व्यावसायिक सुन्तला खेतीले फेरिएको बाग्चौर

Swastika Bhandari

माघ ६, २०८१

सल्यान — बाग्चौर नगरपालिका–९ डाँगीगाउँका भरतनाथ योगीले २०४४ सालदेखि सुन्तला खेती गरिरहेका छन् । आफ्नो घर नजिकै रहेको ४५ रोपनी जग्गामा एक हजार बोट लगाएका उनले सुन्तला बेचेरै बर्सेनि २७/२८ लाख आम्दानी गर्दै आएका थिए ।

गत वर्ष भने ३५ लाखको सुन्तला बिक्री गरेको उनको दाबी छ । यस वर्ष ३५ लाखभन्दा बढीको सुन्तला बिक्री गर्ने उनको लक्ष्य छ । जिल्लामा सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने उनी ‘करोडपति किसान’ हुन् ।

२०४२ सालदेखि २८ रोपनी जग्गामा व्यावसायिक रूपमा सुन्तला खेती गरेका ५७ वर्षका गिरदल डाँगीले बगैंचाबाटै गत वर्ष १८ लाखको सुन्तला बिक्री गरेका थिए । उनले यस वर्ष २२ लाखमा ठेकेदारलाई ठेक्का दिइसकेका छन् । सुन्तला बेचेर वार्षिक १८ देखि २० लाख कमाउँदै आएका उनले १२ जनाको परिवारको रेखदेख गर्दै दाङका घरजग्गा जोडेका छन् ।

यी दुई मात्र नभई जिल्लामा बाग्चौर नगरपालिकाको कोटमौला सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छ । यहाँका किसानको मुख्य पेसा सुन्तला खेती हो । यहाँका ५ सयभन्दा बढी स्थानीय घरघरमा बगैंचा बनाएर सुन्तला उत्पादन व्यवसायमा लागेका छन् । सुन्तला बेचेर एक परिवारले १५ देखि ३५ लाखसम्म कमाउँदै आएका छन् ।

त्यति मात्र नभई कोटमौलाबाट १२ करोडभन्दा बढीको सुन्तला निकासी गर्दै आएका छन् । मकै र गहुँ बाली लगाउने पाखो जग्गामा व्यावसायिक सुन्तला खेतीमा लागेपछि कोटमौलावासीको आर्थिक हैसियतसँगै बस्तीकै मुहार फेरिएको छ ।

आर्थिक वर्ष २०४३/४४ देखि फाटफुट र २०५० देखि व्यावसायिक रूपमा सुन्तला खेतीमा लागेका कोटमौलाका सबै किसान विगतमा खाद्य बालीबाट बाह्रै महिना खान नपुग्दा सधैं मजदुरीका लागि भारतको कालापहाड जान बाध्य थिए । वर्षभर छाक टार्न समस्या हुँदा मजदुरी गर्न र साहुसँग ऋण सापटी लिएर घर खर्च चलाउने उनीहरूलाई अहिले घरमै रोजगारी मिलेको छ ।

वार्षिक एकै घरले लाखौं रकम भित्र्याउन थालेपछि अन्यलाई रोजगारी मात्र नभई घरजग्गा र छोराछारीलाई उच्च शिक्षा दिलाएका छन् । विगतमा काम खोज्दै हिँड्ने किसान अहिले चार–पाँच जनालाई रोजगारी दिन सक्ने भएका छन् ।

सुन्तला खेतीबाट आफ्नो मात्र नभई बस्तीवासीकै मुहार फेरिएको सुन्तला किसान भरतनाथ योगीले बताए । २०४४ सालतिर कृषिमा विकास कार्यालय सल्यानमा आएका प्रमुख रामप्रसाद पुलामीले सुन्तला उत्पादनका लागि राम्रो ठाउँ भएको र उनैले सुन्तला लगाउन उत्साहित गरेको उनले जानकारी दिए ।

‘पुलामीले उत्साहित गरेपछि मैले स्वास्थ्य कार्यालयमा जागिर खाँदै घरको बाली लगाउने जग्गामा सिम्लाबाट ल्याएको सुन्तला लगाएको थिएँ । सुन्तला लगाएपछि भोकै बस्नुपर्छ भनी बुबाले उखेलेर फालिदिनुभएको थियो । मैले तिनै बिरुवा ल्याएर रोपें र थप्दै गएँ । अहिले त्यसैको फल मिलेको छ,’ उनले भने, ‘जागिरबाट आएको तलबले घर खर्च ठिक्क हुन्थ्यो । सुन्तला बेचेर आम्दानी गरेको रकमले सहज रूपमा छोराछोरी पढाएको छु । जग्गा जोडेको छु । १० देखि १२ जनालाई रोजगारी दिएको छु । केही रकम व्यापार व्यवसायमा लगानी गरेको छु ।’

कमाएको पैसाबाट व्यापार व्यवसाय गर्दै आएको र गाउँमा भएको घर चिटिक्क पारेको सुन्तला बेचेर वार्षिक २० लाखसम्म कमाउँदै आएका नेकपा समाजवादीका नेता लोकबहादुर डाँगीले बताए । सुन्तलाबाट कमाएको पैसाले विगतमा लागेको ऋण तिरेको उनले जनाए ।

‘विगतमा बेरोजगारीको समस्याका कारण घर खर्च चलाउन गाह्रो भएपछि म पनि मजदुरीका लागि पटकपटक भारतको विभिन्न स्थानमा गएको थिएँ । त्यहाँबाट फर्केर राजनीतिमा लागें । अहिले पनि राजनीतिसँगै सुन्तला खेती गरिरहेको छु । प्रत्येक वर्ष कमाइ हुने पैसाले घरका सबै समस्या समाधान भएका छन्,’ उनले भने ।

विगतमा तीन महिना घर खर्च चलाउन गाह्रो हुने कोटमौलावासी व्यावसायिक सुन्तला खेतीमा लागेपछि सबैको जीवनस्तरमा धेरै सुधार भएको बाग्चौर नगरपालिका–९ का वडाध्यक्ष यज्ञबहादुर डाँगीले बताए । सुन्तलाबाटै कमाएको रकमले प्रत्येक किसानले धेरै सम्पत्ति जोडेको, आफू बस्ने घर व्यवस्थित बनाएका उनले जनाए । घरघरमा सुन्तलाको बगैंचा बनाएका स्थानीय किसानले बस्तीभित्रका अन्यलाई समेत रोजगारी दिएका छन् । पछिल्लो समय बेलाबेला विभिन्न रोगको प्रकोपका कारण किसान समस्यामा परेको उनको भनाइ छ ।

जिल्लाभरका किसानले १ हजार ८ सयभन्दा बढी हेक्टरमा सुन्तला खेती गरेकामा बाग्चौर नगरपालिकाको कोटमौलामा मात्र ५ सय हेक्टरमा किसानले सुन्तला लगाएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरीनारायण घर्तीले बताए । बाग्चौर नगरपालिकाको कोटमौलाबाट गत वर्षसम्म १२ करोडको सुन्तला निकासी भएकामा यस वर्ष उत्पादन राम्रो भएकाले १५ करोड पुग्ने देखिएको उनले जनाए ।

Sharing Is Caring:

Leave a Comment