३६ घण्टाका लागि माथिल्लो तामाकोसीको उत्पादन बन्द

Swastika Bhandari

माघ ५, २०८१

दोलखा — स्वदेशी लगानीमा बनेको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रले ३६ घण्टाका लागि विद्युत् उत्पादन बन्द गरेको छ । 

अर्धजलाशयमा आधारित विद्युत् केन्द्र भएकाले उच्च मागका समयमा पूर्ण क्षमतामा विद्युत् उत्पादनका लागि संरचनाको सरसफाइ गर्न विद्युत् उत्पादन बन्द गरिएको हो । असोजको बाढीले विद्युत् केन्द्रमा क्षति गरेपछि पुस १० बाट नदीको पानीको आधारमा विद्युत् उत्पादन गर्दै आएको थियो ।संरचनाको सरसफाइपछि पिकिङ आवरमा ४ घण्टा पूर्ण क्षमतामा ४ सय ५६ मेगावाट विद्युत् उत्पादनको तयारी थालिएको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रका प्रबन्धक पूर्णगोपाल रञ्जितले बताए । हाल बाढीले क्षति गरेको बायाँतर्फको बालुवा थिग्र्याउने पोखरी मर्मतपछि संचालनमा ल्याएको जलविद्युत् केन्द्रले दायाँतर्फको बालुवा थिग्र्याउने पोखरी पनि संचालनमा ल्याउने तयारी थालिएको उनले बताए ।

‘बालुवा थिग्र्याउने दुईवटा पोखरीको बीचको क्षति भएको कंक्रिट वालको काम जारी भएकाले स्क्याफोल्डिङको काम भैरहेको छ,’ उनले भने, ‘परामर्शदाताले वालमा कंक्रिट गरिएकाले २१ दिन स्क्याफोल्डिङ नखोल्न भनेकाले फलामका टुक्रा काम गर्दा बाँकी रहेका स्क्याफोल्डिङ लगायतका सरसफाइ गर्न विद्युत् उत्पादन बन्द गरेका हौं ।’ सबै काम सकेर आइतबार साँझ ७ बजेबाट विद्युत् उत्पादन थालिने उनले बताए ।

Sharing Is Caring:

Leave a Comment