नेपाल–भारत ‘स्टार्टअप कनेक्ट : स्टार्टअप महाकुम्भ’ सम्मेलन

Swastika Bhandari

२७ माघ, काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले दोस्रो संस्करणको ‘भारत–नेपाल स्टार्टअप कनेक्ट : स्टार्टअप महाकुम्भ’ (एसएमके २०२५) कार्यक्रम आयोजना गरेको छ ।

सम्मेलनमा भारत सरकारको डीपीआईआर्ईटी, स्टार्टअप इन्डियादेखि नेपालका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च, नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनी, फिनटेक एलायन्स अफ नेपाल, रोबोटिक्स एसोसिएसन अफ नेपाल, नेपाल हब, एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स, त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय र नेपाली स्टार्टअपहरूका प्रतिनिधि सहभागी थिए ।सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाली स्टार्टअपका लागि अवसर सिर्जना गर्ने नवीनतम आईटी प्रविधि अँगाल्ने सन्दर्भमा गरिरहेको प्रगतिबारे जानकारी दिए ।

उनले भारत र नेपालबीच अद्वितीय र बलियो सम्बन्ध तथा नेपाली र भारतीयका लागि एकर्र्अाको देशमा काम गर्ने सहजतामाथि प्रकाश पारे । नेपाली कम्पनीहरूलाई ‘एसएमके २०२५’ मा भाग लिन उनले प्रोत्साहन गरे ।त्यसैगरी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतका युवामाझ स्टार्टअप संस्कृति कसरी मूलधार बनेको छ भन्ने विषयमा प्रकाश पारे ।

भारतले डिजिटल प्रविधिमा गरेको सफलता र डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर विकासले वर्तमान डिजिटल परिवर्तनलाई बढावा दिएको उनले बताए । यसले सीमापार स्टार्टअप सहकार्यका लागि अवसर उपलब्ध गराएको उनको भनाइ छ ।

‘यसबाट डिजिटल कनेक्टिभिटीलाई बढावा मिलेको छ । हालै नेपालको फोनपे र भारतको यूपीआईबीच भएको अन्तर सञ्चालनशीलताबाट ४ लाखभन्दा बढी व्यापारिक कारोबार भएका थिए,’ राजदूत श्रीवास्तवले भने ।

त्यसैगरी भारत सरकारको डीपीआईआईटीका सहसचिव सञ्जीवले एसएमके २०२५ बारे प्रस्तुति दिए । उनले उक्त कार्यक्रम कसरी स्टार्टअप क्षेत्रका लागि एक प्रमुख कार्यक्रममा परिणत भएको छ भन्नेबारे जानकारी दिए ।

नेपाली स्टार्टअपलाई सहभागी हुन उनले आमन्त्रित गरे । एसएमकेमा ३ हजारभन्दा बढी प्रदर्शक, १० हजार स्टार्टअप, १ हजार लगानीकर्ता, इन्कुबेटर र एक्सिलिरेटर समावेश हुनेछन, जसमा भारत र बाहिरबाट ५० हजारभन्दा बढी व्यावसायिक आगन्तुक अपेक्षा गरिएको उनले जानकारी दिए ।

अत्याधुनिक आविष्कार केन्द्रित क्षेत्रमा रहेका डीटूसी, फिनटेक, एआई, डिपटेक, साइबर सुरक्षा, रक्षा र अन्तरिक्ष प्रविधि, कृषि प्रविधि, जलवायु प्रविधि र दिगोपना, बीटूबी र प्रिसिजन म्यानुफ्याक्चरिङ, गेमिङ, ई–स्पोर्ट र खेलकुद प्रविधि, बायोटेक र स्वास्थ्य सेवा तथा इन्कुबेटर र एक्सिलिरेटर सम्बन्धित विषयगत कक्षमार्फत प्रदर्शन गरिने छ ।

सम्मेलनमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले ‘नेपालमा स्टार्टअप नीति’ बारे प्रस्तुति दिए ।

त्यस्तै आईआईटी मद्रास प्रवर्तक प्रमुख राजेन्द्र मुथा, टेक एक्सआरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रशान्त मिश्रा, एफवान सफ्टका सहसंस्थापक असगर अली, खल्ती वालेटका संस्थापक अमित अग्रवालले आ–आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी वृद्धि सञ्जाल प्रालिका सीईओ शिक्षित भट्ट, नेपाल क्लियरिङ हाउस लिमिटेडका सीईओ नीलेशमान सिंह प्रधान, काठमाडौं विश्वविद्यालयका एसोसिएट डिन डा. बालकृष्ण बल, स्कुलनेट एभीपी हिमांशु तिवारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की लगायतले पनि आफ्ना क्षेत्रबारे धारणा राखेका थिए ।

Sharing Is Caring:

Leave a Comment