बुढीगण्डकी डुबान क्षेत्रको १६ किलोमिटर सडक स्तरोन्नतिमा अन्योल

Swastika Bhandari

माघ २८, २०८१गोरखा — बुढीगण्डकी डुबान क्षेत्रमा पर्ने पुष्पलाल (मध्यपहाडी) सडक कालोपत्रको काम अलपत्र परेको छ । मध्यपहाडी सडकअन्तर्गत बुढीगण्डकी डुबानमा पर्ने धादिङको १६ किलोमिटर र गोरखातर्फको पाँच सय मिटर सडकको काम अघि बढ्न नसकेको हो । धादिङमा ४१ र गोरखामा ६२ किलोमिटर सडक मध्यपहाडीअन्तर्गत पर्छ । धादिङको ४१ किलोमिटरमध्ये डुबान क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी गाउँपालिकाको जलजलेदेखि आरुघाट बजारसम्मको १६ किलोमिटर सडक निर्माणको काम अघि बढ्न नसकेको हो । गत वैशाखमा धादिङको नेत्रावती गाउँपालिकाको कटुन्जेदेखि त्रिपुरासुन्दरीको आरुघाट बजारसम्मको २९ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का प्रक्रिया सुरु भएको थियो ।

२९ किलोमिटरमध्ये १६ किलोमिटर डुबानमा पर्ने भएपछि मंसिर अन्तिम साता ठेक्का प्रक्रिया रद्द गरिएको मध्यपहाडी राजमार्ग योजना कार्यालय पालुङटारका प्रमुख ईश्वरबहादुर रिजालले बताए । बुढीगण्डकी जलविद्युत् डुबान क्षेत्रमा काम अघि नबढाउन आयोजनाले गरेको आग्रहअनुसार नै ठेक्का रद्द गरिएको उनको भनाइ छ ।अब डुबानमा पर्ने क्षेत्रको सडकको एलाइनमेन्ट (रेखांकन) नै परिवर्तन गर्ने तयारी भइरहेको रिजालको भनाइ छ । ‘स्रोत सुनिश्चित भएपछि २९ किलोमिटरको एउटै ठेक्का निकालेका थियौं, डुबानमा पर्ने १६ किलोमटिरको एलाइनमेन्ट के गर्ने फिक्स भइसकेको छैन,’ उनले भने, ‘१६ किलोमिटर छाडेर बाँकी १३ किलोमिटरको भने अब नयाँ ठेक्का निकाल्छौं ।’धादिङमा पर्ने ४१ किलोमिटरमध्ये नुवाकोटको सीमा क्षेत्र घर्‍याङघुरुङदेखि कटुन्जेसम्मको १३ किलोमिटरमा कालोपत्रको काम भइरहेको कार्यालयले छ । अन्तिम अवस्थामा पुगेर ठेक्का प्रक्रिया रद्द हुँदा सडक अलपत्र बनेको धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताए । ‘यो सडकको काम चाँडो थाल्नुपर्‍यो भनेर धेरै ठाउँ धायौं, ठेक्का प्रक्रिया सुरु भइसकेपछि अन्तिममा आएर रद्द भयो,’ उनले भने, ‘डुबान कहिले हुने निश्चित छैन, विकासको काममा संघ, प्रदेशबाट बजेट पर्न छाड्यो ।’ सडकको एलाइनमेन्ट परिवर्तन गर्न पनि गाह्रो देखिएको उप्रेतीको भनाइ छ ।

बुढीगण्डकी डुबान क्षेत्रमा पर्ने गोरखातर्फ आरुघाट बजार क्षेत्रको पाँच सय मिटर स्तरोन्नति गरेर जोड्ने तवरले काम अघि बढाउन आग्रह गरे पनि काम हुन नसकेको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए । ‘बुढीगण्डकी आयोजनाको काम पनि अघि बढेको छैन, आयोजना निर्माण कहिले सुरु भएर कहिले डुब्ने हो अहिलेलाई आउजाउमा सहजताका लागि सडक जोड्ने मात्र काम गरौं भनेर प्रस्ताव राखेका थियौं, काम अघि बढेन,’ उनले भने, ‘विकासको काम ठप्प छ, डुबान क्षेत्रमा प्रदेश र संघबाट परेको बजेट पनि कार्यान्वयन नगर्न भनेर परिपत्र आएको छ, बुढीगण्डकी आयोजना पनि अघि बढेन, विकासको काम पनि गर्न पाएका छैनौं ।’मध्यपहाडी राजमार्ग योजना कार्यालय, पालुङटारले नुवकोट, धादिङ, गोरखा र लमजुङअन्तर्गतको २ सय ३० किलोमिटर सडक कालोपत्रका लागि विभिन्न खण्ड छुट्याएर काम गरिरहेको छ । चार जिल्लाको सडक स्तरोन्नति तथा कालोपत्रका लागि चालु आर्थिक वर्ष ६६ करोड विनियोजन गरिएको छ ।

मध्यपहाडी राजमार्गअन्तर्गत गोरखामा पर्ने ६२ किलोमटिरमध्ये दुई खण्डको काम ठेकेदारको ढिलासुस्तीले अलपत्र परेको छ । ओख्लेदेखि निवेलसम्मको १६ किलोमिटर कालोपत्रका लागि ठेकेदार कम्पनी एमपी एससीएफ इसीसी जेभीले २०७२ माघ १० मा ठेक्का सम्झौता गरेको थियो । ९ वर्षमा ठेकेदारको म्याद छैटौं पटक थपिइसकेको छ । अन्तिम पटक थपिएको म्याद पनि गत पुस ५ मा सकिँदा सडकको भौतिक प्रगति ८९ प्रतिशत पुगेको छ ।

ठेकेदारको ढिलासुस्तीले काम समयमै नसकिएको कार्यालयका सूचना अधिकारी गोविन्द्र श्रेष्ठले बताए । आगामी चैतसम्म म्याद थप भएको मसाने ठाँटी–पालुङटार खण्डको काम पनि ५५ प्रतिशत मात्र सकिएको छ । उक्त खण्ड निर्माणको जिम्मा हिमजुङ प्यासेफिक जेभीले पाएको छ । मध्यपहाडीअन्तर्गतको गोरखामा पर्ने बाँकी तीन खण्डको काम भने सकिएको छ । सडक समयमै नबन्दा हिउँदमा धूलो र बर्खामा हिलो बाटोले स्थानीय आजित छन् ।

Sharing Is Caring:

Leave a Comment