स्टार्टअप प्रवर्द्धनका लागि नयाँ दिल्लीमा महाकुम्भ, नेपालका स्टार्टअपलाई सहभागी हुन आग्रह

Swastika Bhandari

माघ २६, २०८१

काठमाडौँ — भारतको नयाँ दिल्लीमा आगामी अप्रिलमा हुन लागेको स्टार्टअप महाकुम्भमा सहभागी भई नयाँ अवसरहरू खोजी गर्न आग्रह गरिएको छ । काठमाडौंस्थित भारतीय दूतावासले ‘भारत-नेपाल स्टार्टअप कनेक्ट: स्टार्टअप महाकुम्भ (एसएमके) २०२५’ को दोस्रो संस्करणको तयारीस्वरूप शुक्रबार आयोजना गरेको कार्यक्रममा नेपाल र भारत सरकारका प्रतिनिधिहरूले भारत र नेपालका स्टार्टअपहरूका लागि दुवै देश राम्रो बजार भएको उल्लेख गरेका थिए ।स्टार्टअप महाकुम्भमा १० हजारभन्दा बढी स्टार्टअप र १ हजार लगानीकर्ताहरूको सहभागिता रहने भारतको उद्योग सम्वर्द्धन तथा आन्तरिक व्यापार विभागका सहसचिव सञ्जीव कुमारले जानकारी दिए । उनका अनुसार डिजिटल वित्तीय प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, क्लाइमेट टेक, कृषि प्रविधि, स्वास्थ्य सेवालगायत विभिन्न क्षेत्रका नवीनतम व्यवसायिक पहल र परियोजनाहरू प्रदर्शन गरिनेछन् । साथै, डीटुसी, डिपटेक, अन्तरिक्ष प्रविधि, प्रिसिजन म्यानुफ्याक्चरिङ, गेमिङ, इस्पोर्ट्स, खेलकुद प्रविधि, बायोटेकसँग सम्बन्धित विषयगत कक्षहरू राखिने उनले बताए ।स्टार्टअप महाकुम्भकै हिस्साका रूपमा भारत-नेपाल स्टार्टअप कनेक्ट समारोहले नेपाली स्टार्टअपहरूलाई भारतीय लगानी तथा प्रविधिसँग जोड्ने अवसर प्रदान गर्ने दूतावासको अपेक्षा छ । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारतमा स्टार्टअप संस्कृतिले आर्थिक तथा प्रविधि क्षेत्रमा ल्याएको परिवर्तनबारे प्रकाश पार्दै नेपालसँग सहकार्य गर्ने अवसरहरूबारे चर्चा गरे ।

विशेषगरी आर्थिक प्रविधि, यातायात, ईकमर्शजस्ता क्षेत्रमा नेपाली स्टार्टअपहरूले राम्रो गरिरहेका छन्,’ श्रीवास्तवले भने, ‘भारतमा पनि १०० वटाभन्दा बढी स्टार्टअपहरू अत्यन्तै सफल अर्थात् युनिकर्न भइसकेका छन् ।’ श्रीवास्तवले भारत सरकारले आफ्नो देशका स्टार्टअपहरूलाई सक्रिय रूपमा सघाइरहेको प्रसंग उल्लेख गर्दै दुई देशका स्टार्टअपहरूबीच सहकार्यको सम्भावना बढ्दै गएको पनि बताए ।डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको विकासले भारतको डिजिटल रुपान्तरणमा भूमिका खेलेको उल्लेख गर्दै उनले नेपालको फोनपे र भारतको यूपीआईबीचको अन्तरआबद्धताले सीमाभार भुक्तानीमा सहजता ल्याएको उदहारण दिए । यस्ता पूर्वाधारहरूबीचको सीमापार सम्पर्कले तिनिहरूबाट थप लाभांश प्राप्त गर्न मद्दत गर्ने उनको भनाइ थियो ।समारोहमा प्रमुख अतिथिका रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा स्टार्टअप प्रवर्द्धनका लागि नवीनतम प्रविधिहरूको प्रयोग भइरहेको भन्दै नेपाल-भारतबीचको प्रगाढ सम्बन्धले व्यवसायिक सहकार्यलाई थप सुदृढ बनाउने धारणा राखे । नेपाली कम्पनीहरूलाई एसएमके २०२५ मा सहभागी हुन आग्रह गर्दै उनले नयाँ अवसरहरू खोज्न स्टार्टअपहरूलाई प्रोत्साहित पनि गरे । आईआईटी मद्रास प्रवर्तकका प्रमुख राजेन्द्र मुथाले भारतबाट उपलब्ध हुने पुँजी, परामर्श र नेटवर्किङको नेपाली स्टार्टअपहरूले फाइदा लिन सक्ने बताए ।

कार्यक्रममा स्टार्टअपहरूका लागि उदयिमान प्रविधिरूले ल्याएको अवसर र सामाजिक प्रभावका लागि डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको भूमिकाका विषयमा छलफल गरिएको थियो । टेक एक्सआरका प्रमुख प्रशान्त मिश्राले भर्चुअल रियालिटिका कारण कसरी आफूहरूले नयाँ पर्यटन अनुभव सिर्जना गर्न सकिएको विषयमा बोलेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार असगर अलीले नेपालमा नागरिक एपबारे जानकारी दिए भने खल्ती वालेटका संस्थापक अमित अग्रवालले नेपालमा डिजिटल भुक्तानीका विषयमा प्रकाश पारे ।नेपालको डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरबारे शिक्षित भट्टले आफ्ना पहलहरू सुनाए । नेपाल क्लियरिङ हाउसका निलेशमान प्रधानले नेपाल पेजस्ता प्रविधि फिनटेक कम्पनीहरूका लागि नवप्रवर्तन गर्ने डिजिटल क्षेत्रहरू रहेको औँल्याए । काठमाडौँ विश्वविद्यालयका एसोसिएट डिन बालकृष्ण बलले आफ्ना विद्यार्थीहरूलाई डिजिटल सार्वजनिक सामान निमार्ण गर्न प्रोत्साहन गरिरहेको बताए । स्कुलनेट एभीपीका हिमांशु तिवारीले भारतमा रहेको ‘दीक्षा’ जस्ता शिक्षा डीपीआईको अनुभव सुनाए ।

Sharing Is Caring:

Leave a Comment