माघ २६, २०८१
काभ्रे — अड्डा–अदालतलगायत सरकारी कामकाजमा प्रयोग हुँदै आएको नेपाली कागजको बजार नपउँला व्यवसाय नै संकटमा पुगेको छ । लाखौंको लगानी गरेर उद्योग सञ्चालन गरेका व्यवसायीले नेपाली कागजको बजार राम्रो नभएपछि उद्योग नै बन्द गर्नुपरेको बताएका छन् । बजार नभएपछि उद्योग बन्द गरेको सिन्धुली घर भई बनेपा नगरपालिका–१० स्थित रेशममार्गमा नेपाली हाते कागजको व्यवसाय गर्दै आएका हरिकुमार मगरले बताए । डेढ वर्षयता उनको उद्योग बन्द छ । पत्रिकामा समाचार पढेर व्यवसाय सुरु गर्ने सोचले १४ वर्षअघि कञ्चन नेपाली कागज उद्योग खोलेका हरिकुमारले पछिल्ला वर्ष बजार राम्रो नभएको उनले जनाए । कोरोनापछि व्यापार राम्रो नभएकाले उत्पादन पनि कम गरिएको उनको भनाइ छ । कोरोनापछि अरू व्यवसाय विस्तारै तंग्रिँदै गए पनि यो व्यवसाय माथि उठ्न नसकेको उनले बताए ।‘यस्तै स्थितिले धान्न सकिएन, बजार पनि राम्रो छैन, कर तिर्नैपर्यो, भाडा तिर्नैपर्यो, कर्मचारीलाई पारिश्रमिक दिनैपर्यो,’ उनले भने । उद्योगमा उनले २५ लाख रुपैयाँ लगानी गरेका थिए । पछिल्लो समय बजार राम्रो नहुँदा आफूले १५ लाख घाटा बेहोर्नुपरेको उनको भनाइ छ ।
पनौती–१० खोपासीमा २ दशकयता पुरुषोत्तम पौंजूले फ्रेन्डसिप पेपर उद्योगमा नेपाली कागज उत्पादन गर्दै आएका छन् । सुरुवाती समयमा व्यवसाय राम्रो भए पनि अहिले बजार नपाएर व्यवसाय संकटमा रहेको उनले जनाए । काठमाडौंमा रहेका डिलरमार्फत यहाँ उत्पादित नेपाली कागज विदेश पुर्याइन्छ । ‘अहिले डिलरले बजार राम्रो छैन भन्छन्,’ उनले भने, ‘सामान कम उत्पादन गर्नु भनेका छन्, पहिले ६ सय कोरी उत्पादन हुनेमा अहिले ५ सय उत्पादन हुन्छ, त्यहीँ पनि बजार छैन भनेर सबै सामान नै गएको छैन ।’दुई सय कोरी जति कागज स्टकमै रहेकाले व्यवसाय धान्ने चिन्ता भएको पौंजूले बताए । कच्चा पदार्थ दोलखादेखि ढुवानी गरेर ल्याइन्छ, त्यसलाई प्रशोधन गर्नैपर्यो, कामदारलाई पारिश्रमिक पनि दिनैपर्यो, उत्पादन भएका पनि सबै बजार गएको छैन । त्यसकारण पनि अहिले व्यवसाय नै धरापमा छ । यसलाई निरन्तरता कसरी दिने भन्नेमा उनलाई चिन्ता छ । बजार राम्रो नभएकाले अर्को वर्ष कम उत्पादन गर्ने उनको सोच छ ।
उद्योग दर्ता छन् तर सम्पर्कमा छैनन्
जिल्लाभर नेपाली कागज उद्योग कहाँ र कति दर्ता भएको छ भन्ने यकिन विवरण छैन । उद्योग वाणिज्य कार्यालयको तथ्यांकमा हालसम्म ३ वटा मात्रै नेपाली कागज उद्योग दर्ता भएको देखिन्छ । २०५७ मा साबिक सापिङ गाविस–४ झिनोटार गणेश नेपाली कागज उद्योग प्रालि दर्ता भएको कार्यालयको विवरणमा देखिन्छ । उक्त उद्योगले दर्तापछि नवीकरण नगरेको र हाल सम्पर्कमा नरहेको कार्यालयले जनाएको छ ।साबिक पनौती–१२ मा उग्रतारा हाडकेश्वर नेपाली कागज उद्योग २०६१ मा दर्ता भएको कार्यालयको तथ्यांकमा छ । तर दर्तापछि उक्त उद्योग पनि सम्पर्कमा नरहेको कार्यालयको भनाइ छ । २०६३ मा साबिक बनेपा–५ मा नेपाल कागज उद्योग दर्ता भए पनि हालसम्म सम्पर्कमा नरहेको कार्यालयले बताएको छ ।
अन्य संस्थामार्फत उद्योग दर्ता भएको र शाखा कार्यालय सञ्चालन भएको खण्डमा यस कार्यालयको दर्ता सूचीमा उल्लेख नहुने हुँदा पनि संख्या कम देखिएको कार्यालय प्रमुख सीताराम पोखरेलको भनाइ छ । नेपालीको कागज बहुपयोगी भए पनि यसको बजार राम्रो नहुँदा पनि दर्ता भएकै उद्योग पनि बन्द भएको हुन सक्ने उनले जनाए । सामान्य कागजको तुलनामा नेपाली कागज अलि महँगो हुने भएकाले खपत कमी हुँदा यस्ता उद्योग बन्द भएको हुन सक्ने उनको अनुमान छ ।
आन्तरिक राजस्व कार्यालय काभ्रेको तथ्यांकमा ५ वटा नेपाली कागज उद्योग दर्ता भएका छन् । तर ५ वटै उद्योग हाल सम्पर्कमा नरहेको कार्यालयले जनाएको छ । भुम्लु गाउँपालिका–१ झिनोटार गणेश नेपाली कागज उद्योग प्रालि, पनौती–१० मा द्रौपदा कागज उद्योग, कञ्चन नेपाली कागज उद्योग प्रालि, नमोबुद्ध नेपाली कागज उद्योग र हातेमालो अर्गानिक कृषि फर्म यस कार्यालयमा दर्ता भएका छन् ।