विदेशको भिसा त्यागेर गाउँमै च्याउखेती, मासिक ९० हजार कमाइ

Swastika Bhandari

माघ २६, २०८१

बर्दिया — ०७४ सालमा मलेसियामा रोजगारीका बाँसगढी नगरपालिका–३ महादेवाका रविनकुमार थारु काठमाडौं पुगे । सबै प्रक्रिया पूरा गरिसकेपछि भिसा आउन समय लाग्ने भयो । घर आएर फेरि जानलाई खर्च धेरै हुने ।त्यही भएर उनले भिसा आउँदासम्मका लागि काठमाडौंमै केही काम गर्ने सोच बनाए । गाउँकै साथीसँगको सल्लाहमा उनी काठमाडौंकै च्याउ फार्ममा काम गर्न गए । काम थालेको तीन महिनाजतिमा भिसा पनि आयो । तर उनलाई विदेश जान मन लागेन ।

कारण थियो आम्दानी । मलेसियामा मुस्किलले महिनाको ३५ हजार नेपाली रुपैयाँ कमाउथे । त्यो पनि खर्च कटाएर घर पठाउँदा अझै थोरै हुन्थ्यो । २०७० देखि ०७३ सम्म उनले मलेसियामै काम गरिसकेका थिए । यसपाली उनी दोस्रोपटकका लागि जाँदै थिए । तर च्याउ फार्ममा काम गर्दा जुन आम्दानी देखे त्यसले उनलाई गाउँ फर्कायो ।कसरी उत्पादन गर्ने, बजारको अवस्था कस्तो छ भन्ने सबै बुझेपछि उनी मलेसियाको भिसा त्यागेर ११० पोका च्याउको बीउ लिएर गाउँ फर्किए । पहिलोपटक चार कट्ठाबाट च्याउ खेती सुरु गरे । सुरुवाती वर्षमै आम्दानी सोचेभन्दा बढी नै भयो । २०७० देखि ०७३ सम्म उनले मलेसियामा काम गरिसकेका थिए । मुस्किलले महिनामा ३५ हजार नेपाली रुपैयाँ कमाउँथे उनी । ‘आम्दानी राम्रो देखेपछि लागेको भिसा त्यागेर गाउँ नै फर्किएँ,’ उनी भन्छन्, ‘अहिले च्याउ बेचेरै मासिक ९० हजारभन्दा बढी आम्दानी हुन्छ ।’च्याउबाटै भएको आम्दानीले उनले थप चार कट्ठा जमिनसमेत जोडेका छन् । अहिले थारुसँग १० कट्ठा जमिन छ । सात वर्षको अवधिमा उनले च्याउबाटै भएको आम्दानीले बाँकेको बैजनाथमा घर पनि बनाए ।

उनले सुर्खेत, बर्दिया र नेपालगन्जसम्म च्याउ पठाउँछन् । यातायातको राम्रो पहुँच नभएको महादेवा गाउँमा अहिलेसम्म ठूला सवारी आउजाउ गर्दैनन् । तर राजमार्ग नजिक भएकाले उनी मोटरसाइकलमै बोकेर च्याउ बाटोसम्म पुर्‍याउँछन् । त्यहाँबाट व्यसायीहरु गाडी लिएर च्याउ खरिद गरी लैजान्छन् ।सुरुमा उनी साइकलमा बोकेर च्याउ बेच्न लैजान्थे । अहिले मोटरसाइकल छ । अब भने गाउँसम्म पुग्ने चारपांग्रे गाडी किन्ने उनको योजना छ । उनलाई श्रीमती र तीन दाजुभाईले समेत सघाएका छन् । परिवारका सबै सदस्य च्याउ खेतीमा संलग्न छन् ।

छोटो समयमै राम्रो आम्दानी गरेका थारुले दुई जना अरुलाई पनि रोजगारी दिएका छन् । उनीहरुलाई मासिक जनही १५ हजार रुपैयाँ पारिश्रमिक दिन्छन् । यसबाहेक च्याउ टिप्नका लागि दैनिक ८ जना महिलाहरु आउँछन् । उनको फार्ममा अहिले दुधे, कन्ये र गोब्रे च्याउ उत्पादन हुन्छ । थोक मूल्यमै प्रतिकिलो उनले २ सय रुपैयाँमा बिक्री गर्छन् ।

बिहान बेलुकाको छाक टार्नसमेत उतिबेला धौ–धौ पर्ने थारुका लागि च्याउ खेती गरेयता बालबच्चा पढाउन र घरखर्च चलाउन समस्या परेको छैन ।

उनी भन्छन्, ‘विदेश गएको भए मेरो आम्दानी भनेको त्यही तलब मात्रै हुन्थ्यो । अहिले मैले सोचेअनुसार कमाएको छु । दाजुभाई पनि कामका लागि भौतारिन परेको छैन । परिवारसँगै बसेर गरेको दु:खबाट भएको यो आम्दानीले सन्तुष्ट नै छु ।

उनको च्याउ फार्मका लागि आर्थिक वर्ष ०७५/०७६ मा एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयले एसी जडित तीन कोठे पक्की टहरा अनुदानमा निर्माण गरिदिएको थियो ।

दुधे च्याउ उत्पादनका लागि टहरा निर्माणमा एक लाख र गोब्र च्याउ उत्पादनका लागि हाइटेक चेम्बर निर्माण गर्न १५ लाख अनुदान दिएको कार्यालय प्रमुख सागर ढकालले बताए । बाँसगढी नगरपालिकाले पकेट विकास कार्यक्रम अन्तर्गत ३ लाख ५० हजार रकम च्याउ राख्ने चेम्बरका लागि थारुलाई अनुदान दिएको छ । च्याउ बाहेक उनले बाख्रा, कुखुरा र तरकारी खेतीबाट पनि राम्रो आम्दानी गरि रहेका छन् ।

Sharing Is Caring:

Leave a Comment