पुस २८, २०८१
सुर्खेत — केही समयअघि डोल्पा पुगेका वरिष्ठ नेत्र शल्यचिकित्सक डा. सन्दुक रुइत पर्यटनको सम्भावना देखेर दंग परे । डोल्पालीका आँखा जाँच गर्न शिविरको नेतृत्व गरी त्यहाँ पुगेका उनले स्थानीयमाझ शे–फोक्सुन्डो क्षेत्रलाई ‘युनेस्को हेरिटेज साइट’ का रूपमा विकास गर्न सकिने उपाय सुनाए ।
‘स्थानीयलाई अपनत्व र अधिकार दिएर युनेस्को हेरिटेजमा पेस गर्न राज्यले पहल थाल्नुपर्छ,’ उनले भने, ‘बोन र बुद्धिजम दुवै मिश्रित भएको स्थान हो डोल्पा । नेपालमा बिरलै स्थानमा पाइने जीवजन्तु डोल्पामा पाइन्छन् ।’
डा. रुइतका भनाइमा डोल्पामा आँखाले हेर्न, मनले सोच्न र कानले सुन्ने, नाकले बासना लिने अलौकिक प्राकृतिक वस्तु छन् । फोक्सुन्डोमा ‘फिरोजा रंग’ देख्न सकिन्छ । यसका लागि पर्यटन मन्त्रालयले चासो दिएर युनेस्को हेरिटेजमा प्रस्ताव लैजानुपर्ने उनी बताउँछन् । यसका लागि शे–फोक्सुन्डो गाउँपालिकाले पनि केही प्रयास पनि थालेको छ । शे–फोक्सुन्डोलाई विश्व मानवचित्रमा राख्न पुरातत्त्व विभागसँग समन्वय गरिरहेको गाउँपालिका अध्यक्ष धावा सम्डुक गुरुङले जनाए ।
विकट उच्च हिमाली जिल्ला डोल्पामा काम विशेष या घुमफिर गर्ने उद्देश्यले सयौं पर्यटक पुग्छन् । उनीहरू त्यहाँको पर्यापर्यटन, हिमाली जीवनशैली, संस्कृति देखेर मोहित हुन्छन् । डोल्पामा चालु आर्थिक वर्षमा मात्रै १ हजार ८ सय २२ नेपाली, २० जना सार्क मुलुकका र सार्कबाहेकका ३ सय २३ विदेशी पर्यटक आएको प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले बताएको छ ।
२०७६/७७ देखि डोल्पामा १६ हजार ४ सय १४ जना पर्यटक भित्रिएको तथ्यांक छ । यसबाट ठूलो रकम रोयल्टी संकलनसमेत भएको छ । भौगोलिक रूपले विकट भए पनि रारा ताल र शे–फोक्सुन्डो, त्रिपुरासुन्दरी मन्दिर दर्शन गर्न देशविदेशबाट मुगु र डोल्पा पुग्छन् ।
रारा राष्ट्रिय निकुञ्जभित्र अवस्थित रारा तालमा चालु आर्थिक वर्षको हालसम्म नेपाली १७ हजार २ सय ९७ र विदेशी ३ सय २३ जना पर्यटक भित्रिएका छन् । रारा भन्नेबित्तिकै कर्णालीकै पर्यायका रूपमा चिन्ने पनि धेरै छन् । सडक र हवाई यातायातबाट मुगु सदरमुकाम गमगढी हुँदै रारा ताल पुगिन्छ । यातायात सञ्जालको विकासका कारण रारामा वर्षेनि पर्यटकको संख्या बढ्दो छ । रारा र शे–फोक्सुन्डो अवलोकनमा आउने पर्यटकको संख्या बढ्दो क्रममा छ ।
तिब्बत क्षेत्रमा अवस्थित धार्मिक स्थल मानसरोवरको टाढैबाट दर्शन गर्न हिन्दु धर्मावलम्बी हुम्लाको लिमी लाप्चा क्षेत्रमा पुग्छन् । मानसरोवरका कारण हुम्ला सदरमुकाम सिमकोटमा चहलपहल बढाएको छ । सहजै तिब्बत जान नसक्नेले हुम्लाको लिमी लाप्चाबाट कैलाश दर्शन गर्छन् । २०७९ यता झन्डै २५ सय विदेशी पर्यटक कैलाश दर्शन गर्न हुम्ला पुगेका थिए ।
कैलाश मानसरोर दर्शन गर्न पर्यटन पूर्वाधारमा जोड दिए विदेशी पर्यटकको घुइँचो लाग्ने हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय बताउँछन् । ‘सुर्खेतबाटै हुम्ला पुगेर मानसरोवर पुग्ने वातावरण बनाउन सरकारले पहल गर्नुपर्छ,’ उनी भन्छन्, ‘यहाँको सडक केन्द्रीय सडक सञ्जालसँग जोडिएको भने पनि अझै पुग्न सकेको छैन ।’
रारा र शे–फोक्सुन्डो, लिमी, धो उपत्यका कर्णालीका हिमाली गन्तव्य हुन् । प्रदेश राजधानी सुर्खेतदेखि सल्यानको कुभिन्डे दह, दैलेखको पञ्चकोशी तीर्थस्थल र जुम्ला–सिँजा पुग्ने पर्यटकको संख्या बढ्दो छ । यस वर्ष पञ्चकोशी आउने पर्यटकको संख्या बढ्नुका पछाडि पेट्रोलियम अन्वेषण परियोजना पनि भएको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ । सुर्खेतको काँक्रेविहार र बुलबुले ताल प्रमुख आकर्षक हुन् । काँक्रेविहार जीर्णोद्धारपछि व्यवस्थित बनेको छ ।
बुलबुले तालको आकार बढाएर मोटरबोट सञ्चालनमा ल्याएपछि यो पर्यटकको रोजाइ बनेको छ । काँक्रेविहार र बुलबुलेमा वार्षिक झन्डै २ लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । कर्णालीमा हुम्ला सदरमुकामबाहेक सबै जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । कर्णालीमा सुर्खेत, डोल्पा, मुगुको ताल्चा, जुम्ला र सिमकोट विमानस्थल चालू अवस्थामा छन् । सडकका साथै नेपालगन्ज र सुर्खेतको हवाईमाध्यमबाट समेत हिमाली जिल्ला पुग्न सकिन्छ ।
प्रदेश राजधानीमा विभिन्न कामको सिलसिलामा आउनेहरूको प्रमुख रोजाइ बन्छन्, वीरेन्द्रनगरका पर्यटकीय स्थल । यहाँ सहिद पार्क, घण्टाघर, देउतीबज्यै, गढी पर्यटकका मुख्य गन्तव्य हुन् । सुर्खेत हुँदै दैलेख सदरमुकामस्थित कोतगढी, बेलासपुर मन्दिर, पञ्चदेवल, शिरस्थान, नाभीस्थान, कोटिला, धुलेश्वर, पादुका मुख्य पर्यटकीय स्थल छन् । चीन सरकारको सहयोगमा खानी तथा भूर्गभ विभागले दैलेखको जलजलेमा पेट्रोलियम अन्वेषण परियोजना सञ्चालनमा ल्याएपछि दैलेखको पञ्चकोशी क्षेत्रमा पर्यटकीय चहलपहल बढेको छ ।
‘संघीयतापछि दैलेख सदरमुकाम सुनसान हुन थालेको थियो, पेट्रोलियम अन्वेषण परियोजना सञ्चालनमा आएपछि परियोजना हेर्न आउने आन्तरिक पर्यटकको संख्या पनि धेरै छ,’ दैलेख सदरमुकामस्थित होटल पार्क इनकी सञ्चालक बासना थापा भन्छिन्, ‘यसले व्यापारिक चहलपहल बढाएको छ, यो स्थान नयाँ गन्तव्य बन्न पुगेको छ ।’
कर्णाली राजमार्गको कालीकोट हुँदै जुम्ला पुग्ने पर्यटकको मुख्य रोजाइ बन्ने गरेको छ, सिँजा उपत्यका । नेपाली भाषाको उद्गम स्थल रहेको यो क्षेत्रमा खसआर्य समुदायको आदिभूमिका रूपमा चर्चित छ । आफ्नो पुर्ख्यौली थलो हेर्न थुप्रै खस नेपालीभाषी सिँजा पुग्छन् । पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकासले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन संख्या बढ्दो अवस्थामा रहेको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले जनाए ।
प्रदेशको पर्यटन मन्त्रालयले सल्यानको कुभिन्डे दह, डोल्पाको शे–फोसुन्डो राष्ट्रिय निकुञ्ज, त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र, जुम्लाको सिँजा सभ्यता, डुडुल स्तूप, हुम्लाको लिमी उपत्यका, मुगु राराताल, कालीकोटको पचाल झरना, जाजरकोट दरबार, दैलेखको पञ्चकोशी पर्यटन क्षेत्र, कोतगडी सुर्खेतको बुलबुले ताल, काँक्रेविहार, गढी र रुकुम पश्चिमको गोतामेकोट, चित्रिपाटन साहसिक पदमार्गलगायतलाई मुख्य पर्यटकीय स्थलका रूपमा वर्गीकरण गर्नुका साथै पर्यटन पूर्वाधारका योजना सञ्चालन गरिरहेको छ ।
कर्णालीमा आउने ६० प्रतिशत पर्यटक बिदा वा फुर्सद मनाउन आउने गर्छन् भने १६ प्रतिशत धार्मिक भ्रमणमा आउने मन्त्रालयले जनाएको छ । बोन, बौद्ध र खस (हिन्दू) धर्मको दृष्टिबाट कर्णाली प्रदेशको पर्यटनका लागि ऐतिहासिक र पुरातात्त्विक विषय महत्त्वपूर्ण मानिन्छ । नेपालका नौवटा बौद्ध परिपथमध्ये दुईवटा कर्णाली प्रदेशबाट छानिएको थियो ।
दुई परिपथ बौद्ध र बोन तीर्थस्थललाई जोड्ने गरी कैलाश जनो ॐ मणि पद्मे हुँ परिपथ (लुम्बिनीलाई काँक्रेविहार, दुल्लु, सिँजा हुँदै कैलाश जोड्ने) डोल्पो बौद्ध र बोन सम्पदा परिपथ छन् । कर्णाली प्रदेश बौद्ध, बोन र खस धर्मको अनुसरण गर्ने अभ्यासकर्ताका लागि पनि दर्शनीय क्षेत्रका रूपमा चिनिन्छ ।
होटल व्यवसायमा लगानी बढ्दो
कर्णालीमा पर्यटन विकासका कारण चिया पसलदेखि तारे होटलमा लगानी बढ्दो छ । वीरेन्द्रनगरमै ठूला र मध्यमस्तरका होटल खुल्ने क्रम बढ्दै छ । राराको मुर्माटपमा गैरआवासीय नेपालीको सहकार्यमा आईएमई समूहले १ अर्ब १० करोड लगानीमा होटलका संरचना बनाइरहेको छ । कर्णाली राजमार्ग आसपासमा पनि होटल खोल्ने क्रम बढ्दो छ ।
जुम्लामा पनि पौवा, भ्यालीभ्युले आफ्नो शाखा विस्तार गरेका छन् । नयाँ–नयाँ होटल खुल्दा स्थानीय युवाले रोजगारीका अवसर पाएका छन् । कर्णालीमा रैथाने बालीको उत्पादनपछि छिटो प्रतिफल दिने र छिटो रोजगारी सिर्जनासँगै अर्थतन्त्रमा टेवा पुर्याउने क्षेत्र पर्यटन रहेको प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाही बताउँछन् । पर्यटनको क्षेत्रमा ठूलो सम्भावना भए पनि आवश्यक पर्ने पूर्वाधार नबन्दा पछि परेको अध्यक्ष शाहीको भनाइ छ ।
‘कर्णालीलाई आर्थिक हिसाबले चलायमान गराउन सकिन्छ भने पर्यटन पूर्वाधार बनाउन आवश्यक छ,’ उनले भने, ‘पर्यटन पूर्वाधार बने विभिन्न देशको लगानी कर्णालीको पर्यटन क्षेत्रमा हुन्छ । यहाँबाट ठूलो राजस्व उठाउन सकिन्छ ।’ सुर्खेतमा सिद्धार्थ, शुभ, भ्यालीभ्यु, नमस्ते नेपाल, डिनमस्तेजस्ता ठूला होटल छन् भने दर्जनौं स्तरीय रेस्टुराँ खुलेका छन् ।
यसले स्थानीय उत्पादनको खपत बढ्नुका साथै युवाले घरआँगनमै रोजगारी पाएको होटल व्यवसायीहरूको दाबी छ । कर्णालीमा सडक सञ्जालको विस्तार र पर्यटन प्रवर्द्धनका विभिन्न क्रियाकलापले चहलपहल बढ्नुका साथै व्यापार व्यवसाय फैलिएको स्थानीय बताउँछन् ।
२०८१/८२ को मंसिरसम्म डोल्पास्थित शे–फोक्सुन्डो अवलोकनबाटै ११ लाख ८१ हजार २ सय रुपैयाँ रोयल्टी संकलन भयो । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले नेपाली पर्यटकका लागि १ सय र विदेशीका लागि १५ सय रुपैयाँ टिकट शुल्क निर्धारण गरेको छ ।
भौगोलिक रूपले विकट र कठिनाइ भए पनि हिमाली पदमार्ग र शे–फोक्सुन्डो तालको अवलोकन गर्न वर्षेनि ठूलो संख्यामा पर्यटक डोल्पा पुग्छन् । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार २०७६/७७ देखि हालसम्म रोयल्टीबापत् ६८ लाख ६४ हजार रकम संकलन भएको छ । यस अवधिमा १६ हजार ४ सय १४ पर्यटक भित्रिएका छन् ।
मन्त्रालयका अनुसार रारामा २०७६/७७ यता ७८ हजार ९ सय ४४ जना पर्यटकबाट १ करोड ३० लाख २७ हजार ४ सय रोयल्टी संकलन भयो । काँक्रेविहारमा २०७६ सालयता ५५ लाख ७५ हजार ५ सय २० रुपैयाॅ र बुलबुलेमा २०७६/७७ यता करिब १५ हजार पर्यटकबाट २ करोड २७ लाख ४९ हजार रोयल्टी संकलन भएको वीरेन्द्रनगर नगरपालिकाका राजस्व शाखाका आन्तरिक लेखापरीक्षक पुष्पकेशर खनालले जनाए ।
पर्यटकीय स्थलबाट प्राप्त राजस्व नगरको आम्दानीको मुख्य स्रोत बनेको खनालको भनाइ छ । तर संकलित राजस्व सम्बन्धित स्थानीय तह र संघीय निकायले नै संकलन र उपयोग गर्ने गरेका छन् । प्रदेशअन्तर्गतका पर्यटकीय स्थलबाट प्रदेश सरकारले अहिलेसम्म राजस्व संकलन गर्न सकेको छैन । पर्यटन क्षेत्रबाट संकलित राजस्व प्रदेश सरकारले उपयोग गर्न नपाएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहको भनाइ छ । ‘अहिले उठेको राजस्व स्थानीय र संघीय सरकारका नाममा गइसकेको छ,’ उनी भन्छन्, ‘पर्यटन क्षेत्रबाट उठेको राजस्वबाट प्रदेशले लाभ लिन सकेको छैन ।’
होटल, पर्यटन व्यवसायबाट स्थानीय स्तरमा उत्पादन र युवालाई रोजगारीमा जोडे पनि त्यसबाट प्रत्यक्ष लाभ प्रदेश सरकारले लिन नसकेको शाहले बताए । स्थानीय तहबाट व्यवस्थापन गरिएका पर्यटकीय क्षेत्रबाट प्राप्त आम्दानी स्थानीय तहले संकलन गर्ने गरेको र निकुञ्जभित्र सञ्चालित पर्यटकीय क्षेत्रबाट प्राप्त आम्दानी संघीय सरकारका निकायले उठाउने गरेका छन् । कर्णालीमा रारा र शे–फोक्सेन्डो राष्ट्रिय निकुञ्जबाट संकलित राजस्व संघीय सरकारमा जम्मा हुने गर्छ ।