हुम्लामा तरकारी उत्पादन बढ्दै, जहाजबाट ढुवानी गर्ने बाध्यता हट्दै

Swastika Bhandari

पुस २६, २०८१

सुर्खेत, कालीकोट — ५ वर्षअघिसम्म नेपालगन्ज र सुर्खेतबाट गएको तरकारीकै भर परेकी सिमकोट गाउँपालिका—७ की सीता रोकायाको भान्सामा अहिले हुम्लाकै टमाटर, मूला, हरियो साग, काउली, केराउलगायत तरकारी पाक्छ । सिमकोट बजारमा रोकाया होटल सञ्चालन गरिरहेकी उनले स्थानीयस्तरमै तरकारी उत्पादन हुन थालेपछि महँगीको मारबाट मुक्ति पाएकी छिन् नै, ग्राहकलाई पनि ताजा तरकारी खुवाउन थालेकी छिन् ।

‘एक त जहाजको उडानै नहुने, उडान भए पनि सामान मात्रै ल्याउन नमान्ने,’ उनले भनिन्, ‘नेपालगन्ज र सुर्खेतमा ५० रुपैयाँमा किन्नुपर्ने तरकारी १ सय २० रुपैयाँसम्म भाडा तिरेर ल्याउनुपर्ने बाध्यता, कहिल्यै त हप्ता/१० दिनमा पनि तरकारी नआउने ।’ उनका अनुसार अहिले ‘फ्रेस’ र अर्गानिक तरकारी पाइन थालेपछि होटलको परिकार पनि मीठो बन्न थालेको छ । उनका अनुसार ५ वर्ष अघिसम्म हुम्लामा स्थानीय उत्पादनको रुपमा आलु र सिमी मात्र फल्थ्यो ।

स्थानीयस्तरमै ताजा तरकारी उत्पादन हुन थालेपछि हुम्लीहरूको भान्साको मिठास मात्र फेरिएको छैन, किसानहरू पनि आत्मनिर्भर बन्न थालेका छन् । सिमकोट गाउँपालिका–२ ठेहेकी ढुग्मा बोहोराले ५ वर्षदेखि प्लास्टिक टनेलमा विभिन्न बेमौसममी तरकारी उत्पादन गरिरहेकी छिन् । कात्तिकदेखि हुम्लामा हिमपातसँगै चिसो बढे पनि उनको घर नजिकैका प्लास्टिक टनेलमा हरियो साग, काउली, बन्दा, टमाटरलगायत तरकारी हुर्किरेहका छन् ।

उत्पादन भएको आधा तरकारी बिक्री गरिसकेकी बोहोराले यो सिजनमा मात्रै ४० हजार रुपैयाँ आम्दानी गरिन् । उनकी छिमेकी भूमा भण्डारीको बारीमा पनि काउली, टमाटरलगायत तरकारी फलेको छ । उनीहरू मात्र होइन समुद्र सतहबाट करिब ३ हजार मिटर उचाइमा रहेको सिमकोट र आसपासका गाउँका महिला केही वर्षयता बेमौसमी तरकारी खेतीबाट आत्मनिर्भर बन्न थालेका छन् । ठेहेमा व्यावसायिक तरकारीखेतीको लहर नै चलेको छ । ‘पहिले खर्च चलाउन हम्मेहम्मे थियो, जीविकोपार्जनका लागि पुरुषहरूलाई भारतमा मजदुरीका लागि पठाउनुपर्ने बाध्यता थियो,’ बोहोराले भनिन्, ‘तरकारी खेती गर्न थालेपछि घरखर्च सजिलै टरेको छ, बाहिरको मजदुरी रोकिएको छ, बाहिर गर्ने मेहनत अहिले आफ्नै बारीमा गर्न थालेका छौँ ।’

उनीसहित ठेहेका २ दर्जन महिला ३ घण्टा हिँडेर सदरमुकाम सिमकोटमा आई तरकारी बिक्री गर्छन । हिउँदमा हरियो सागको माग धेरै बढेको उनले बताइन् । उनका अनुसार स्थानीय बजारमा एक मुठा हरियो साग ३० रुपैयाँमा बिक्री भइरहेको छ । गाउँका अधिकांश युवाहरू बेरोजगार भएकाले तरकारी उत्पादनको आम्दानीले घरखर्च चलाउन सजिलो भएको भण्डारीले बताइन् ।

‘तरकारी फलाउन थालेपछि छोरा–छोरी पढाउन सजिलो भएको छ, श्रीमान्को कमाइको भर पर्नुपर्ने बाध्यता पनि टर्‍यो,’ उनले भनिन्, ‘अहिले घरखर्च चलाएर केही रकम बचत पनि गर्न थालेका छौं ।’ उनले तरकारीको आम्दानीले मासिक १० हजार रुपैयाँसम्म बचत गरिरहेको बताइन् । उनले बर्खा सिजनमा प्याज, आलु, खुर्सानी, मूलालगायत तरकारी उत्पादन गर्छिन् भने अहिले १० वटा टनेलमा विभिन्न जातको हरियो साग उत्पादन भइरहेको छ । उनका अनुसार गाउँका महिलाले तरकारी उत्पादनबाट वार्षिक १ लाखदेखि ३ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।

५ वर्ष अघिसम्म नेपालगन्ज र सुर्खेतबाट जहाजमार्फत ल्याइएको तरकारीले सदरमुकाम सिमकोटको माग धानिएको थियो । हुम्लामा गत चैतमा मात्र सडक यातायात सुविधा पुगेको हो । तर सडक यातायात भरपर्दो नहुँदा सामान ढुवानीका लागि जहाजकै भर छ । तर अहिले तराइमा उत्पादन भएको केही फलफूल आए पनि तरकारी आउने क्रम पुरै रोकिएको स्थानीय प्रेम लामाले बताए । उनका अनुसार नेपालगन्जबाट जहाजमार्फत ढुवानी गरिएको तरकारीका कारण हुम्लामा महँगीसमेत बढेको थियो ।

‘ढुवानी भाडा महँगो भएका कारण तरकारी प्रतिकिलो २ सय ५० रुपैयाँ घटी कुनै पनि थिएन, त्यसमा पनि सधैँ बासी तरकारी खानुपर्ने बाध्यता, कहिले त जहाजले समयमै ढुवानी नगर्दा आधा तरकारी कुहिएकै आइपुग्थ्यो,’ उनले भने, ‘अहिले त बिहान टिपेको तरकारी १/२ घण्टामै हाम्रो भान्सामा पाक्छ, जसले कुपोषणको समस्या पनि हल हुँदै गएको छ ।’ अहिले बुरौसिय, हिल्दुम, बरगाउँ, लाङ्दु, र्तोपा, लिमाटाङ, दोजाम, छिप्रालगायत गाउँमा तरकारीखेतीको लहर चलेको उनले जानकारी दिए । अहिले अधिकांश तरकारी सिमकोट बजारमा प्रतिकिलो डेढ सय रुपैयाँसम्ममा पाइने सिमकोटका व्यापारी नन्दु बुढाले बताए । ‘यहाँको आलु र सिमी त उत्पादनको झन्डै आधाभन्दा बढी नेपालगन्ज र सुर्खेत जान्छ, अरु तरकारीमा पनि करिबकरिब आत्मनिर्भर बनेका छौँ,’ उनले भने, ‘सरकारी निकायले मल, बीउ र सिँचाइमा सहयोग गरे अबको २/३ वर्षमा यहाँको तरकारी बाहिर पठाउने स्थिति बन्नसक्छ ।’

समुद्र सतहबाट झन्डै ३ हजार ४ सय मिटर उचाइमा रहेको मुगुको मुगुम कार्मारोङ गाउँपालिकास्थित पापुगाउँमा अहिले धान फल्न थालेको छ । ‘अत्यधिक चिसोले पहिले त वर्षमा एक बाली उवा मात्र फल्थ्यो, तातो बढ्न थालेपछि हाम्रो गाउँमा त गर्मीयाममा लामखुट्टे पनि लाग्छ,’ स्थानीय छिरिङदोर्जे लामाले भने, ‘५/६ वर्षयता वर्षायाममा पाखेधान पनि लगाउन थालेका छौँ ।’ उनले आफ्नो ७ रोपनी जग्गामा करिब १० मुरी पाखेधान फल्ने गरेको बताए । समुद्र सतहबाट करिब २ हजार ३ सय मिटरको उचाइमा रहेको रोवा, भामबाडा, पिनालगायत गाउँमा अहिले टमाटर, खुर्सानी, बन्दा र काउली फल्ने गरेको उनले बताए । ‘हिउँ माथिमाथि सर्न थाल्यो, तराइको बाली पनि हाम्रो गाउँतिर फल्न लाग्यो,’ उनले भने, ‘सिँचाइ सुविधा भए त गाउँमा अब ३ बालीसम्म लगाउन सकिन्छ ।’

हिमालतिर गर्मी चढेपछि अहिले कोदो, फापर र उवा पनि छिटो पाक्न थालेको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उनका अनुसार पहिले जुम्लाबाट मार्सीधान ल्याएर चाडपर्व मनाउने स्थानीयहरुले अहिले चिनामुरी, ठूलीधान, भुवालो, धोग्रो, रतालोलगायत जातको पाखेधान आफै उत्पादन गर्न थालेका छन् । ‘धेरै चिसो हुने भएकाले पहिले बाली पाक्न कम्तीमा १० महिना लाग्थ्यो, बढ्दो गर्मीले अहिले जेठ—असारमा लगाएको कोदो कात्तिकमै टिप्न थालिएको छ,’ उनले भने, ‘नफलेका अन्नदेखि खुर्सानी, टमाटर र काउलीसम्म गाउँमा फल्न थालेपछि स्थानीय खेतीपातीमा उत्साही भएका छन् ।’ उनका अनुसार पालिकाले यो वर्ष किसानलाई रैथाने बाली र तरकारीखेतीमा व्यावसायिक बनाउन झन्डै १ करोड रुपैयाँ छुट्याएको छ ।

अन्नबाली मात्रै होइन पछिल्ला वर्षहरुमा लेकमा उत्पादन नहुने फलफूल पनि सजिलै हुर्किन र फल दिन थालेको छ । मुगको खत्याड गाउँपालिका–८ का गणेश गिरीले ६ वर्षदेखि आफ्नो बगैँचामा आँप फलाइरहेका छन् । उनको बारीमा स्याउ पनि फल्छ । आँप बेचेर उनले गत वर्ष ८० हजार रुपैयाँ कमाए । उनले बारीमा १० वटा आँपका बोट लगाएका छन् । सुकाढिककै टक्क डाँगरले पनि बारीमा १५ वटा बोट आँप लगाएका छन् । त्यसमध्ये ५ वटा बोटले उत्पादन दिइरहेका छन् । जलवायु परिवर्तनको प्रभावका कारण हिमालमा पनि आँप फल्न थालेपछि व्यवसायिक उत्पादन गरिरहेको उनले बताए । गत वर्ष उनले ३ क्विन्टल आँप बिक्री गरेका थिए । उत्पादित आँप स्थानीय बजारमा प्रतिदाना २० रुपैयाँमा बिक्री हुने गरेको छ । समुद्र सतहदेखि करिब १ हजार ९ सय मिटरको उचाइको सुकाढिकमा तराइमा उत्पादन हुने अनार, अम्बा र केरासमेत फल्न सुरु गरेको उनले सुनाए ।

स्थानीयले बारीमा आँप, अनार, केरालगायत फलफूल उत्पादन हुन थालेपछि बर्सेनि नेपालगन्ज, दाङ र सुर्खेत गएर फलफूलका बेर्ना खरिद गर्ने गरेका छन् । साविक कर्णालीका पाँच जिल्लामध्ये मुगुको सुकाढिक गाउँमा मात्र आँप फल्ने गरेको स्थानीय स्वास्थ्यकर्मी टक्क डाँगरले बताए । ‘हाम्रो गाउँमा आँप पाक्छ भन्दा कसैले पत्याउदैनन्,’ उनले भने, ‘यहाँ आएर देखेपछि भने दंग पर्छन ।’ उनले बारीमा करिब २० वटा आँपका बिरुवा लगाएको जानकारी दिए । आँप पाक्ने मौसममा बाजुराको बोल्डिक, धिम, फैतीलगायत गाउँका बासिन्दा सुकढिक गाउँमा खरिदका लागि आउने गरेको उनको भनाइ छ ।

कृषि वैज्ञानिक डा.रमेश शर्माले अहिले रैथाने बालीहरु लोप हुँदै तराईमा फल्ने तरकारी र फलफूल खेतीले हिमाली बस्ती ढाकिन थालेको बताए । ‘यसले तत्कालका लागि स्थानीयको आवश्यक्ता पूरा गरे पनि क्रमशः रैथाने बालीमैत्री माटोको उर्वरा शक्तिमा ह्रास ल्याउँछ,’ उनले भने, ‘अहिले हिमालमा हाइब्रिड जातका तरकारी र फलफूल लगाइएका छन्, जसले तराईका बालीमा लाग्ने रोग किराको प्रकोप पनि हिमालतिर स्थानान्तरण हुने जोखिमसमेत निम्त्याएको छ ।’ जलवायु परिवर्तनको असरले अन्नबालीमा बीउको जात परिवर्तन हुने, खेतबारीमा उर्वरा शक्तिमा ह्रास आउने, मौसमअनुकूल किराले बालीमा क्षति पुर्‍याउनेलगायत कारण हिमाली बस्तीमा रैथाने बाली संकटमा परेको उनले बताए ।

कर्णालीको जैविक विविधता अन्य प्रदेशभन्दा फरक रहेको वातावरणविज्ञ अर्जुन आचार्यले बताए । ‘यहाँ सालदेखि स्याउको बिरुवा एकै ठाउँमा हुर्किरहेका छन्, अन्नपात र फलफूल पनि तराईदेखि हिमालसम्मका एकै ठाउँमा, हिउँ पर्ने ठाउॅमा पनि अहिले ब्रोइलर कुखुरा हुर्किरहेका छन्,’ उनले भने, ‘त्यसमा पनि जलवायु परिवर्तनको असर, अन्नबालीमा नयाँ जातको विकास र उन्नत प्रविधिले सबै खालका बाली एकै ठाउँमा उत्पादन हुन सम्भव भएको छ ।’

जलवायु परिवर्तनको प्रभावका कारण कर्णालीका हिमाली जिल्लाहरूको हावापानी परिवर्तन भइरहेको कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए । ‘तराईका जिल्लामा उत्पादन हुने फलफूल र तरकारी जिल्लाका लेकाली बस्तीमा फल्न थालेपछि किसान क्रमशः व्यवसायिक बनिरहेका छन् ।’ उनले भने, ‘हिमालमा पनि किसानको आकर्षण बढेपछि कृषि विकास कार्यालयमार्फत सुन्तला, कागती, आँपलगायतका फलफूलका बेर्ना हिमाली जिल्लामा पनि वितरण गर्न थालिएको छ ।’

Sharing Is Caring:

Leave a Comment