६ माघ, काठमाडौं । सिमेन्ट उत्पादक र केही निर्माण व्यवसायीबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता भएको छ ।
सिमेन्ट भाउमा उच्च मूल्यवृद्धि गरिएको लगायत माग राख्दै निर्माण व्यवसायीले आन्दोलन घोषणा गरेका बेला उनीहरूबीच उद्योगमन्त्री दामोदर भण्डारी र वाणिज्य विभागका महानिर्देशक राजन पौडेलको उपस्थितिमा वार्ता भएको हो ।
आफूहरूले वार्ताका लागि सहजीकरण मात्रै गरिदिएको र उनीहरूबीच सिमेन्ट आपूर्ति र मूल्यमा सहमति भएको विभागका महानिर्देशक पौडेलले बताए । तर, कुन–कुन विषयमा के सहमति भयो भन्नेबारे भने उनीहरूले केही पनि बताएनन् ।
सिमेन्ट उद्योगीहरू र निर्माण व्यवसायीले एकअर्काका समस्या मनन गरी आ आफ्नो स्थानबाट समन्वय र समझदारी विकास गर्दै औद्योगिक उत्पादन र विकास निर्माणका कार्यमा सँगसँगै अगाडि बढ्ने भन्ने सहमति भएको नेपाल सिमेन्ट उत्पादक संघका एक पदाधिकारीले बताए ।
तर, नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले भने त्यस्तो कुनै पनि वार्तामा आइतबार महासंघ सहभागी नभएको बताए ।
‘कुनै राजनीतिक दलमा आबद्ध व्यवसायीरूरुसँग उहाँहरूले वार्ता गर्नुभयो होला,’ सिंहले भने, ‘हामीसँग कुनै वार्ता र सहमति भएको छैन, त्यो आवश्यक पनि छैन ।’
सिमेन्ट उत्पादकहरूसँग यसअघि भएको सहमति अनुसार ओपीसी सिमेन्टको फ्याक्ट्री मूल्य प्रतिबोरा ५ सय ४० रुपैयाँ र पीपीसी सिमेन्टको ४ सय ४० रुपैयाँ कायम गरे अरू कुनै सहमति नै गर्नु नपर्ने उनको भनाइ छ ।
गएका दुई महिना बीचमा सिमेन्ट उद्योगीले प्रतिबोरा नै २ सय ५० रुपैयाँले भाउ बढाइसकेको उनले बताए ।
‘सिमेन्ट उद्योगीहरूले निर्यात गर्न पाइरहेका छन्, देशमा विकास निर्माण गर्ने हो भने शून्य भन्सार दरमा सिमेन्ट आयात गर्न पनि दिनुपर्छ,’ उनले भने ।