माघ २, २०८१
काठमाडौँ — वर्णबास म्युजियम होटलले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने भएको छ । होटलको पहिलो वार्षिक साधारणसभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको हो । वर्णबास काठमाडौंमा अवस्थित पाँचतारे बुटिक लक्जरी होटल हो । आफ्नै जग्गामा निर्मित वर्णबासले विश्वस्तरीय पूर्वाधार र सांस्कृतिक महत्त्वलाई संयोजन गरेको जनाएको छ ।
होटलले नेपालको क्षेत्रीय, सांस्कृतिक र भौगोलिक प्रतिनिधित्व गरेको छ । यसको शिरमा सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल देखिन्छन् । होटललाई हिमाल, पहाड र तराईमा वर्गीकरण गरिएको छ । हिमाललाई शेर्पा संस्कृति, पहाडलाई गोर्खा बहादुरी र तराईलाई थारू कला झल्कने गरी डिजाइन गरिएको छ । कला र संस्कृतिको झल्को दिन प्रत्येक कोठालाई हिमाल, पहाड, र तराईका गाउँका नामबाट चिनाइएको छ ।
होटलले नेपाली लगानीकर्ताका लागि सांस्कृतिक रूपमा प्रतीकात्मक र आर्थिक रूपमा सुरक्षित सम्पत्तिमा लगानी गर्ने अवसर प्रदान गरेको जनाएको छ । ‘पुँजीबजार पुँजी जुटाउने प्रभावकारी माध्यम हो, जसले दीर्घकालीन आर्थिक
वृद्धिमा योगदान दिन सक्छ । तर यसको अड्कलबाजी स्वभावलाई नियन्त्रण नगर्दा यो छोटो समयको नाफामा मात्र सीमित हुन सक्छ,’ होटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अर्थतन्त्रको दिगो विकासका लागि वास्तविक व्यापार, बलियो आधारभूत संरचना र दीर्घकालीन दृष्टिकोणमा आधारित कम्पनीहरूले प्राथमिकता पाउनुपर्छ ।’
पुँजी बजारले अड्कलबाजीभन्दा पर वास्तविक व्यापारिक आवश्यकतासँग मेल खाएमा दिगो आर्थिक वृद्धिको उपकरणका रूपमा काम गर्न सक्ने होटलले जनाएको छ ।