माघ ६, २०८१
कञ्चनपुर — सशस्त्र द्वन्द्वका बेला विस्थापित दोधारा चाँदनीस्थित छोटी भन्सार कार्यालय शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । भौतिक पूर्वाधारबिनै जीर्ण भवनबाट छोटी भन्सार सुरु गरिएको हो ।
दोधारा चाँदनी नगरपालिका–३ देवीस्थानस्थित छोटी भन्सारको जीर्ण भवनबाट सेवा सुरु गरिएको गड्डाचौकी भन्सार कार्यालय प्रमुख राजनबाबु काफ्लेले जनाए ।
केही दिनअघि गरिएको सम्भाव्यता अध्ययनमा भौतिक पूर्वाधारबिना तत्काल छोटी भन्सार सञ्चालन गर्न नसकिने प्रतिवेदन तयार गरिएको थियो । ‘तर हतार–हतारमा काम सुरु गर्न दबाब आयो, शनिबारदेखि सेवा सुरु गरिहाल्यौं,’ भन्सार प्रमुख काफलेले भने, ‘न बस्ने घर छ, न शौचालय, न खानेपानी नै छ ।’
तत्काल एक जना नायब सुब्बाको नेतृत्वमा दुई कार्यालय सहयोगीसहित ३ जनालाई छोटी भन्सारमा खटाइएको काफ्लेले बताए । प्रशासनको दबाबपछि शुक्रबार साँझ कैलाली भन्सार कार्यालयबाट रसिदको ठेली ल्याइएको काफ्लेको भनाइ छ । छोटी भन्सारमा रसिद नै काट्ने प्रचलन छ । मुख्य भन्सारमा भने अनलाइनबाटै राजस्व तिर्ने व्यवस्था रहेको उनले जनाए ।
छोटी भन्सारबाट ५ हजारसम्मका कपडा वा घरायसी उपभोगका सामान ल्याउन सकिन्छ । खाद्यान्नका लागि भने क्वारेन्टाइन अनिवार्य भएकाले त्यहाँबाट आयात गर्न नसकिने काफ्लेले बताए ।