२९ पुस, काठमाडौं । आगामी माघका लागि अधिकांश वाणिज्य बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । २० मध्ये १८ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिँदै आएको अधिकतम ब्याजदर यथावत राखेका छन् ।
नेपाल एसबीआई र कृषि विकास बैंकले भने ब्याजदर घटाएका छन् । नेपाल एसबीआईले पुसमा ६ प्रतिशत रहेको ब्याजदर माघका लागि अधिकतम ५.५ प्रतिशत कायम गरेको हो ।
यस्तै कृषि विकास बैंकले पुसमा ५.५७ प्रतिशत रहेको ब्याजदर माघका लागि ५.५१ प्रतिशत कायम गरेको हो । माघमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिने बैंकमा एनएमबी र एनआईसी एसिया छन् । दुवै बैंकले ६.६ प्रतिशत ब्याजदर दिने भएका हुन् ।
आर्थिक वर्ष तेस्रो त्रैमासदेखि ब्याजदर केही परिवर्तन हुने अपेक्षा भए पनि बैंकहरू तत्काल ब्याजदर बढाउने पक्षमा नरहेको देखिन्छ । अहिले पनि बैंकिङ प्रणालीमा ३ खर्बभन्दा धेरै अधिक तरलता भएर राष्ट्र बैंकले प्रशोचन गर्नुपर्ने अवस्था छ ।
कर्जा मागमा ठूलो परिवर्तन भएको र दुई महिनापछि सरकारले पूँजीगत खर्च बढाउँदै जाँदा निक्षेपमा थप बढ्ने भएकाले चालु आव ब्याजदर बढी हाल्ने अवस्था नरहेको बैंकर बताउँछन् ।
पुस मसान्तमा आयकरको पहिलो किस्ता भुक्तानी गर्दा केही तरलता बाहिरिने तथा ब्याज तिर्नुपर्ने जस्ता कारण कर्जामा केही वृद्धि देखिए पनि नयाँ माग सिर्जना हुन नसकेको एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ बताउँछन् ।
‘भारतमा पाम तेल लगायतको निर्यात सुरु भएकाले त्यसमा केही कर्जा माग बढेको छ । त्यसबाहेक निर्माणको समय भएकाले हाइड्रोपावरमा केही कर्जामा माग देखिन्छ,’ उनले भने, ‘माघमा कर्जाको मागले कस्तो अवस्था देखाउँछ । त्यसले आगामी दिनमा ब्याजदर के हुन्छ भन्ने निर्धारण गर्छ । रेमिट्यान्समा कमी आउँदा पुसमा निक्षेप अपेक्षाकृत बढ्न भने सकेको छैन ।’
माघमा पनि कर्जाको मागमा ठूलो परिवर्तन नदेखिए ब्याजदर बढी हाल्ने अवस्था भने नरहेको उनले बताए ।