२५ माघ, काठमाडौं । ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ ।
गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने यस आयोजनामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी वित्तीय व्यवस्थापनको टुंगो लागेको हो ।उक्त आयोजनामा लगानी सम्बन्धी सम्झौतामा बूढीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरे ।
कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुनेछ ।प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछन् । बाँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपूँजी लगानी हुनेछ ।
आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । वर्षामा १८.६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ ।
कम्पनी अध्यक्ष खगेन्द्र न्यौपाने, प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, इन्द्रबहादुर ढकाल र विनोद थापा सहितको समूहले आयोजना निर्माण गर्न लागे हो ।
यो समूहले यसअघि सोही क्षेत्रमा नै तोकिएको अवधिभन्दा ६ महिना अघि ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।
साथै कम्पनीको प्राथमिक सेयर निष्कासन तत्काल नै जारी हुने प्रक्रियामा समेत रहेको छ ।
हाइड्रोपावरमा अनुभव बटुलिसकेको यो समूहले बूढीगण्डकी हाइड्रोपावर आगामी १८ महिनाभित्र सञ्चालनमा ल्याउने जनाएको छ ।
आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २१ असार २०८० मा विद्युत् खरिद बिक्री सम्बन्धि सम्झौता भएको थियो । साथै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको कम्पनीले जनाएको छ ।