माघ २७, २०८१
काठमाडौँ — पाथीभरामा निर्माण हुने केबलकारले पहिचानको प्रवर्द्धन गर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले बताएका छन् । पाथीभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्षसमेत रहेका उनले काठमाडौंमा शनिबार आयोजित पत्रकार सम्मेलनमा दुई वर्षअघि पाथीभरा केबलकारमा आईएमई समूहको प्रवेशसँगै आयाजना निर्माणले गति लिन थालेको जनाए । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुष्प्रचार गरिएको देखिन्छ,’ उनले भने, ‘तर त्यस्तो होइन, केबलकारले ऐतिहासिकता र पहिचानको सुरक्षा नै गर्छ ।’
अहिले आएर स्थानीयभन्दा जिल्लाबाहिर वा मुलुकबाहिर बस्नेहरूले सामाजिक सञ्जालमा पाथीभरामा केबलकार बन्न नहुने भन्दै अस्वाभाविक चासो राखेको देखिएको ढकालले बताए । ‘हामी आयोजना निर्माणस्थल तथा समग्र ताप्लेजुङ जिल्लावासीका भावना र आवश्यकताको नजिकमा छौं,’ उनले भने, ‘हामीलाई स्थानीयको आवश्यकताबारे पूर्ण जानकारी छ । विकासका काममा यस्तो वादविवाद देखिनु राम्रो होइन । यस्ता कार्यले देशमा आगामी दिनमा हुने निजी लगानीलाई नै दुरुत्साहन गर्ने काम गर्छ ।राज्यका निकायबाट सबै कानुनी र नियामकीय प्रक्रिया सकेपछि काम अगाडि बढ्न नदिने विषय दुःखद भएको पनि ढकालको भनाइ छ । ‘केबलकार केवल यातायातको साधन मात्र हो,’ उनले भने, ‘जसले पाथीभरा देवीको दर्शनमा जाने तीर्थयात्रीलाई सहजता पुर्याउँछ । पाथीभरा देवी सबै नेपालीको आस्थाको धरोहर भएकाले यहाँ केबलकार निर्माणले यहाँका कुनै धर्म र जाति विशेष या संस्कार संस्कृति एवं हाल भइरहेका संरचनामा केही असर गर्दैन, बरु थप मजबुत बनाउन सघाउँछ ।’ताप्लेजुङको फुङलिङ नगरपालिका ११, काफ्लेपाटीदेखि पाथीभरा देवी मन्दिर परिसरभन्दा करिब ७ सय मिटर पश्चिमसम्म २ दशमलव ७५ किलोमिटर लामो केबलकार बन्ने र त्यसमा ३६ वटा यात्रुवाहक र दुई वटा सामान ओसारपसार गर्ने गोन्डोला रहने अध्यक्ष ढकालले बताए ।
‘केबलकार निर्माण भएपछि तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म पुग्न जम्मा १० मिनेट ३१ सेकेन्ड जति समय लाग्नेछ,’ उनले भने, ‘केबलकारका सबै उपकरण तथा पार्ट्स विश्वप्रसिद्ध केबलकार कम्पनीका प्रयोग गरिनेछ ।’