‘निगमले इन्धन मात्रै बेचेर रमाउने दिन धेरै रहँदैन’

Swastika Bhandari

पुस २७, २०८१

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमका कर्मचारीले काममा तत्परता नदेखाएको बताएका छन् । ५५ वर्षदेखि इन्धन मात्रै बेच्दै आएको निगमले व्यवसायमा विविधीकरण नगरे निगमको अस्तित्व नै संकटमा पर्न सक्ने उनले उनको भनाइ छ । 

ऊर्जा क्षेत्रमा नयाँ विकल्प प्रयोगमा आइरहेको अवस्थामा अब तेल मात्रै बेचेर रमाउने अवस्था नरहेको मन्त्री भण्डारीको तर्क छ । कर्मचारीहरूले विविधीकरणमा जानुपर्नेमा तत्परता नदेखाएको उनको दाबी छ ।

‘५५ वर्षदेखि निगमले तेल बेच्ने मात्रै काम गर्‍यो, तेल मात्रै बेचेर रमाउने दिन धेरै रहँदैन । यस अवधिमा निगमको प्रबन्धपत्रले निर्देशित अन्य काम पनि गर्नुपर्थ्यो,’ निगमको ५५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले कर्मचारीप्रति कटाक्ष गरे, ‘गर्नुपर्ने काम धेरै छन्, भौतिक संरचना निर्माण र व्यवसाय विस्तारका काम धेरै छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपो सार्ने कामसमेत अपेक्षित ढंगले अघि बढेको छैन । निगमभित्र उच्च पदमा रहेका कर्मचारी औंलामा गन्न सकिन्छ तर परिमाण देखिने गरी काम गर्ने तत्परता कसैले देखाएनन् ।’

घना बस्तीमा रहेका जोखिमयुक्त डिपो स्थानान्तरण गर्नुपर्ने भए पनि कर्मचारीले तत्परता नदेखाएको मन्त्री भण्डारीको भनाइ छ । पेट्रोलियम पदार्थमा इथानोल मिसाएर प्रयोग गर्ने, घरायसी प्रयोजनका ग्यास सिलिन्डरमा मात्रै अनुदान दिने तथा पाइप लाइनबाटै ग्यास आपूर्ति गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेर आवश्यक काम गरिरहेको उनले जनाए । दैलेखमा पेट्रोलियम उत्खननका लागि अध्ययन चलिरहेकामा त्यहाँ पेट्रोलियम पदार्थ रहेकाबारे सकारात्मक प्रतिवेदन आएको उद्योगमन्त्री भण्डारीले बताए ।

उद्योग सचिव कृष्णबहादुर राउतले पनि निगमको क्षमता विस्तार तथा व्यापार विविधीकरणमा जोड दिनुपर्ने जनाए । भण्डारण क्षमता बढाउने, पाइप लाइन विस्तार तथा गुणस्तरीय पेट्रोलियम पदार्थको सहज उपलब्धताका लागि निगमको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ । नवीनतम प्रविधिको प्रयोग गर्दै निगमको प्रणालीलाई थप प्रविधियुक्त र व्यवस्थित बनाइने निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए । हरित तथा स्थायी ऊर्जाका स्रोत प्रवर्द्धनमा निगमले काम गर्ने उनले प्रतिबद्धता जनाए ।

बिटुमिन, लुब्रिकेन्ट्स, प्लास्टिक चिप्स, ग्रिज, ग्रानुअल्सलगायत वस्तुको व्यापारका लागि निगमले जोड दिइरहेको भट्टको दाबी छ । ‘काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा हाइड्रोजन ऊर्जाको विकास र प्रयोगका लागि काम गरिरहेका छौं । यस्ता कार्यबाट निगमको व्यापारमा विविधीकरण आउने अपेक्षा छ,’ भट्टले भने, ‘यीबाहेक भण्डारण क्षमता, पाइपलाइन विस्तार, डिपोको आधुनिकीकरणका साथै मानव संशाधनका क्षेत्रमा विकास तथा सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेका छौं ।’

२०७१ सालदेखि लागू गरिएको स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुधार आएको भट्टले जनाए । २०७६ बाट सञ्चालनमा आएको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनको प्रयोगले डिजेलको आपूर्ति–वितरणमा सुधारसँगै बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ सस्तो परेको उनको भनाइ छ ।

‘उद्योगमन्त्रीज्यूको निर्देशनमा सिनामंगल हवाई इन्धन डिपो स्थानान्तरण गर्ने कार्य सुरु भएको छ । धनगढीमा डिपो स्थानान्तरणका लागि जग्गा प्राप्ति गर्ने कार्य जारी छ,’ भट्टले भने, ‘पेट्रोलमा इथानोल मिश्रण गर्ने कार्यविधि तयार गर्ने, ग्यासमा घरायसी र व्यावसायिक प्रयोगमा फरक मूल्य कायम गर्ने कार्य पनि सुरु गरेका छौं ।’ यीबाहेक मोतिहारी–सर्लाही एलपीजी पाइप लाइन तथा सर्लाहीमा एलपीजी भण्डारण गृह निर्माण कार्य गर्ने उनले बताए । हरित हाइड्रोजन फ्युलको व्वसायीकरण गर्न केयूसँगको सहकार्यलाई निरन्तरता दिइएको उनले बताए ।

Sharing Is Caring:

Leave a Comment