यो साता सेयर बजारमा किन खस्कियो फाइनान्स सेक्टर ?

Swastika Bhandari

४ माघ, काठमाडौं । यो साता सेयर बजार ४७ अंक अर्थात् १.७ प्रतिशत घटेको छ । गत साता २६३५ अंकमा बन्द भएको बजार यो साता २५८८ मा बन्द भयो ।

यो साता चार दिनको कारोबारमा एकदिन मात्र बजार बढेको छ । बाँकी तीन दिन बजार घटेको छ । पहिलो दिन आइतबार २५.४१ अंक र सोमबार १५.५४ अंकले बजार घट्दा बुधबार १.८३ अंकले बढेको थियो । अन्तिम कारोबार दिन बिहीबार ७.३३ अंकले बजार घटेको थियो ।

यो साता कारोबारको पहिलो दिन आइतबार ३ अर्ब ९४ करोड रुपैयाँको सेयर किनबेच भयो । दोस्रो दिन सोमबार ६ अर्ब १८ करोड, बुधबार ५ अर्ब ७८ करोड र बिहीबार ५ अर्ब ८८ करोड रुपैयाँ बराबर कारोबार भएको थियो ।

यो साता फाइनान्स सेक्टर सबैभन्दा धेरै १२.९५ प्रतिशत घट्यो । कारोबारको पहिलो दिन ३.६० अंकले घट्न सुरु गरेको फाइनान्स सेक्टर दोस्रो दिन सोमबार १.३२ अंकले घट्न पुग्यो । त्यसपछि तेस्रो दिन मंगलबार थप ३.४८ अंक हुँदै अन्तिम कारोबार दिन बिहीबार एकैचोटि ५.१९ अंकले भारी गिरावट भएको थियो ।

आइतबार ४० करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको फाइनान्स सेक्टरमा सोमबार ५१ करोड ८४ लाख, बुधबार ६८ करोड ९० लाख र अन्तिम दिन बिहीबार ८८ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

बजार दिनहुँ घटे पनि फाइनान्स सेक्टरको सेयर कारोबार रकम भने बढ्दो लयमा देखिन्छ । अघिल्लो साता फाइनान्स सेक्टर ३०३३.०४ अंकमा बन्द भएको थियो । तर, यो साता चारै कारोबार दिन गिरावट भएर अन्तिम दिन २६३९.९६ अंकमा बन्द भएको हो ।

फाइनान्स कम्पनीका लगानीकर्ताले यो क्षेत्रमा बढी जोखिम रहेको महसुस गरेर सेयर बेचिरहेको हुन सक्ने स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष्य सन्तोष मैनालीको अनुमान छ ।

विगतमा फाइनान्स उपसूचक धेरै नै बढेको थियो । तर, कर्णाली विकास बैंक समस्याग्रस्त भएपछि कमजोर फाइनान्स कम्पनीमाथि पनि अनुसन्धान भइरहेको रिपोर्टहरू आएपछि यसका लगानीकर्ताहरू आत्तिएको हुन सक्ने मैनालीले बताए ।

त्यस्तै यो साता होटल सेक्टर ०.७५ प्रतिशत, विकास बैंक समूह १.९९ प्रतिशत र व्यापार सेक्टर ०.९९ प्रतिशत र हाइड्रोपावर सेक्टर ०.१३ प्रतिशत घटेका छन् ।

होटल सेक्टर यो साता तीन दिन घटेर एकदिन मात्र बढेको छ । विकास बैंक समूह पनि तीन दिन घटेर एकदिन बढेको छ । त्यस्तै व्यापार सेक्टर भने दुई दिन बढेर दुई दिन घटेको छ ।

उता, हाइड्रोपावर सेक्टर यो साता दुई दिन बढेको छ भने दुई दिन घटेको छ । अघिल्लो साता यो सेक्टर सबैभन्दा धेरै ५.५७ प्रतिशत बढेका थियो । केही साता यो सेक्टरले बजारमा राम्रो लय समाते पनि यो साता आएर घटेको हो । कुल कारोबार रकममा हाइड्रोपावर सेक्टरको हिस्सा आधा बराबर हुने गरेको छ ।

यो साता आइतबार हाइड्रोपावर सेक्टरको कारोबार १ अर्ब ७३ करोड, सोमबार २ अर्ब ६३ करोड, बुधबार २ अर्ब ८७ करोड र अन्तिम दिन बिहीबार २ अर्ब ८० करोडको कारोबार भएको थियो ।

उता बैंकिङ उपसूचक भने पूरै साता रातो हुन पुग्यो । यो साता बैंकिङ उपसूचक ३८ अंकले अर्थात् २.७४ प्रतिशतले घट्यो । बैंकिङ सेक्टरको आइतबार १८ करोड ६८ लाख, सोमबार ४४ करोड ७३ लाख, बुधबार २९ करोड २९ लाख र बिहीबार ३५ करोड १९ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।

Sharing Is Caring:

Leave a Comment