भने चीनका उपप्रधानमन्त्री झाङ जियोकिङ सम्मेलनमा भाग लिँदै छन् ।पेरिस एआई सम्मेलनले आमप्रयोगकर्तालाई एआईमा स्वतन्त्र, सुरक्षित र भरपर्दो पहुँच प्रदान गर्ने, वातावरणमैत्री एआई विकास गर्ने र प्रभावकारी एवं समावेशी एआईको सुनिश्चितता गर्दै यसको विश्वव्यापी नियमन प्रयासमा जोड दिने लक्ष्य राखेको छ । एजेन्स फ्रान्स प्रेस (एएफपी) का अनुसार पेरिसको १२५ वर्ष पुरानो ओपुलेन्ट ग्र्यान्ड पलाइसमा भइरहेको सम्मेलनमा सोमबार १५ सय आगन्तुक भेला हुँदै छन् । यसमा च्याटजीपीटी निर्माता ओपेन एआईका प्रमुख साम अल्टम्यान, गुगलका प्रमुख सुन्दर पिचाइ छन् । इलन मस्क भने आगुन्तकको सूचीमा नरहेको बीबीसीले जनाएको छ ।

एआई क्षेत्रको वर्तमान अवस्थादेखि भविष्यका लक्ष्यहरूबारे छलफल हुने सम्मेलनमा यसपटक चर्चित चिनियाँ एप डिपसिक चर्चाको केन्द्रमा रहने अनुमान गरिएको छ । अन्य एआई च्याटबटभन्दा निकै कम लागतमा बनेको प्रभावशाली प्रविधिका रूपमा डिपसिकले प्रविधि र विश्व अर्थतन्त्रमै तंरग ल्याएको छ । सम्मेलनमा डिपसिकका संस्थापक लियाङ वेनफेङ पनि उपस्थित हुने अपेक्षा गरिएको छ ।सम्मेलनको साइड इभेन्टका रूपमा हुन लागेको भारत-फ्रान्स एआई नीति राउन्ड टेबल छलफललाई पनि चासोका साथ हेरिँदै छ । भारतीय विज्ञान संस्थान बैंगलुरु, भारत सरकारको प्रमुख विज्ञान सल्लाहकारको कार्यालय, नासकम र इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको राउन्ड टेबल छलफलमा विश्वव्यापी एआई विकासम्बन्धी नीतिगत विषय र भारत-फ्रान्सबीच सहकार्यका सम्भावनाबारे चर्चा गरिने द इन्डियन एक्सप्रेसले जनाएको छ ।एआईको प्रतिस्पर्धामा भारतले आफूलाई तयार गर्दै गरेको सन्दर्भमा यो सम्मेलनको सह-अध्यक्षता गर्ने मौका पाएको हो । भारतले हालै मात्र एआईलाई आवश्यक पर्ने ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) र मसिन लर्निङका लागि उच्चस्तरीय चिप आपूर्ति गर्न १० वटा कम्पनीलाई चयन गरेको छ । भारतले १८ हजार ६ सय ९३ वटा जीपीपू खरिद गर्न चाहेको छ । यो सेवा उपलब्ध गराउन भारतले जियो प्लाटफर्म्स, हिरानन्दी समूहको कम्पनी योट्टो, टाटा कम्युनिकेसन्स, ईटुई नेटवर्कजस्ता कम्पनी छानेको छ । भारतले ‘इन्डिया एआई मिसन’ का लागि आफ्नै लार्ज ल्या‌ंग्वेज मोडल विकास गर्न चाहेको छ ।

सम्मेलन आयोजना गरेको फ्रान्सले पनि पेरिसलाई प्रकाशको शहरबाट एआईको शहरमा रुपान्तरण गर्न चाहेको राष्ट्रपति म्याक्रोंले बताउँदै आएका छन् । एआई सम्मेलनकै संघारमा संयुक्त अरब इमिरेट्स र फ्रान्सबीच एआई पूर्वाधार विकासका लागि ३० देखि ५० अर्ब डलर लगानी गर्ने गरी समझदारीसमेत भएको एएफपीले जनाएको छ । यसबाट फ्रान्समा १ गिगावाटसम्मको डेटा सेन्टर निर्माण गरिने योजना रहेको छ । फ्रान्सकी डिजिटल तथा एआई मन्त्री क्लारा सापाजले डेटा सेन्टर निर्माणका लागि ३५ वटा ठाउँ हेरिएको बताएकी छन् ।

Sharing Is Caring:

Leave a Comment