पुस २७, २०८१
लुम्बिनी — सन् २०२४ मा भारतसहित ११२ देशका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषका अनुसार गत वर्ष तेस्रो मुलुकका १ लाख ११ हजार ४ सय ३ जना लुम्बिनी आएका हुन् । भारतबाट भने ३ लाख ८ सय ८९ पर्यटकले भ्रमण गरेका छन् ।
तेस्रो मुलुकका पर्यटक अघिल्लो वर्षको तुलनामा गत वर्ष ४८ प्रतिशतले बढेका हुन् । २०२३ मा भारतबाहेक ८५ मुलुकका ७६ हजार २ सय १० जना लुम्बिनी आएका थिए । २०२२ मा ९६ देशका २३ हजार ९९२ जना र २०२१ मा ६८ मुलुकका १ हजार १९७ जना लुम्बिनी भ्रमणमा आएका थिए ।
कोरोना महामारीअघि २०१९ को अवस्थामा भने अझै पुग्न नसकेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए । उक्त वर्ष भारतबाहेक ११५ देशका १ लाख ७४ हजार १५ पर्यटक आएका थिए ।
गत वर्ष नजिकको चीनदेखि सबैभन्दा टाढाको दक्षिण अमेरिकी मुलुक चिलीसम्मका पर्यटक लुम्बिनी आएका छन् । गत वर्ष चीनबाट १३ हजार १२ जना र चिलीबाट १९ पर्यटक आएका हुन् ।
यस्तै, युद्धरत इजरायलबाट ११५ र युक्रेनबाट ५६ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । गत वर्ष तेस्रो मुलुकतर्फ सबैभन्दा बढी पर्यटक भने श्रीलंकाबाट २३ हजार ५६९ जना आएका थिए । दोस्रोमा थाइल्यान्डबाट २१ हजार ४९६ पर्यटकले भ्रमण गरेका छन् । चौथोमा सैनिक शासन रहेको म्यानमारबाट १० हजार ५१७, पाँचौंमा भियतनामबाट ८ हजार ५ सय र छैटौंमा दक्षिण कोरियाबाट ४ हजार ६४६ पर्यटक आएका थिए ।
गत वर्ष श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजापाक्षे, श्रीलंकाका पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्री रनिलविक्रमा सिंघेले लुम्बिनी भ्रमण गरेका थिए ।त्यस्तै चीनका राष्ट्रिय धार्मिक मामिला प्रशासनमन्त्री चेन रुइफेङ, चिनियाँ उपमन्त्री वाङ रुइजुन र विश्वचर्चित हलिउड अभिनेता जेट ली पनि लुम्बिनी आएका थिए ।
गत वर्ष मुस्लिम बाहुल्य इरानबाट ३६, पाकिस्तानबाट २३ र अफगानिस्तानबाट ३ जना आएको कोषको तथ्यांक छ । द्वन्द्वग्रस्त सुडानदेखि सिरिया, टर्की र सोमालियासम्मका पर्यटक यहाँ आएका छन् । अल्बानिया, अर्मेनिया, कोस्टारिका, गुएना, इथियोपिया, जर्जिया, हैटी, इराक, आइभरिकोस्ट, कजाकस्तान, उत्तर कोरिया र लाइबेरियाका १/१ पर्यटक आएको कोषको तथ्यांक छ । मुस्लिम बाहुल्य देशबाट पर्यटक बढ्नु सकारात्मक भएको लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्मा बताउँछन् । ‘अहिले सबैलाई शान्ति चाहिएको छ,’ उनले भने, ‘लुम्बिनीको महिमा र ओज टाढाटाढासम्म पुग्दाको परिणाम हो ।’
लुम्बिनीमा स्वदेशी पर्यटक पनि बढेका छन् । गत वर्ष ७ लाख ५९ हजार ९ सय ९० नेपालीले लुम्बिनी भ्रमण गरेका छन् । २०२३ मा ६ लाख ५६ हजार २ सय १८ जनाले भ्रमण गरेका थिए । २०२२ मा ६ लाख ४९ हजार ७८ र २०२१ मा ४ लाख ६३ हजार ९ सय ६३ जनाले भ्रमण गरेका थिए । मुलुकको सहज अवस्था र लुम्बिनीमा विभिन्न पूजा तथा कार्यक्रमले पर्यटक बढेको हो ।
यस्तै, ०७९ जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यसपछि भारतीय आध्यात्मिक गुरु मुरारीबापुको आवागमनपछि लुम्बिनी आउने भारतीय पर्यटकको संख्या पनि बढेको छ । २०२३ मा २ लाख ६६ हजार ५ सय १० र २०२२ मा २ लाख ३० हजार ८ सय ६३ भारतीय पर्यटक लुम्बिनी आएका थिए । मोदी र बापुको भ्रमणबाट लुम्बिनीको प्रचार हुँदा भारतीय पर्यटक बढेको लुम्बिनी विकास कोषका पर्थप्रदर्शक अधिकृत दिलीपसिंह राई बताउँछन् । यसले कोरोनापछि थलिएको यहाँको पर्यटन व्यवसायलाई ऊर्जा थपेको उनको भनाइ छ ।
लुम्बिनीमा पर्यटकको आवागमन बढे पनि उनीहरूको बसाइ लम्ब्याउन नसक्दा फाइदा लिन नसकेको कोषका सूचना अधिकृत बस्नेतले बताए । उनका अनुसार लुम्बिनी आउने २० प्रतिशत पर्यटक पनि अर्को महत्त्वपूर्ण बुद्धस्थल तिलौराकोट पुग्दैनन् । पश्चिम नवलपरासीको बुद्धस्थल रामग्राम पुग्ने पनि निकै कम रहेको उनको भनाइ छ ।
कोषका उपाध्यक्ष ल्हारक्याल लामा ती ठाउँ समेट्दै आकर्षक प्याकेज बनाएर पर्यटकको बसाइ लम्ब्याउन सके स्थानीय व्यवसायी र मुलुकलाई नै फाइदा पुग्ने बताउँछन् । ‘पर्यटक भुलाउने कार्यक्रमका लागि निजी र सरकारी प्रयास जरुरी छ,’ उनले भने । पर्यटक आगमनको वातावरण बन्नु राम्रो भए पनि टिकाउनेतर्फ ध्यान दिनुपर्ने लुम्बिनी होटल संघ महासचिव पुरुषोत्तम अर्यालले बताए ।