माघ २४, २०८१
काठमाडौँ — चालु आर्थिक वर्ष लक्षित आर्थिक वृद्धि प्राप्तिमा चुनौती रहेको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । बिहीबार संसद्मा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले लक्षित आर्थिक वृद्धि प्राप्ति चुनौतीपूर्ण देखिएको बताएका हुन् ।चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ । यता विश्व बैंकले गत वर्ष ३.९ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर यस आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । समग्रमा अर्थतन्त्र चलायमान हुने र आर्थिक क्रियाकलाप विस्तार हुने आधार तयार भएको सरकारको दाबी छ । तर, निर्माण, उत्पादन तथा प्रशोधन, थोक तथा खुद्रा व्यापारलगायत क्षेत्रको वृद्धिदर सन्तोषजनक छैन । यी क्षेत्रमा सुधार नहुने हो भने यस आर्थिक वर्षमा लक्षित आर्थिक वृद्धिदर प्राप्त गर्न मुस्किल हुने जानकारहरू बताउँछन् ।राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर करिब साढे ३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । कार्यालयले गत पुस तेस्रो साता सार्वजनिक गरेको प्रथम त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदनले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा ३.४ प्रतिशत आर्थिक वृद्धि रहने प्रारम्भिक अनुमान गरेको हो । उक्त अवधिमा निर्माण क्षेत्र ऋणात्मक र अन्य केही क्षेत्रको विस्तारमा संकुचन आउने प्रक्षेपण छ ।
कार्यालयका अनुसार कृषि उत्पादन, विद्युत् उत्पादन तथा वितरण, पर्यटन आगमन र होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धिका कारण सकारात्मक आर्थिक वृद्धि रहने देखिएको हो । यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो । खासगरी यस अवधिमा गएको बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेका कारणले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको प्रतिवेदनमा उल्लेख छ ।