‘सरकारी आयोजना समयमै नबन्नु दुःखद’ 

Swastika Bhandari

माघ २७, २०८१

काठमाडौँ — उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी आयोजना समयमै सम्पन्न नहुनु दुःखद भएको बताएका छन् । पूर्वाधार विकासका लागि सरकारले वैकल्पिक वित्तबारे नीतिगत व्यवस्था गर्न लागेको उनले जनाए ।‘यसो गर्दा दीर्घकालीन पूर्वाधार योजनामा संस्थागत लगानीलाई बढाउन सकिन्छ,’ नेपाल म्यानेजमेन्ट एसोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको नेसनल म्यानेजमेन्ट कन्भेन्सनका अवसरमा उनले भने ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासका लागि स्पष्ट नीतिगत व्यवस्था र बलियो राजनीतिक प्रतिवद्धता आवश्यक भएको बताए । कन्भेन्सनअन्तर्गत ‘मोबिलाइजेसन डोमेस्टिक रिसोर्स फर इन्फ्रास्टक्चर फाइनान्सिङ’ विषयक सत्रमा अध्यक्ष ढकालले विकासको विषयमा राजनीतिक दलहरूबीच समान धारणा आवश्यक भएकामा जोड दिए ।

नेपाल जस्तो विकासोन्मुख देशको पूर्वाधार विकासमा संस्थागत लगानीको मात्रा ज्यादै न्यून रहेको र यस्तो लगानी बढाउन आवश्यक रहेको उनको भनाइ छ । दलहरूबीचको असमान धारणा र अन्तरसरकारी निकायबीच समन्यवको अभावमा नेपालमा उचित विकास हुन नसकेको उनको धारणा छ ।‘हामीकहाँ विकासको दृष्टिकोणमा राजनीतिक दलहरूबीच एकरूपता देखिँदैन । सत्तामा रहँदा एउटा र बाहिर हुँदा अर्को कुरा गरेर देश विकास हुन सक्दैन,’ उनले भने, ‘अन्तरसरकारी निकायहरूमा समन्वयको अभाव उस्तै छ । अर्कोतर्फ सरकारी निकायमा ओभरसाइट एजेन्सी धेरै भए । विकासका लागि यो सबै सुधार हुन आवश्यक छ ।’

Sharing Is Caring:

Leave a Comment