४ माघ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना (साउन–पुस) मा करिब साढे २ खर्ब रुपैयाँ सार्वजनिक ऋण लिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पुस मसान्तसम्म सरकारले १ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । यस बीचमा ५९ अर्ब ३ करोड रुपैयाँ वाह्य ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ ।
यसरी ६ महिनामा २ खर्ब ४० अर्ब ८ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण उठाइएको कार्यालयको आँकडा छ । लक्ष्य अनुसार राजस्व उठ्न नसक्दा सरकारले ऋण तिर्न र पूँजीगत प्रकृतिको खर्चका लागि ऋणकै भर पर्नुपर्ने अवस्था छ । राजस्वले चालु प्रकृतिको मात्र खर्च धान्न सक्ने अवस्था देखिएको छ ।
२५ खर्ब ३६ अर्ब पुग्यो सार्वजनिक ऋण
नेपालको सार्वजनिक ऋणले २५ खर्ब ३६ अर्बको नेटो काटेको छ । अघिल्लो आव अन्तिम (असार मसान्त) सम्म २४ खर्ब ३४ अर्ब रुपैयाँ रहेको सार्वजनिक ऋण यस वर्ष ६ महिनामै २५ खर्ब ३६ अर्बभन्दा माथि पुगेको हो ।
कार्यालयका अनुसार चालु आव ६ महिनामा आन्तरिक ऋण १२ खर्ब ३४ अर्ब ७१ करोड र वाह्य ऋण १३ खर्ब १ अर्ब रुपैयाँ नाघेको छ ।
यसबीच सरकारले सार्वजनिक ऋण भुक्तानीमा १ खर्ब ४९ अर्ब रुपैयाँ खर्च गरेको छ । प्राप्ति साढे २ खर्ब रुपैयाँ हाराहारी गरे पनि भुक्तानी समेत करिब डेढ खर्ब पुग्दा सार्वजनिक ऋणको खुद वृद्धि भने १ खर्ब रुपैयाँमात्र रहेको छ । यसमा विनिमय दरमा आएको उतार चढावको असरले ११ अर्ब ६१ करोड दायित्व थप भएको देखिएको छ ।
यस्तो छ पुस २०८१ सम्मको सार्वजनिक ऋण विवरण
कार्यालयका अनुसार नेपालमा कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋण अब ४४.४६ प्रतिशत पुगेको छ । यसमा आन्तरिक ऋणको हिस्सा २१.६४ प्रतिशत र वाह्य ऋण जीडीपीको अनुपातमा २२.८१ प्रतिशत रहेको देखिएको छ ।
केही अगाडिसम्म आन्तरिक ऋण हिस्सा बढी रहेकोमा सरकारले बढी भुक्तानी गर्दा वाह्य ऋण जीडीपीको तुलनामा माथि रहेको देखिएको हो ।
आन्तरिक ऋण उठाइयो ५० प्रतिशतभन्दा माथि
सरकारले चालु आव कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । यसमा आन्तरिक ऋण ३ खर्ब ३० अर्ब र वाह्य ऋण २ खर्ब १७ अर्ब उठाउने लक्ष्य छ ।
पुस मसान्तसम्म उठाइएको आन्तरिक ऋण १ खर्ब ८१ अर्ब रुपैयाँ कुल लक्ष्यको ५४.८६ प्रतिशत हो । वाह्य ऋण भने लक्ष्यको २७.२० प्रतिशत मात्र उठेको छ । कुल ऋण प्राप्ति लक्ष्यको ४३.८९ प्रतिशत छ । वाह्य ऋण प्राप्ति पूँजीगत खर्चमा बढी निर्भर रहन्छ ।
ऋणको ब्याज र साँवामा कति खर्च ?
सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि सरकारले ४ खर्ब २ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । पुस मसान्तसम्म १ खर्ब ८२ अर्ब ४० करोड खर्च भइसकेको छ । यो विनियोजनको तुलनामा ४५.२८ प्रतिशत रहेको छ ।
यसबीच आन्तरिक ऋणको ब्याज भुक्तानीमा २७ अर्ब ९५ करोड र साँवा भुक्तानीमा १ खर्ब २७ अर्ब रुपैयाँ खर्च भएको छ । वाह्य ऋणको साँवा भुक्तानीमा २२ अर्ब २० करोड र ब्याज भुक्तानीमा ४ अर्ब २७ करोड खर्च भएको कार्यालयको तथ्यांक छ ।