पुस २६, २०८१
भैरहवा — भारत सरकारको गुणस्तर प्रमाण सम्बन्धी इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आइएसआई) मार्क नवीकरण नभएपछि नेपालका तीन वटा उद्योगको भारतमा हुने सिमेन्ट निर्यातको क्रम महिनौंदेखि रोकिएको छ ।
भारत सरकारको ब्यूरो अफ इण्डियन स्ट्यान्डर्स (बिआईएस) ले भारतमा निर्यात भइरहेका नेपाली सिमेन्टलाई गुणस्तरको आइएसआइ मार्क नवीकरण नगरेपछि नेपालको अर्घाखाँची सिमेन्ट, सम्राट सिमेन्ट र बालाजी सिमेन्ट उद्योगको उत्पादन भारत निर्यात हुनबाट रोकिएको हो ।
आइएसआइ मार्क नवीकरणको म्याद छउन्जेल ती उद्योगको उत्पादन भैरहवा र कृष्णनगर भन्सार नाका हुँदै सहजै निर्यात भइरहेको थियो । नेपाली उत्पादन भारत निर्यातका लागि भारत सरकारले प्रदान गर्ने गुणस्तर सम्बन्धी आइएसआइ मार्कको प्रमाणपत्र लिन अनिवार्य हुन्छ ।
भारतमा हाल निर्यात जारी राखेका अन्य केही नेपाली सिमेन्ट उद्योगको पनि आइएसआइ मार्क नवीकरणको समयाबधि केही महिनामै सकिदैछ । कपिलवस्तुमा उद्योग संचालन गरी कृष्णनगर नाकाबाट सिमेन्ट निर्यात गर्दै आइरहेको बालाजी सिमेन्ट उद्योगका संचालक ऋषिकेश अग्रवालले भारत सरकारबाट आइएसआइ मार्क नवीकरण नभएपछि ७ महिनादेखि आफ्नो उत्पादन भारत निर्यात हुन नसकेको बताए ।
‘नवीकरणका लागि म्याद सकिनु भन्दा तीन महिना अगावै निवेदन दिएको थिए’, अग्रवालले भने, ‘अहिलेसम्म नवीकरण भएको छैन । न नवीकरण नहुनुको कारण नै खुलाइएको छ ।’ २०८० जेठ ३० देखि उक्त उद्योगले बाहुबली र श्रृष्टि ब्रान्डको सिमेन्ट भारततर्फ निर्यात गर्दै आएको थियो । एक वर्षमा उक्त उद्योगले २० करोड रुपैयाँको सिमेन्ट भारत निर्यात गरेको थियो ।
कृष्णनगर नाका हुँदै भारत निर्यात गरिरहेको सम्रान्ट सिमेन्टको निर्यात पनि रोकिएको छ । दुई वर्षदेखि भैरहवा भन्सार नाका हुँदै भारततर्फ निर्यात गर्ने गरेको अर्घाखाँची सिमेन्ट लिमिटेडको निर्यात पनि २०८१ असोज ९ देखि रोकिएको छ । दुई वर्षमा अर्घाखाँची सिमेन्टले ५५ करोड रुपैयाँ भन्दा बढी मूल्यको सिमेन्ट निर्यात गरेको थियो ।
दुई वर्षयता नेपालबाट भारतर्फ सिमेन्ट निर्यात राम्रो थियो । एकपछि अर्को नेपाली सिमेन्ट उद्योगले भारत सरकारको निर्धारित मापदण्ड अनुरुपको गुणस्तर सिमेन्ट उत्पादन गरी निर्यात गर्दै आएका थिए । सिमेन्ट भारततर्फ निकासीको क्रम बढ्न थालेपछि नेपाली व्यवसायी उत्साहित थिए ।
अहिले भारत सरकारले गुणस्तर सम्बन्धी प्रमाण अनुमति नवीकरण नगरिदिएकाले निर्यात रोकिएपछि व्यवसायी निराश छन् । अर्घाखाँची सिमेन्ट उद्योगका नायब महाप्रबन्धक कृष्णप्रसाद पाण्डेले निर्यात रोकिएपछि नेपाली सिमेन्ट उद्योग अप्ठयारोमा परेको बताए ।
‘आर्थिक मन्दीलगायतका कारण नेपालमा सिमेन्ट खपत कम भइरहेका बेला भारत निर्यातले उद्योगलाई धेरै सहयोग भइरहेको थियो,’ पाण्डेले भने, ‘हामी भारत सरकारले नवीकरण गरिदिने प्रतिक्षामा छौं । तर कहिले हो कुनै टुंगो छैन ।’
उनले पनि नवीकरण नगर्नुको कारण भारतीय पक्षले नखुलाएको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले नवीकरण रोकिएको विषयमा सम्बन्धित निकायमा जानकारी गराइसकेको जनाउँदै उद्योग वाणिज्य महासंघले पनि यसका लागि पहल गरिरहेको बताए । ‘यो दुई देश बीचको आयात निर्यातको कुरा भएकाले सरकारी तथा कुटनीतिक तहबाटै पहल गरिनु पर्छ,’ श्रेष्ठले भने ।
भारतले गुणस्तर प्रमाणसहितको आयात अनुमति दिएपछि भैरहवा नाकाबाट २०७९/८० मा ३१ करोड ६ लाख र २०८०/८१ मा १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो । चालु आवको मंसिरसम्म ४३ करोड ४० लाख रुपैयाँ मूल्यको सिमेन्ट निर्यात भएको छ । अहिले कृष्णनगर नाका हुँदै घोराही सिमेन्ट र भैरहवा हुँदै पाल्पा र सर्वोत्तम सिमेन्टले भारत निर्यात गरिरहेका छन् ।
यी उद्योगको पनि आइएसआई मार्क नवीकरण अवधि केही महिनाभित्रै सकिँदैछ । व्यवसायीका अनुसार भारतले केही सिमेन्ट उद्योगलाई २ र केहीलाई १ वर्षका लागि गुणस्तर प्रमाणसहितको अनुमति दिएको थियो । अहिलेसम्म भारतले नेपाली सिमेन्टको गुणस्तरमा कुनै प्रश्न उठाएको छैन । तर, पनि भारतले नवीकरण नगर्नुको कारण समेत नखुलाउँदा व्यवसायीमा अन्यौलता बढिरहेको छ ।
यस बारे सरकारले भारतसँग कुटनीतिक पहल गरेर तत्काल आइएसआई नवीकरणको व्यवस्था मिलाउन व्यवसायीले आग्रह गरेका छन् । भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले भारतले आफ्नो आवश्यकता अनुसारको सामानलाई मात्र आयातको अनुमति दिने गरेको र नेपाली सिमेन्टको गुणस्तर प्रमाण नवीकरण नगर्नु भारतको आन्त्रिक कारण हुन सक्ने बताए ।
नेपालमा पनि भारतबाट आयात हुने निर्माण सामग्रीमा गुणस्तरको एनएस (नेपाल स्टयान्डर्ड) चिन्ह अनिवार्य हेर्ने गरिएको रेग्मीले बताए ।