नारायणगढ–बुटवल सडक : ठेक्काको म्याद सकिन लागेपछि बल्ल काम

Swastika Bhandari

माघ ५, २०८१

परासी — तेस्रो पटक थप भएको म्याद सकिन सात महिना मात्र बाँकी रहँदा नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको कामलाई तीव्रता दिइएको छ । म्याद थप भएको चार महिनासम्म पनि काम नगरेको ठेकेदार कम्पनी चिनियाँ कम्पनी चाइना स्टेट कर्पोरेसनले अहिले पूर्वी र पश्चिम दुवै खण्डतर्फको कामलाई तीव्रता दिएको हो ।

अहिले दुवै क्षेत्रमा कालोपत्र गर्ने, कल्भर्ट बनाउने र दाउन्नेमा पहाड काट्ने काम भइरहेको छ । सडक विस्तार सुरु भएको ६ वर्षयताकै अहिले सबैभन्दा रफ्तारमा काम भइरहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजना कार्यालयले जनाएको छ ।

अहिले पूर्वी खण्डको गैंडाकोटदेखि दाउन्नेसम्म १६ स्थानमा कालोपत्रको तयारी गरेको आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । ‘सडक विभागले अन्तिम चेतावनी दिएको र हरेक महिना लक्ष्य अनुसार काम गर्न कडाइसाथ निर्देशन दिएपछि ठेकेदारले कामलाई तीव्रता दिएको छ,’ इन्जिनियर खनालले भने, ‘अबको एक महिनामा यात्रुलाई महसुस हुने गरी कामको प्रगति देखिनेछ । यो अहिलेसम्मकै कामको रफ्तार हो ।’

पश्चिम खण्डमा पश्चिम नवलपरासीको सुनवल, भूमही, बर्दघाट र रूपन्देही क्षेत्रमा कालोपत्रको तयारी भइरहेको छ । परामर्शदाता कोरियन कम्पनीले ठेकेदारलाई चेतावनी पत्र (नोटिस टू करेक्ट) पठाएर मंसिर २५ गतेसम्म सडकको एकातर्फ ७० प्रतिशत कालोपत्र र चैत १७ गतेभित्र नारायणगढदेखि बुटवलसम्म १ सय १६ किलोमिटरमा एकातर्फ सबै कालोपत्र भएको हुनुपर्ने सर्त राखेको थियो ।

मंसिर २५ सम्म ७० प्रतिशत कालोपत्र हुनुपर्ने सर्त पूरा नभए पनि कामले तीव्रता लिएकाले चैतसम्मको लक्ष्य पूरा गर्ने आशा आयोजना कार्यालयको छ । अहिलेसम्म दुवै खण्डमा गरेर ५४ प्रतिशत काम भएको छ ।

२०७५ चैत ८ मा सुरु भएको यो राजमार्ग विस्तारको काम २०७९ साउन २२ भित्र सकिसक्नु पर्ने हो । कोरोना संक्रमण, निर्माण सामग्री अभावको कारण देखाएर पहिलो पटक २०८० साउन ११ सम्म म्याद थप भएको थियो । पहिलो पटक थपिएको म्यादमा कामले गति नलिएपछि दोस्रो पटकका लागि २०८१ साउन ८ सम्म थप गरेको थियो । दोस्रो पटक पनि काम सम्पन्न नभएपछि तेस्रो पटकका लागि २०८२ साउन ८ सम्मका लागि म्याद थप भएको हो ।

नारायणगढ–बुटवल १ सय १४ किलोमिटर सडकलाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटरलाई ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटरलाई ‘ख’ खण्डमा विभाजन गरेर काम भइरहेको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको बिस्तार गरिरहेको हो ।

Sharing Is Caring:

Leave a Comment