फास्ट ट्य्राकको भौतिक प्रगति ३७ प्रतिशत

Swastika Bhandari

माघ ४, २०८१

मकवानपुर — काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ३७ प्रतिशत देखिएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले निरीक्षण गर्ने क्रममा निर्माणको जिम्मेवारी पाएको नेपालीले सेनाले दिएको जानकारीअनुसार आयोजनको समष्टिगत भौतिक प्रगति ३७ दशमलव ६० र वित्तीय प्रगति ३९ दशमलव ५६ प्रतिशत अर्थात करिब ७२ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ ।

राष्ट्रपति पौडेलले मकवानपुरको बकैया गाउँपालिकाकाअन्तर्गत ११ नम्बर १२ नम्बर वडामा निर्माण सम्पन्न भएको लेनडाँडा, धेद्रे र महादेवटार सुरुङ मार्ग अवलोकन गरेका थिए । द्रुतमार्गको अवलोकन गर्दै राष्ट्रपतिले आयोजनाको काम छिट्टो सम्पन्न गर्न निर्देशन समेत दिएका छन् । ‘यस आयोजना छिट्टो सम्पन्न भएको खण्डमा आमजनताको दैनिकीमा सहजता थपिनेछ,’ राष्ट्रपति पौडेलले भने ।

नेपाली सेनाका अनुसार द्रुतमार्गमा सातवटा सुरुङ निर्माण हुनेछन् । जसको कुल लम्बाइ १० दशमलव ९७९ किलोमिटर रहनेछ । हालसम्म लेनडाँडाको १६१२ मिटर लम्बाइको सुरुङ र धेद्रेको १७२८ मिटर सुरुङ मार्ग निर्माण कार्य सम्पन्न भएको छ । महादेवटार सुरुङको ६५ प्रतिशतभन्दा बढी काम सकिएको छ । एक किलोमिटरको देवीचौर सुरुङ, ३९० मिटरको सिसौटार सुरुङ र २२५० मिटरको चन्द्रमभीरको खरिद सम्झौता सम्पन्न भएर डिजाइनको क्रममा रहेको छ । ५८३ मिटरको मौरीभिर सुरुङको कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार खरिद सम्झौताका लागि स्वीकृत भएको सेनाले जनाएको छ ।

द्रुतमार्गमा आधुनिक प्रविधिको ८९ स्थानमा आकाशे पुल निर्माण गरिने नेपाली सेनाले जनाएको छ । ८५ स्थानमा निर्माण हुने पुलको खरिद सम्झौता सम्पनन भएको छ । सुरुङ निर्माण सम्पन्न भएको लेनडाँडा र धेद्रेमा आकाशे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । हाल मकवानपुरको राजदमार इलाकामा ५ वटा अत्याधुनिक डिजाइनका पुलहरुको निर्माण कार्य सकिएको छ । अन्यस्थानमा ८१ मिटरसम्म उचाइरहेका विभिन्न प्रकृतिका पुलहरुको फाउण्डेसन तथा सबस्ट्रक्चर र सुपर स्ट्रक्चरको काम भइरहेको जनाइएको छ ।

नेपाल सरकारबाट स्वीकृति इआईए तथा एसइआइए अनुसार आयोजनाका लागि कुल अधिग्रहण आवश्यक करिब १७,६५१ रोपनी जग्गामध्ये व्यक्तिगत जग्गा ५ हजार ४८७ रोपनी रहेको छ । हालसम्म ५ हजार २०४ रोपनी व्यक्तिगत जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित भएकोमा ४ हजार ८१८ रोपनी जग्गा अधिग्रहण सम्पन्न भइसकेको सेनाले जनाएको छ ।

३८८ रोपनी जग्गा अधिग्रहण बाँकी रहेकोमा ललितपुरको खोकना–बुङ्मती खण्डको मूल्य निर्धारण भई २०३ रोपनी जग्गाको मुआब्जा वितरण हुन बाँकी रहेको छ । विवादका कारण हालसम्म यसक्षेत्रको काम अगाडि बढ्न सकेको छैन । मूल्य निर्धारण हुन बाँकी रहेको १६५ रोपनीसहित करिब ३६८ रोपनीको अधिग्रहण प्रक्रिया अगाडि बढेको छैन । जसमध्ये मकवानपुर जिल्लामा १६ रोपनी र काठमाडौं जिल्लामा ४ रोपनी जग्गा अधिग्रहण गर्न बाँकी रहेको छ ।

सेनाले द्रुतमार्ग निर्माणको क्रममा हालसम्म ३६ हजार १७९ वटा विभिन्न प्रजातिका रुख कटान गरेको जनाएको छ । कट्टान गरिएको रुखहरुको सट्टामा हालसम्म जम्ममा ७ लाख ५ हजार ५५२ विरुवा रोपिएको सेनाले जनाएको छ ।

निजगढबाट ललितपुरको खोकनासम्म ७० किलोमिटर ९ सय ७७ मिटर लम्बाईको द्रुतमार्गमा ६ स्थानमा १० दशमलब ३९ किलोमिटर सुरुङमार्ग पर्दछ । मन्त्रिपरिषद्को २०८० वैशाख ५ गतेको बैठकले राष्ट्रिय गौरवको यस आयोजना २०८३ चैतभित्र पूरा गर्ने गरी म्याद थप गरिदिएको थियो । हालकै गतिमा काम अगाडि बढेको खण्डमा तोकिएको समयसीमाभित्र आयोजना पूरा हुनेमा सर्वत्र आंशका गर्न थालिएको छ । २०७८ जेठ २ गते ठेक्का सम्झौता भएर यस आयोजनाको निर्माण कार्य सुरु भएको थियो ।

Sharing Is Caring:

Leave a Comment