अल्लोका कोट बेच्न गाउँ-गाउँ

Swastika Bhandari

माघ २७, २०८१

कञ्चनपुर — एउटा हातमा कोटको गाँठो छ । काँधमा कोटकै झोला । बिहानदेखि दिनभरि बजार र गाउँतिर डुलिरहन्छन् । जुम्लाको सिँजा गाउँपालिका–२ अगस्तीबाडाका लक्ष्मण जैसी १२ वर्षदेखि यसैगरी जुम्ली अल्लोका कोट बिक्री गर्न गाउँ–गाउँ पुगिरहेका छन् । जुम्लामा उत्पादित अल्लोको कपडा बोकेर उनी महेन्द्रनगर पुग्छन् । त्यसै कपडाबाट कोट सिलाएर बिक्री गर्दै हिँड्छन् । उनी ग्राहकको मागअनुसार कोट र कपडा दुवै बिक्री गर्छन् । महेन्द्रनगर बजार र आसपासका क्षेत्रमा उनी डुल्दै कोट बिक्री गर्दै हिँड्छन् । बिहान खाना खाएर कोट बोकेर हिँड्ने उनी साँझ मात्रैकोठामा फर्किन्छन् । ‘हिउँदमा कोट बिक्री गर्छु, बर्खामा खेतीपाती र स्याउ टिपेर त्यही बेच्छु,’ ३१ वर्षीय जैसीले भने, ‘यसरी नै घरपरिवारको गुजारा गरेको छु ।’ उनी जुम्लामै उत्पादित अल्लोको कपडा बोकेर तिहारपछि तराई झर्छन् ।कात्तिकदेखि फागुनसम्म जैसी अल्लोको कपडा र त्यसबाट बनेका कोटको व्यापार गर्छन् । यही व्यापारबाट उनले महिनामा २०/२५ हजार बचत गर्छन् । उनी महेन्द्रनगरमै बसेर सुदूरपश्चिमका पहाडी जिल्लातर्फ पनि सिलाएका कोट पठाउँछन् । एक सिजनामा एक/डेढ हजार मिटर कपडा बिक्री गर्छन् ।

‘कपडाको थान लिएर आउँछु, यहीं कोट सिलाउछु,’ उनले भने । उनी फागुनमा गाउँ फर्किन्छन् । गाउँ फर्केर मार्सी धानको बीउ राख्ने तयारी गर्छन् । चैत १२ मा मार्सी धानको बीउ राखिन्छ । त्यसपछि धान रोप्ने तयारीमा जुट्छन् । जेठमा मार्सी धानको रोपाइँ हुन्छ । रोपाइँ सकिएपछि गहुँ कटाइमा जुट्छन् ।साउन–भदौमा स्याउ टिप्ने सिजन सुरु हुन्छ । उनको अफ्नै पनि स्याउ बारी छ । आफ्नो बारीको र गाउँका अरूबाट पनि स्याउ खरिद गरेर उनी बिक्री गर्न सुर्खेत, नेपालगन्जसम्म पुग्छन् । कहिलेकाहीं माग धेरै भए धनगढी र महेन्द्रनगरसम्म पनि पुग्छन् । गाउँ डुल्दै कपडा र जडीबुटीको व्यापार गर्नु उनको पुर्ख्यौली पेसा हो । उनका बुबा विष्णुलाल अहिले पनि गाउँ–गाउँ डुलेर जडीबुटी बिक्री गर्छन् । उनी कैलाली र कञ्चनपुरमा यो व्यवसाय गरिरहेका छन् ।

जडीबुटीको व्यापार गर्नुअघि विष्णुलाल यसैगरी ऊनबाट बनेका कपडा बिक्री गर्दै हिँड्थे । डेढ दशकअघिसम्म जैसीका बुबा–बाजेहरू भेडाको ऊनबाट बनेका राडी, पाखी, चुटुका र कम्बल बिक्री गर्थे । तर बजारमा ब्ल्यांकेट, फाइबरलगायतका सस्ता र हलुका कपडा आएपछि ऊनी कपडाको माग कम हुँदै गयो । ‘ऊनी कपडा अहिले पनि तयार हुन्छन्, तर माग नै हुँदैन,’ जैसीले भने, ‘ऊन र सुन एउटै हो भन्छन्, तर अहिले माग रेडिमेटकै बढी छ ।’

Sharing Is Caring:

Leave a Comment