१ माघ, काठमाडौं । आर्थिक तथा व्यावसायिक वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएका अध्यादेश सकारात्मक र दुरगामी महत्त्वको रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
सार्वजनिक सेवा सुधार गर्दै व्यावसायिक वातावरण र लगानी अभिवृद्धिका लागि कानुनमा संशोधन गर्न सरकारले ल्याएको अध्यादेश सकारात्मक रहेको चेम्बरले उल्लेख गरेको छ ।
चेम्बरले जारी गरेको विज्ञप्तिमा छ, ‘सार्वजनिक सेवा सुधार र आर्थिक तथा व्यावसायिक वातावरण एवं लगानी अभिवृद्धि गर्न अध्यादेश आएको छ, यसले मुलुकको आर्थिक वातावरणमा सुधार र लगानी अभिवृद्धि हुने विश्वास छ ।’
अर्थतन्त्र सुधार एवं लगानीमैत्री वातावरणका लागि चेम्बरले कानुनी पाटो सुधार गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको समेत जनाएको छ । वर्तमान अर्थतन्त्रको अवस्था सुधार गर्न सरकार प्रतिबद्ध रहेको देखिएको चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले बताए ।
रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताको प्रस्ताव ७ दिनमै स्वीकृत हुने अध्यादेशमा उल्लेखित व्यवस्थाको चेम्बरले स्वागत गरेको छ । यसले मुलुकभित्र लगानीको राम्रो वातावरण रहेको सन्देश जाने अध्यक्ष अग्रवालले बताए । ‘चेम्बरले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि लगानी सम्मेलनका क्रममा उठाएको इजी इन्ट्री र इजी एक्जिटको विषय सम्बोधन भएको छ,’ उनले भने ।
सूचना प्रविधि उद्योगले विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने अध्यादेशमा उल्लेखित प्रावधान यस क्षेत्रको विकासका लागि कोशेढुंगा भएको चेम्बरको ठहर छ ।
आर्थिक तथा व्यावसायिक वातावरण सुधार एवं लगानी अभिवृद्धि सम्बन्धी अध्यादेशबाट विभिन्न ११ र सुशासन प्रर्वद्धन तथा सार्वजनिक सेवा सम्बन्धी अध्यादेशबाट १३ कानुन संशोधन हुनु अर्थतन्त्रको दिगो विकासका लागि महत्त्वपूर्ण भएको चेम्बरले उल्लेख गरेको छ ।
जग्गाबाहेक स्थिर सम्पत्ति वा सम्झौता धितो राखेर पनि ऋण लिन सकिने व्यवस्थाले अर्थतन्त्र र वित्तीय क्षेत्र चलायमान बनाउन सहयोग पुग्ने चेम्बरले विश्वास लिएको छ । बैंक तथा वित्तीय क्षेत्रमा अधिक तरलता रहेका सन्र्दभमा अध्यादेशमा उल्लेखित प्रावधानले केही सहजता प्रदान गर्ने अध्यक्ष अग्रवालले बताए ।
विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगलाई प्राथमिकतामा राख्नु पनि चेम्बरले महत्त्वपुर्ण कदम भनेको छ । विशेष आर्थिक क्षेत्र ऐन २०७३ संशोधन गरी सेजका उद्योगीलाई ७५ प्रतिशत निर्यात गर्ने बाध्यात्मक अवस्था अन्त्य हुनुलाई सकारात्मक लिएको चेम्बरले जनाएको छ । सेवा क्षेत्रलाई पनि सेजमा आबद्ध गर्ने गरी अध्यादेशमा उल्लेखित व्यवस्थाले सेजमा निजी क्षेत्रलाई सहजीकरण गर्न खोजिएको चेम्बरले जनाएको छ ।
हाल सञ्चालनमा रहेका उद्योग सेजमा सारिए कर छुट दिइने व्यवस्थाको स्वागत गर्दै चेम्बरले आन्तरिक उत्पादनदेखि बजारीकरणसम्म सहज हुने अपेक्षा समेत गरेको छ ।
यस्तै, विवरण नबुझाएका कारण कम्पनीलाई लाग्ने जरिवानामा ९० प्रतिशतसम्म छुट दिन अध्यादेशमा गरिएको व्यवस्थालाई पनि चेम्बरले स्वागत गरेको छ । यसले औद्योगिक वातावरण केही सहज हुने चेम्बरले उल्लेख गरेको छ ।
अर्थतन्त्रको शिथिलता अन्त्य गर्न अध्यादेश महत्त्वपूर्ण भएको भन्दै संसद्को हिउँदे अधिवेशनबाट अध्यादेश टुंग्याउनसमेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ ।