किसानको काउली ‘कौडीको भाउ’, उपभोक्ता तिर्दै दोब्बर

Swastika Bhandari

२ माघ, काठमाडौं ।

झट्ट सुन्दा यो कुनै समयको चर्चित लोकदोहोरी गीतको भाखा हो । तर, यी शब्दको गहिराइको वास्तविकता मन बिझाउने खालको छ । दैनन्दिन खेतीपातीमा हाडछाला खियाउने किसानको पीडा यो भाखामा पोखिएको हो ।

दिनरात नभनी तरकारी उब्जाएर लहलहाउँदो बनाएर जब बजार पठाउने बेला आउँछ, तब त्यसले कौडीको भाउ पनि नपाउने अवस्था सिर्जना भएपछि किसानले यसैगरी खेतबारीमै पीडा र विरहको भाखा गुनगुनाउनु स्वाभाविक हो ।

उल्लिखित विरहको भाखा काभ्रेपलाञ्चोककी किसान पम्फा पराजुलीले पोखेकी हुन् । आफ्नो बारीमा लगाएको काउली काट्दै दुःख पोख्न पम्फाले यो भाखाको सहारा लिइन् ।

पम्फा अहिले आफ्नो बारीमा उत्पादन भएको झरिलो काउली दिनहुँजसो जसो क्विन्टल (१ सय किलो) भन्दा धेरै काटिरहेकी छिन् । तर, काउलीले सही भाउ पाउन सकेको छैन । उनी ठाडै घाटामा छिन् ।

उनलाई एक किलो काउली उत्पादन गर्न बीउ, मल र श्रम जोडेर २५ रुपैयाँभन्दा बढी लागत पर्न आउँछ । तर, जब काउली बजार पठाउन तयार भयो, तब किलोको ५ देखि ८ रुपैयाँमा बेच्नुपरेपछि उनी दुःखको सीमा छैन ।

त्यस्तै काभ्रेकै मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान सुमन पराजुलीले केही दिनअघि ५ सय किलो काउली बेचे । तर, उनी पनि घाटामा छन् । उनले काउली खेतीमा गरेको लगानी उठ्न सकेन ।

‘यो सिजनमा भाउ नै नआए पनि किलोको ३० रुपैयाँ कटेको भए अलि–अलि लगानी उठ्थ्यो,’ सुमन भन्छन्, ‘तर, अब त्यो पनि नभएपछि कसैले सुकाएर सुकुटी बनाउन थालेका छन् भने कोही काउली सहित बारी जोत्ने तर्खरमा छन् ।’

उनका अनुसार ५ कठ्ठा काउली खेतीले यो पटक भाउ नपाएपछि काभ्रेका उनीजस्ता थुप्रै किसान निराश छन् । यसो त काउली किसानले भाउ नपाएको गुनासो देशभरिबाट आउन थालेको छ ।

काउली किसानले मूल्य नपाएको गुनासो गरिरहँदा काठमाडौं उपत्यकाका उपभाक्ताले भने किसानले पाउने भन्दा दोब्बर महँगो तिरेर किनिरहेका छन्

‘२०–२५ किलोको झोलामा काउली प्याक गरेर हेटौंडा बजारको सब्जीमन्डी पठाएको तर नबिकेपछि उल्टै पैसा तिरेर फोहोरमा फाल्नुपर्‍यो,’ मकवानपुर हाँडीखोलाका किसान बुद्धराज मोक्तान दुखेसो पोख्छन् । काउली खेतीले यो पटक कमाउने भन्दा पनि लगानी नै जोगाउन नसक्ने अवस्था सिर्जना भएको उनको पीडा छ ।

‘यही अवस्थामा किसानले कसरी खेती गर्नु ? लगानी पनि उठ्दैन झन् किसानले गरेको मिहिनेत, पसिनाको पैसा त कता हो कता !,’ मोक्तान दुःख सुनाउँछन्, ‘२–३ किलो तौलको सेतो काउली छप्प काटेर गोरुलाई खुवाउनु परेको छ ।’

काभ्रेका अगुवा किसान सुमन नेपालका अनुसार काभ्रेका किसानलाई तरकारीको बजार अभाव नहुने भए पनि यसपालि समस्या देखिएको छ ।

चण्डेनी मण्डन साना किसान सहकारी संस्थाका अध्यक्ष समेत रहेका नेपाल भन्छन्, ‘अन्य जिल्लामा समस्या हुँदा पनि धादिङ र काभ्रेका किसानलाई तरकारी बजारको समस्या हुँदैन थियो । तर, यसपालि किसानको उत्पादन बजारमा विक्री हुन गाह्रो भएको छ ।’

तर, तरकारीले बजार नपाउनुमा किसानले पनि क्यालेन्डर मिलाउन नसकेको तर्क उनको छ ।

‘अहिले एकैचोटि तरकारी निस्किनुमा क्यालेन्डर नमिलाइ रोप्नु पनि हो । बीउ राख्ने बेला नै ग्याप गरेर राखेको भए एकैचोटि काउली फुल्दैन थियो,’ उनी भन्छन्, ‘अहिले गाउँभरि काउली फुलेको छ । भाउ छैन, भोलि, पर्सि भाउ आउँछ तर तरकारी हुँदैन ।’

स्थानीय सरकारहरूले कोल्डस्टोर बनाइदिएको भए काउलीको सिजन लम्ब्याउन सकिने उनको भनाइ छ ।

‘अहिले एकैचोटि बजार नपठाएर कम्तीमा १५ दिन अड्याउन सके अलि–अलि भाउ आउँथ्यो । यहाँ स्टोर गर्ने ठाउँ छैन । बरु अब सिन्की बनाउने, गुन्द्रुक बनाउने तर्फ किसानले सोच्नुपर्छ,’ उनी थप्छन् ।

उपभोक्ता दोब्बर तिर्दै

काउली किसानले मूल्य नपाएको गुनासो गरिरहँदा काठमाडौं उपत्यकाका उपभाक्ताले भने किसानले पाउने भन्दा दोब्बर महँगो तिरेर किनिरहेका छन् ।

मंलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार स्थानीय काउली प्रतिकिलो २५ रुपैयाँ, ज्यापु काउली ३० रुपैयाँ र तराई काउली २० रुपैयाँ छ । थोक मूल्यभन्दा औसतमा १५ रुपैयाँ बढीमा उपभोक्ता काउली किन्न बाध्य छन् ।

यता, राष्ट्रिय कृषक समूह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारीले सिजनमा उत्पादन हुँदा काउलीले मूल्य नपाएको बताए ।

‘अहिले काउलीको सिजन नै हो । फेरि, यो बेला चाडपर्व लक्षित गरेर आयात पनि हुन सक्छ । त्यही भएर यस्तो भएको हो । यसको समाधान कोल्ड स्टोर र सरकारको अनुगमन पनि हो,’ उनले भने, ‘सिजन अनुसार मूल्य कम हुनु स्वाभाविक हो तर थोरै मूल्य पाउनु चाहिँ बिचौलियाको कारण पनि हो । उपभोक्ताले ४० रुपैयाँ किलो तिर्नुपरिरहेको छ । तर किसानले १० रुपैयाँ पनि पाउँदैनन्, त्यही भएर किसान धेरै निराश भएका हुन् ।’

Sharing Is Caring:

Leave a Comment