माघ २७, २०८१
सुर्खेत — तोकिएको समयभन्दा झन्डै एक वर्षअघि पहिलो चरण (सुरुङ निर्माण) को काम सकिएको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको दोस्रो र तेस्रो चरणको काममा ढिलाइ भएको छ । राष्ट्रिय गौरवको उक्त आयोजना निर्माणका लागि सरकारले आर्थिक वर्ष २०८४/८५ सम्मका लागि म्याद थपेको छ ।सुरुमा २०७९/८० सम्म सम्पन्न गर्ने गरी थालिएको आयोजनाको म्याद ५ वर्षका लागि थपिएको हो । तर काममा भइरहेको ढिलाइले तोकिएको समयमा आयोजना सम्पन्न हुनेमा आशंका देखिएको छ ।
सरकारले आर्थिक वर्ष २०६८/६९ देखि सुरु गर्ने भनिएको आयोजना २०७१/७२ मा मात्र सुरु भएको थियो । पहिलो चरणमा २०७६ चैत १५ सम्म सुरुङ निर्माण गर्ने गरी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप (कोभेक) लाई जिम्मा दिइएको थियो । तर कम्पनीले करिब १२.२ किलोमिटर लामो सुरुङ आफूलाई दिएको म्यादअघि नै सम्पन्न गरेको थियो ।अहिलेको प्रगति हेर्दा तोकिएको समयमा काम नसकिने देखिएको भेरीगंगा नगरपालिका प्रमुख यज्ञप्रसाद ढकालले बताए । ‘सरकारले बजेट पनि विनियोजन गरेकै छ, तर आयोजनास्थलमा त्यति कामको चाप देखिँदैन,’ उनले भने, ‘आयोजना पूरा भए कर्णालीको विकासमा ठूलो सहयोग पुग्छ, त्यसैले समयमै सक्ने गरी सबै पक्ष लाग्न जरुरी देखियो ।’ उनका अनुसार बजेटको अख्तियारी समयमै नआउनु, सुरुङ निर्माणपछि मात्र बाॅध निर्माणको काम थालिनु, कोरोना महामारी, आयोजनामा काम गरिरहेको विदेशी कम्पनी कालोसूचीमा पर्नुलगायत कारण आयोजना निर्माणमा ढिलाइ भइरहेको हो ।आयोजनामा परामर्शदाताका रूपमा काम गरिरहेको इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इन्जिनियरिङ (एमजीसीई) सँग २०७६ असोजमा गरिएको सम्झौता २०७९ माघमा रद्द भएको थियो । जसले गर्दा पनि आयोजना निर्माणको काममा बाधा पुग्यो ।
भेरी–बबईमा अहिले दोस्रो चरणको काम ५० र तेस्रो चरणको ४० प्रतिशत काम सकिएको आयोजनाका सूचना अधिकारी पवन अधिकारीले बताए । उनका अनुसार आयोजनामा दोस्रो चरणअन्तर्गत बाँध तथा पावरहाउस निर्माण, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल जडान एवं निर्माणलगायतका कामहरू भइरहेका छन् । अहिले सुर्खेतको चिप्लेमा हेडवक्स निर्माणको काम जारी रहेको सिनियर डिभिजनल इन्जिनियर अधिकारीले बताए । उनका अनुसार जसमा ६ वटा वेमध्ये २ वटा वे निर्माणको काम अन्तिम चरणमा छ ।‘अरू ४ वटा वे निर्माणका लागि नदी फर्काउने तयारी भइरहेको छ,’ उनले भने, ‘पावरहाउस निर्माणस्थल हात्तीखोलामा स्लोप प्रोटेक्सनको काम अन्तिम चरणमा पुगेको छ, त्यस्तै फाउन्डेससन, कोफर्ड ड्याम, एंकर ब्लक निर्माणलगायतको काम पनि धमाधम गरिरहेका छौं ।’ चिप्लेमा बाँधको कामसँगै बबईतर्फको हात्तीखोलामा विद्युत गृहको जग खन्ने काम भइरहेको उनको भनाइ छ ।
दोस्रो चरणका कामको जिम्मा रमण/ग्वाङडोन जेभीले लिएको छ । आयोजनाका लागि चालु आर्थिक वर्षका लागि १ अर्ब ७७ करोड छुट्याइएकोमा पुस मसान्तसम्म ४६ करोड रुपैयाॅ मात्र खर्च भएको आयोजनाका प्रमुख रणबहादुर बमले बताए । उनका अनुसार अहिलेसम्म आयोजनामा ६६ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनास्थलमा दैनिक १ सय ५० जनाले काम गरिरहेको उनले जानकारी दिए ।
सुर्खेतको भेरीगंगा नगरपालिकास्थित चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानामा रहेको बबई नदीमा खसाल्ने र झन्डै ४६ मेगावाट विद्युत् उत्पादन गर्ने योजनासहित काम भइरहेको हो । आयोजनाले बाँके र बर्दियाको करिब ५१ हजार जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ । कोरोनाको कारण झन्डै २ वर्ष आयोजनाको काम प्रभावित हुन पुग्यो ।
३३ अर्ब १९ करोड ६६ लाख लागत अनुमान गरिएको आयोजनामा झन्डै ५१ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । जसमध्ये अहिलेसम्म १६ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको छ । गत वर्षको बाढीले नदीमा बाँध निर्माणमा समस्या भएकाले पनि आयोजनाको काममा ढिलाइ भएको प्रमुख बमले बताए । ‘अब कुनै अवरोध नआएमा अबको तीन वर्षभित्र सबै काम सक्ने तयारी रहेको छ,’ आयोजना प्रमुख बमले भने, ‘तोकिएकै समयमा सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको छ ।’
आयोजनाले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने सरकारको योजना छ । तेस्रो चरणमा भेरीको पानीलाई सिँचाइमा प्रयोग गर्ने योजनासहित काम अगाडि बढाइने आयोजनाले जनाएको छ । सुर्खेतको चिप्लेमा बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य रहेको सिनियर डिभिजनल इन्जिनियर अधिकारीले बताए । भेरीको पानी बबई नदीमा खसाल्न चिप्लेमा बाँध निर्माणको काम भइरहेको हो । जहाँ १ सय १४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ ।
आयोजना सञ्चालनका क्रममा सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकबेंसीको ३२ हेक्टरभन्दा बढी जग्गा डुबानमा पर्ने आयोजनाको अनुमान छ । जसका लागि झन्डै ८ हेक्टर जग्गाको मुआब्जा वितरण गरिसकेको छ भने झन्डै साढे १० हेक्टर जग्गा प्राप्तिका लागि सूचना प्रकाशन गरी प्रमाणीकरणको काम गरिरहेको आयोजनाले जनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आयोजनाको काम तोकिएकै समयमा सक्ने गरी प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय भइरहेको बताए ।