कृषि र औषधीय वनस्पतिको व्यवसायमा सहजीकरणको सहमति

Swastika Bhandari

पुस २८, २०८१

काठमाडौँ — नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठकले दुई देशबीच कृषि र औषधीय वनस्पतिसम्बद्ध व्यवसायमा सहजीकरण गर्ने सहमति गरेको छ । काठमाडौंमा सम्पन्न बैठकले शनिबार जलविद्युत्, नवीकरणीय ऊर्जा, सौर्य, वायुलगायत परियोजनामा सहकार्य गर्ने विषयमा समेत सहमति गरेको नेपाल उद्योग वाणिज्य महासंघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

‘स्वच्छ ऊर्जा प्रवर्द्धन, पर्यटन र कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाई उच्च बिउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिहरूमा अनुसन्धान र व्यवसायीकरणको सहकार्य, डिजिटल प्रविधि र स्टार्टअप सहयोगलगायत विषयमा आवश्यक सहजीकरण गर्ने सहमति भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उक्त अवसरमा दुवै देशले व्यापारमा देखिएका समस्या समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । बैठकमा भएका सहमतिका विषयलाई नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ ।

दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले बसेको बैठकमा नेपाल र भारतका प्रतिनिधि सहभागी थिए । भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको उल्लेख गर्दै जेबीएफको मिटिङमा भएका सहमतिलाई दुवै पक्षले कार्यान्वयनमा लैजानुपर्नेमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जोड दिए । सोही अवसरमा भारतका वाणिज्य सचिव सुनिल बर्थवालले जेबीएफमा उठेका एजेन्डा कार्यान्वयनका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिबद्धता जनाए ।

नेपाल र भारतबीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको र दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यावहारिक समाधान खोजेर अघि बढ्नुपर्नेमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले जोड दिए ।

Sharing Is Caring:

Leave a Comment