इमेज सहकारीका एक लाखमुनिका बचतकर्ताको रकम फिर्ता सुरु

Swastika Bhandari

माघ २६, २०८१

बागलुङ — इमेज बचत तथा ऋण सहकारी संस्थाका १ लाख रुपैयाँभन्दा कम बचत गर्ने पीडितले रकम फिर्ता पाउन थालेका छन् । मुद्दाको समय लम्बिने र मजदुरी गरेर कमाएको रकम राखेकाहरू बचत फिर्ता नपाएर पीडित भएपछि कानुन व्यवसायी राम शर्मा तथा सहकारीपीडित संघर्ष समिति गलकोटकी संयोजक मञ्जु शर्मा चालिसेको अगुवाइमा १ लाख रुपैयाँभन्दा कम रकमका बचतकर्तालाई रकम फिर्ता गर्न सुरु गरिएको हो । ठगी मुद्दामा इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीलाई विपक्षी बनाएका जाहेरवालामध्ये ५ सय ४७ जना बचतकर्ताले मेलमिलाप गरेपछि रकम फिर्ताको काम सुरु भएको हो ।सोही मेलमिलापका आधारमा नेपालीका कानुन व्यवसायी राम शर्मा, सहकारीपीडित संघर्ष समिति गलकोटकी अध्यक्ष मञ्जु शर्मा चालिसेको अगुवाइमा बचत फिर्ता सुरु भएको हो । तत्कालका लागि ‘मीना ग्रुप कम्पनी प्रालि’ ले ऋणस्वरूप रकम उपलब्ध गराएको शर्माले बताइन् । बुर्तिवाङका ९२ र गलकोटका १ सय ७६ गरी २ सय ६८ जनाले बचत फिर्ता पाइसकेको उनको भनाइ छ ।

पहिलो चरणमा उनीहरूको ठगिएको रकम २३ करोड ७५ लाख ४२ हजार ३ सय ४० रुपैयाँ बराबरको रकम घरसारमा मिलेर पाएको भन्दै मेलमिलाप गरिसकेका छन् । सोहीअनुसार पहिलो चरणमा २ करोड रुपैयाँ फिर्ता गरिएको हो । ‘साना बचतकर्तालाई पहिलो चरणमा बचत फिर्ता गरेपछि दोस्रो चरणमा १० लाख रुपैयाँसम्मको फिर्ता गर्ने योजना छ,’ शर्माले भनिन्, ‘त्यसका लागि नेपालीका नाममा भएका अचल सम्पत्तिलाई तरल रकममा कसरी रूपान्तरण गर्ने भन्ने छलफल भइरहेको छ ।’केही सम्पत्ति तत्काल बिक्री गर्न करोडौं रकम चाहिने भएपछि समूह तयार भएर रकम संकलन गरी बचतकर्तालाई फिर्ता गर्न लागिएको उनको भनाइ छ । बचत फिर्ता पाएपछि गलकोटकी उर्मिला कामीले घरखर्च जुटाउन पाएको बताइन् । ‘छोरीको टिको लगाएको रकम जम्मा गरेर राखेकी थिएँ, यतिका समयपछि फिर्ता पाएँ,’ उर्मिलाले भनिन्, ‘छोरीको पढाइ खर्चमा पनि लगाउनेछु ।’ २५ हजार २ सय ५० रुपैयाँ पाएको उनले जनाइन् । गलकोटकै अमृत परियाले ४६ हजार ९ सय, गुमा दमाईले ५७ हजार ३ सय ६० रुपैयाँ पाएको बताए ।बागलुङ जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले गत पुस १९ मा आंशिक मेलमिलापको आदेश दिएको थियो । पीडित ताराबहादुर कुँवर, मञ्जु शर्मा चालिसे र यमबहादुर कुँवरसमेत ५ सय ४७ जनाको मुलुकी फौजदारी संहिता २०७४ को दफा ११७ बमोजिम मिलापत्र गर्न निवेदन आएकाले दफा ११८ (३) बमोजिम मिलापत्र गरिएको आदेशमा उल्लेख छ । ‘यो निर्णयले विपक्षीको बिगो घटेको छ, मुद्दा सकिएको होइन,’ सरकारी वकिल पूर्णप्रसाद शर्माले भने, ‘पीडितले रकम पाउने अवस्था भयो भने त्यसले पनि राम्रो सन्देश जानेछ ।’

अध्यक्ष नेपाली २०८० जेठ ४ देखि फरार थिए । वैशाख ६ मै इमेज बचत तथा ऋण सहकारीको कार्यालयमा तरलता अभाव भएकाले कार्यालय बन्द भएको सूचना टाँस गरेपछि बचतकर्ताले आफ्नो रकम ठगी भएको भन्दै जिल्ला प्रशासन, प्रहरी र अन्य सरोकारवाला निकायको दैलो गुहारेका थिए । पीडितहरूको जाहेरी संकलन गरी जिल्ला प्रहरीले अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयले २०८० असार २५ मा नेपालीविरुद्ध मुद्दा दायर गरिएको थियो । २०८० कै माघमा नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको थियो ।असोज पहिलो साता भारतको नयाँदिल्लीबाट पक्राउ गरेर नेपाल ल्याएपछि नेपाली जिल्ला अदालत बागलुङमा हाजिर गराइएका थिए । जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले ताराबहादुर कुँवरसहितका पीडितको जाहेरीले भन्दै २०८० असार ३१ मा नेपालीसहित १० जना विरुद्ध सहकारी ठगी मुद्दा दायर गरेको थियो । २०८० साउन ४ को आदेशले नेपाली फरार रहेकाले भेटिएका सञ्चालक र कर्मचारीलाई समेत पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

यस मुद्दामा सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पनि पुर्पक्षमा छन् । सोही मुद्दामा ओमप्रसाद दर्जी भने धरौटीमा छुटेका थिए । जाहेरीमा सहकारी ऐन २०७४ को दफा १२२ को ‘घ’, ‘ङ’, ‘च’, ‘छ’, ‘ज’ र ‘ट’ मा उल्लेखित कसुर गरेकाले उक्त ऐनको दफा १२४ को उपदफा १ बमोजिम हिनामिना गरेको रकम बराबरकै बिगो भराई पाउन तथा ठगी मुद्दामा जेल सजायको समेत माग गरिएको थियो । यस मेलमिलापले उक्त रकममा २३ करोड ७५ लाख बिगो घट्ने कानुन व्यवसायी राम शर्माले बताए ।

प्रम्खु जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी र प्रहरी उपरीक्षक ऋषिराम कँडेलले पीडितहरूलाई जुटाएर उनीहरूको रकम फिर्ता पाउने वातावरणमा सहजीकरण गरेका थिए । नेपालीको नाउँमा रहेका घरजग्गा बिक्री गर्न सके सबै बचतकर्ताको रकम फिर्ता गर्न सम्भव भएको शर्माले बताए । नेपालीले पनि कारागारबाट कानुन व्यवसायीमार्फत सबै पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् ।

Sharing Is Caring:

Leave a Comment