धरहरा चढ्ने टिकट अब अनलाइनबाटै

Swastika Bhandari

माघ ४, २०८१

काठमाडौँ — धरहरा चढ्न अब अनलाइनबाटै टिकट लिन पाइने भएको छ । गत मंसिर ९ मा धरहरा चढ्नका लागि शुल्क तोकिएको थियो । 

शुल्क तोकिएसँगै धरहरा परिसरमा गएर टिकट लिई चढ्ने व्यवस्था गरिएको थियो । अहिले पनि अनलाइन र परिसरमै टिकट लिएर धरहरा चढ्ने व्यवस्था गरिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक प्रकाश अर्यालले बताए ।

‘अनलाइन सेवा सुरु गरेको एक हप्ता भयो, तर दुईथरी सेवा नै चलाइराखिएको छ, पूरै अनलाइन सेवा भइसकेको छैन, परीक्षणका रुपमा अनलाइन सेवा सुरु गरिएको हो,’ उनले भने, ‘डेढ हप्तासम्म यसलाई परीक्षणका रुपमा हेर्ने छौं ।’ अहिले अनलाइनलबाट टिकट काटेर धरहरा चढ्न आउनेहरु पनि रहेको उनको भनाइ छ । टिकटका लागि धरहराको वेबसाइट धरहरा डट जीओभी डट एनपी खोलेर धरहरा भ्रमणमा क्लिक गर्नुपर्ने उनले सुनाए ।

‘त्यहाँ एक हप्तासम्मका लागि बुकिङ गर्न सकिन्छ,’ उनले भने, ‘आफ्नोबारे छोटो जानकारी राखेर टिकट काट्दा हुन्छ, त्यसमा खल्ती र आईएमी पे लाई लिंकअप गराइएको छ ।’ उनीहरुको प्रणालीबाट पैसा तिरेर प्रिन्ट गर्ने कागज बन्ने र त्यसलाई लगेर धरहरा प्रवेश गर्ने ठाउँमा देखाउँदा हुने उनले बताए ।

परिसरमै पुगेर टिकट काट्ने व्यवस्था कायमै रहेको अर्यालले बताए । उनकाअनुसार शुल्क तोकिएयता ५९ हजार ४ सय ७३ ले धरहरा चढिसकेका छन् । शुल्कबाट १ करोड ६ लाख ४८ हजार ७ सय ३० रुपैयाँ राजस्व संकलन भएको छ ।

धरहराको टावर र गार्डेन निर्माण सकेर संविधान दिवसको अवसरमा गत असोज ३ मा धरहरा निःशुल्क खुल्ला गरिएको थियो । पछि शुल्क तोकिएको सहरी विकास मन्त्रालयले जनायो ।

१० वर्षभन्दा माथिका नागरिकलाई धरहरा चढ्दा२ सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, अपांगलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

अहिले औषतमा दैनिक १ हजार २ सयले चढ्ने गरेको अर्यालले बताए । सार्वजनिक बिदाको दिन २ हजार ३ सयसम्मले एकैदिन धरहरा चढ्ने गरेका छन् । अहिले बिहान १० देखि ४ बजेसम्मका लागि मात्र समय तोकिएको छ । बुधबार भने धरहरा बन्द रहने गरेको छ ।

Sharing Is Caring:

Leave a Comment