माघ २२, २०८१
काठमाडौँ — कोटेश्वर–कलंकी सडक खण्ड भएर ओहोरदोहोर गर्नेहरू ग्वार्कोमा ट्राफिक जाममा नपरेको दिन हुँदैन । साँझ–बिहान त यो सडक छिचोल्नै हम्मेहम्मे पर्छ । जब ग्वार्कोमा ओभरपास निर्माण थालियो, त्यो दिनबाट यो स्थान अस्तव्यस्त बनेको हो ।२०७८ फागुनबाट दुई वर्षभित्र सक्ने गरी ओभरपास निर्माणको काम थालिएको हो । तर अहिलेसम्म सकिएको छैन । एक महिनायता उक्त खण्डको निर्माण ठप्प छ । यसको कारण हो— ओभरपास निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम गरेको छैन ।
यसअघि पनि बर्खाले गर्दा भन्दै चार महिनासम्म काम रोकिएको थियो । पछिल्लो एक महिनादेखि निर्माण व्यवसायीले काम नगरेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनायो । बर्खापछि बीचमा फाट्टफुट्ट काम भए पनि गति बढेको थिएन ।केन्द्रका यसअघिका निर्देशक प्रभातकुमार झाले ओभरपासको काम ठप्प पारेर निर्माण व्यवसायी सम्पर्कविहीन बनेको बताएका थिए । व्यवसायीले कुनै जानकारी नै नदिई काम छाडेको भन्दै उनले निर्माण व्यवसायीलाई दुई पटक ‘नोटिस टु करेक्ट’ पठाएका थिए । उनको सरुवा आइतबार मात्र केन्द्रबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भएको छ । उनी मन्त्रालय हाजिर भइसकेका छन् । निर्माण व्यवसायीले गरिसकेका केही कामसमेत त्रुटिपूर्ण रहेको आयोजनाको दाबी छ ।आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ओभरपासको ठेक्का लिएको हो । संयुक्त ठेक्का भए पनि काम रेलिगेर कन्स्ट्रक्सनले गर्दै आएको छ । सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र ओभरपास निर्माण सकिनुपर्ने हो । तर उक्त समयभित्र काम नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो । उक्त समयभित्र पनि काम नसकिएपछि गत पुस ९ सम्म म्याद थियो । उक्त समयभित्र नसकिएपछि पुस १० बाट जरिवाना लगाएर काम गराइएको हो । निर्माण व्यवसायीले चैत मसान्तसम्म काम सक्ने प्रतिबद्धता जनाएपछि आयोजनाले जरिवाना लगाएर काम गराएको थियो । जरिवाना लगाएपछि कामको गति झन सुस्त भएको हो ।
तोकिएको समयमा काम नसक्दा व्यवसायीलाई जरिवाना लगाएर काम गराइएका कारण निर्माणमा केही ढिलाइ भएको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्यालले बताए । ‘निर्माण व्यवसायीले काम गर्छौं भनिसकेका छन्, ठेक्का लिने कम्पनी आयोजनाको सम्पर्कमा छैनन् भन्ने समाचार आएपछि विभागबाट उनीहरूसँग बुझ्ने काम भयो,’ उनले भने, ‘डिजाइनमा केही प्राविधिक समस्या आएकाले त्यसबारे कम्पनीकै इन्जिनियरसँग छलफल गरिरहेको र छिट्टै काम थाल्ने निर्माण व्यवसायीले बताएका छन् ।’ अहिले काम नभएको भने उनको भनाइ छ ।आशिष–समानान्तर–रेलिगेर जेभीका प्रोजेक्ट म्यानेजर विशाल कार्कीले भने गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशककैका कारण काम गर्ने वातावरण नभएको दाबी गरे । ‘यसअघिका आयोजना प्रमुख (निर्देशक) ले गरेका काममा विश्वास नै नगरी अहिलेका प्रमुखले दोहोर्याएर काम लगाउने गर्नुभएको थियो,’ उनले भने, ‘सबै परीक्षण भइसकेका कुरालाई पनि काममा ढिला गराउने नियत राखेर पटक–पटक परीक्षण गर्न लगाई दुःख दिने गरिएको छ, जसले गर्दा काम गर्ने वातावरण बनेन ।’
पटकैपिच्छे ससाना कुरामा नराम्रो देखाएर काम गर्न नदिइएको कार्कीको आरोप छ । ‘पहिला भइसकेको क्राफ्ट बेरियरको डिजाइन मान्य हुँदैन भन्दै निर्माणमा ढिला गराउने काम भइरहेको छ,’ उनले भने, ‘हाम्रा गुनासा, समस्या सुनिँदैन, सुरुमा धेरै कुरा पूरा नगरी निकालिएको लागत अनुमानअनुसार ठेक्का हाल्दा घाटा सहेर काम गरिरहेका छौं ।’
मन्त्रालय सरुवा भएका झा भने काम गर्ने विषयमा कुनै हस्तक्षेप नगरेको दाबी गर्छन् । ‘केन्द्रले तोकेअनुसार त्यसको गुणस्तर जाँच गर्नैपर्छ,’ उनले भने, ‘हामीले नयाँ परीक्षण गर्न भनेका छैनौं, भएकै विषय मात्र परीक्षण गर्न भनेका हौं, निर्माण व्यवसायीबाट भएका त्रुटि पनि सच्याउन भनेका हौं ।’
ओभरपासमा अहिलेसम्म ४४ करोड खर्च भइसकेको प्रोजेक्ट म्यानेजर कार्कीले जनाए । ‘थप १५ करोड लाग्ने अनुमान छ,’ उनले भने । जरिवाना तिरेर भए पनि काम गर्न तयार भइरहेकै बेला ठेक्का लगाउने निकायबाट काम गर्ने वातावरण नबन्दा समस्या भएको उनले बताए ।
ओभरपासमा अहिलेसम्म निर्माण प्रगति ८२ प्रतिशत छ । ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत यसको ठेक्का गरिएको हो । त्यसैले यसमा डिजाइनदेखि निर्माणसम्मको काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्छ । निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि मुख्य काम रोकेर व्यवसायीले ‘डिजाइन रिभाइज’ गरेका थिए । जसले गर्दा पनि निर्माणमा ढिलाइ भएको व्यवसायीको दाबी छ । आयोजनाले दसैंअघि नै ओभरपास सञ्चालनमा ल्याउने दाबी गरेको थियो ।
आवतजावतको संरचनासहित ५ सय ४० मिटर लामो ओभरपास बन्नेछ । छेउछेउमा क्रंक्रिट प्यानल र विशेषखालको ‘पोलिमर रेन्फोर्समेन्ट’ राखेर र्याम्प बनाउने काम थालिए पनि पूरा भएको छैन । र्याम्प १०.२ मिटरसम्म अग्लो बन्नेछ । सातदोबाटोतर्फ बनाइएको ४० मिटर र्याम्प भने झिकेर फेरि राख्नुपर्ने केन्द्रको भनाइ छ । निर्माण गरिसकेको काममा पनि समस्या आएको केन्द्रको भनाइ छ । बजेटमा फ्लाइओभर भनेर उल्लेख गरिए पनि यो ओभरपास रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर प्रदीप भण्डारीले बताए ।