४ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने नीति अर्थतन्त्र गतिशील बनाउने उपयुक्त नीति नभएको बताएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा पूर्वगभर्नर क्षेत्रीले राष्ट्र बैंकले ब्याजदर करिडोरमा ६ प्रतिशतभन्दा माथि अन्तर बैंकदर बनाउन नपाउने व्यवस्था गरेको समेत बताए ।
उनले त्यसलाई सहजीकरण गर्न केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता खिच्ने र बैंकहरूले ३ प्रतिशत ब्याजमा रकम लिने नीतिले अर्थतन्त्र गतिशील बनाउन नसक्ने धारणा राखे ।
उनले बैंकको खराब कर्जा बढ्दै जाँदा पछिल्लो समय उद्योगी–व्यवसायीले कर्जा पाउन नसकेको बताए । कोभिडका बेला १ प्रतिशत रहेको खराब कर्जा अहिले ६ प्रतिशत हाराहारी पुगेको बताए ।
‘पछिल्लो समय उद्योगी–व्यवसायीले कर्जा पाएनन् भन्ने छ । त्यो बैंकको खराब कर्जा बढ्दै गएको छ । कोभिडको समयमा १ प्रतिशत थियो भने अहिले ६ प्रतिशत हाराहारी पुगेको छ,’ क्षेत्रीले भने, ‘वास्तविक तथ्यांक हेर्ने हो भने १२ देखि १४ प्रतिशत पुग्छ । अहिले पत्रपत्रिकाको आधा पाना लिलामीका सूचनाले भरिन थालेका छन् । त्यसले पनि खराब कर्जा बढेको देखिन्छ । कर्जा लिएर व्यवसाय गर्दा पनि घरजग्गा बाहेक परियोजना धितोमा दिने कुरामा बैंकहरू कन्जरभेटिभ छन् ।’
उनका अनुसार धितो मूल्यांकनमा राखेर ८० प्रतिशतले गर्दा ६० प्रतिशतको कुरा आउँछ । प्रतिबद्धता अनुसार समयमा कर्जा नदिएका कारण कतिपय योजना विफल भएका छन् ।
‘चार महिनामा दुई बैंकले अर्बमा नाफा गरे भन्ने कुरा आएको छ । केन्द्रीय बैंकले पैसा बैंकहरूबाट लिएको छ । प्रत्येक साता ४० अर्ब खिचिरहेको छ । बैंकहरूले ३ प्रतिशतमा जति पैसा लिए पनि भयो, पाउँछन्,’ उनले भने, ‘त्यसले बैंकको नाफामा धेरै फरक पर्दैन । यो अवस्था अर्थतन्त्र गतिशील बनाउने उपयुक्त किसिमको नीति होइन । ठूला आयोजनामा लगानी गर्ने तर समयमा निर्माण सम्पन्न नहुँदा मुनाफा नआउने भएकाले साना आयोजनालाई प्राथमिकता दिएर जानुपर्ने भयो ।’
बैंकहरूले ठूला आयोजना भन्दा पनि साना तथा लघु र घरेलु उद्योगमा लगानी गर्न आवश्यक रहेको उनले बताए । राष्ट्र बैंकले पनि बैंकहरूलाई त्यही अनुसार नीति र निर्देशन गराउन आवश्यक रहेको बताए । उनले त्यस्ता उद्योग स्थापनामा लगानी गरे रोजगारी सिर्जना हुने वातावरण बन्ने धारणा राखे ।