गाईघाट–दिक्तेल सडकमा नयाँ ठेक्का

Swastika Bhandari

माघ २८, २०८१खोटाङ — ३० वर्षअघि निर्माण सुरु गरेर अलपत्र परेको गाईघाट–दिक्तेल सडक (सगरमाथा लोकमार्ग) मा फेरि निर्माणको प्रक्रिया बढाइएको छ । विभिन्न निर्माण कम्पनीले ठेक्का लिएर अलपत्र पारेपछि त्यसलाई तोडेर नयाँ ठेक्कामार्फत काम सुरु गर्ने चरणमा पुगेको हो । विभिन्न प्याकेजमा विभाजन गरेर ठेक्कामार्फत काम थालिए पनि अलपत्र छाडेपछि त्यसलाई तोडेर नयाँ ठेक्कामार्फत काम बढाइएको गाईघाट–दिक्तेल आयोजना सूचना अधिकारी सुवास तिवारीले जनाए । उदयपुरको दियाले–फोक्सिङटार सडक खण्ड (३२ किलोमिटर), खोटाङको फोक्सिङटार–सिम्पानी (२६ किलोमिटर), सिम्पानी–महुरे (२२ किलोमिटर) र फोक्सिङटार–सिम्पानी सडक खण्डको कन्स्ट्रक्सन निर्माणको काम अलपत्र पारेपछि ठेक्का तोडिएको थियो ।

यसमध्ये फोक्सिङटार–सिम्पानी (२६ किलोमिटर) र सिम्पानी–महुरे (२२ किलोमिटर) का लागि नयाँ ठेक्कामार्फत काम थाल्ने चरणमा पुगेको छ । दुईमध्ये यसमध्ये सिम्पानी–महुरे (२२ किलोमिटर) सडकको काम रायमाझी कन्स्ट्रक्सन प्रालि काठमाडौंले ठेक्का लिएको हो । उक्त निर्माण कम्पनीले ४४ करोड २३ लाख ७० हजार ६ सय ८२ रुपैयाँको लागतमा ३६ महिनाभित्र सक्ने गरी सम्झौता गरेको तिवारीले बताए ।फिल्डमा आएर सर्भे गर्न सुरु गर्न लागिएको निर्माण कम्पनी सम्बद्ध प्रोजेक्ट म्यानेजर यश साहले जनाए । फोक्सिङटार–सिम्पानी (२६ किलोमिटर) सडकको ठेक्का भने सम्झौता भएको छैन । त्यस कामको ठेक्का दिव्यज्योति कन्स्ट्रक्सन प्रालि धादिङ लिएको तिवारीले बताए । ४२ करोड १३ लाख ७५ हजार आठ सय १३ रुपैयाँको लागतमा काम सक्ने गरी ठेक्का लागेको उनको भनाइ छ । ‘फोक्सिङटार–सिम्पानी सडक खण्डको ठेक्का दिव्यज्योति कन्स्ट्रक्सन प्रालि धादिङले पारेको हो तर सम्झौता भएको छैन,’ तिवारीले भने ।देवनारायण मैनाचुलीनसकी खम्पाची जेभीले २०७७ साउन १० भित्र सक्ने गरी ठेक्का लिएको खोटाङको फोक्सिङटार–सिम्पानी सडक नसकी अलपत्र पारेपछि २०७९ भदौमा ठेक्का तोडिएको थियो । करिब ४९ करोडको लागतमा २०७३ साउन ११ गते सम्झौता गरी सुरु सडकको भौतिक ६२ र वित्तीय ६०.३ प्रतिशत प्रगति देखिन्छ । निर्माण कम्पनीले पाटनस्थित उच्च अदालतमा ठेक्का तोड्ने निर्णयविरुद्ध दिएको उजुरीपछि उच्च अदालतले फेरि विभागको निर्णयलाई सदर गर्दै २०८० असोजमा फैसला सुनाएको थियो ।

फोक्सिङटार–सिम्पानी सडक खण्डको कन्स्ट्रक्सन निर्माणका लागि ठेक्का लिएको मैनाचुली–सिद्धिसायी–प्रकाश जेभीले पनि काम अलपत्र पारेपछि उक्त ठेक्का पनि तोडिएको थियो । करिब ११ करोडको लागतमा २०७७ साउन १० गतेभित्र सक्ने गरी २०७३ साउन ११ मा सम्झौता गरी काम थाले पनि ८० प्रतिशत मात्र भौतिक र वित्तीय प्रगति देखिएको छ । त्यो ठेक्का पनि २०७९ भदौमै तोडिएको थियो । त्यसमा पनि निर्माण कम्पनीले पाटनस्थित उच्च अदालतमा ठेक्का तोड्ने निर्णयविरुद्ध अन्तरिम आदेशका लागि दिएको उजुरीमा विभागको निर्णयलाई सदर गर्दै २०८० असोजमै फैसला सुनाइएको थियो ।सिम्पानी–महुरे (२२ किलोमिटर) सडक निर्माणको ठेक्का लिएको भारत कन्स्ट्रक्सन–सिद्धिसायी जेभीले २०७७ असार ३० गतेभित्र सक्ने गरी ठेक्का लिए पनि काम अलपत्र छाडेर हिँडेपछि गत माघ २९ मा ठेक्का तोडिएको थियो । करिब ४६ करोडको लागतमा निर्माण थालिएको उक्त सडक खण्डको भौतिक र वित्तीय प्रगति ४३.६२ प्रतिशत देखिएको छ ।

उदयपुरको दियाले–फोक्सिङटार सडक खण्ड (३२ किलोमिटर) मा कञ्चनजंघा गोल्डेन गुड्सले २०७५ भदौ १० गतेभित्र सक्ने गरी २०७३ भदौ १२ मा सम्झौता गरे पनि काम अलपत्र पारेपछि गत माघ २ मा ठेक्का तोडिएको थियो । करिब ३१ करोड लागतमा सक्ने गरी सुरु गरिएको उक्त सडकको भौतिक र वित्तीय प्रगति ८२.६० प्रतिशत पुगेको गाईघाट–दिक्तेल सडक आयोजना गाईघाटले जनाएको छ ।

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा सुरु भएको गाईघाट–दिक्तेल सडक अझै पूरा भएको छैन । त्यति बेला खोटाङ क्षेत्र नं ३ बाट निर्वाचित तत्कालीन यातायात राज्यमन्त्री अशोककुमार राईको पहलमा सुरु भएको उक्त सडक अलपत्र पारेपछि तराईसँग यातायात सम्बन्ध जोडिन नसकेको हो । बेलामा सडक नबन्दा जिल्लाको विकासमा बाधा पुगेको स्थानीयको गुनासो छ ।

Sharing Is Caring:

Leave a Comment