एआईबाटै हिपहप र म्युजिक भिडियो

Swastika Bhandari

पुस २६, २०८१

काठमाडौँ — गत वर्ष अप्रिलमा र्‍यापर ड्रेकले एआई प्रयोग गरेर टुप्याक सकुर र स्नुप डगको आवाजमा गीत निकाल्दा त्यसको व्यापक आलोचना भयो । यसले कानुनी उल्झन निम्त्याउने देखिएपछि ड्रेकले सो गीत आफ्ना आधिकारिक अनलाइन च्यानलहरूबाट हटाइदिएका थिए ।

पछि उनकै आवाजमा कसैले एआईबाट ‘हार्ट अन माई स्लिभ’ बोलको गीत बनाइदिए । यो पनि विवादित बन्यो ।

ड्रेकले टुप्याप र आफ्नो आवाजमा गीत रिलिज गरेको केही क्षण स्नुप डग आफैं आश्चर्यचकित बनेका थिए । उनले ‘कसले के गर्‍यो ? कहिले ? कसरी ? साँच्चै हो ? ल म सुत्न गएँ, शुभरात्रि’ भनेर इन्स्टाग्राममा पोस्ट लेखेका थिए । दिवंगत टुप्याकका वकिलले भने ड्रेकलाई अर्काको आवाज दुरुपयोग गरेको भन्दै मुद्दा हाल्ने चेतावनी नै दिए । जसले गर्दा ड्रेकले ‘टेलर मेड फ्रिस्टायल’ बोलको उक्त गीत आफ्ना सामाजिक सञ्जाल एकाउन्टबाट हटाउन बाध्य भएका थिए ।

आफ्नो एआई आवाजलाई ठट्यौलीकै रूपमा उडाइरहेका स्नुप डगले पनि पछि एआईबाटै बनाइएको म्युजिक भिडियो रिलिज गरे । ‘हिपहपमा यस्तै हो, हामी कसैले सीमा ननाघुन्जेलसम्म मात्रै सीमा तय गर्छौं,’ ड्रेकको प्रसंगमा स्नुपले भनेका थिए, ‘म पनि अब केही गर्न जाँदै छु, केही बिगार्न जाँदै छु ।’ त्यसको ६ महिनापछि गत अक्टोबरमा स्नुपको गीतमा एआई प्रयोग गरेर बनाइएको म्युजिक भिडियो सार्वजनिक भयो ।

एआई प्रयोग गरेर अर्काको ख्याति दुरुपयोग गरेकामा ड्रेकको आलोचना भइरहँदा स्नुपको भिडियोमा भने एआईको उति बेजोड प्रयोग नभएको समीक्षा गरियो । पछिल्लो समय ड्रेक र स्नुपसँगै थुप्रै हिपहप आर्टिस्टले एआई प्रविधिमा अनेक परीक्षण गर्न थालेका छन् । यो साता मात्रै ये वेस्ट (पहिले कान्य वेस्ट भनेर चिनिने) ले ‘५३०’ शीर्षकको गीतमा एआई सिर्जित भिडियो बनाएर रिलिज गरे । यस भिडियोमा वेस्टले प्लास्टिक सर्जरी, सामाजिक द्वन्द्व र पूर्वपत्नी किम कार्दसियनबारे आफ्नो धारणा प्रस्तुत गर्न खोजिएको विश्लेषण भइरहेका छन् ।

वेस्टले यसअघि ‘बम्ब’ बोलको गीतमा पनि आफ्ना दुई छोरी नर्थ र सिकागोलाई राखेर एआईबाटै म्युजिक भिडियो बनाएका थिए । त्यसमा उनका छोरीहरू इलन मस्कको साइबरट्रकजस्तो देखिने गाडीमा जनावरजस्ता पात्रहरूलाई लखेटिरहेका देखिन्छन् ।

भिडियोमा बालिकाहरूलाई असाध्यै सुन्दर देखिएको भए पनि वेस्टले एआई प्रयोग गरेर दृश्य तयार गरेकामा उनको आलोचना भएको थियो । ‘मलाई भ्रम भइरहेको छ कि तपाईंहरूले पनि कान्ये वेस्टको भिडियो हेर्नुभयो ?’ एक प्रशंसकले सामाजिक सञ्जालमा लेखेका थिए, ‘मलाई पत्याउनै गाह्रो भएको छ, यी गायकले आफ्नै नाबालक छोरीहरूको एआई भिडियो बनाएछन् ।’

कुनै बेला संगीत, सिनेमाजस्ता क्षेत्रमा एआईको प्रयोग नरुचाउने र तर्कन खोज्ने सर्जकहरूले पनि म्युजिक भिडियो वा अन्य कलाका माध्यममा पूर्ण र आंशिक दुइटै तरिकाले यो प्रविधिको प्रयोग बढाउँदै लागेका छन् ।

वेस्टसँगै ट्रभिस स्कटजस्ता हिपहप कलाकार संगीतमा एआईको प्रयोगबारे उत्साहित देखिन्छन् । जे कोल, केन्ड्रिक लमारजस्ता सन् २०२४ का ट्रेन्डिङ आर्टिस्टहरू एआईको प्रयोगसँग सशंकित भइरहँदा ड्रेक, कार्डी बीलगायतले भने सर्जकको सिर्जनात्मकता मर्न नदिने गरी हिपहपलगायत विधाको प्रवर्द्धनमा एआईको प्रयोग गर्दा फरक नपर्ने विचार राख्न थालेका छन् ।

काइबर, एल्टीएक्स स्टुडियो, पिक्टोरीजस्ता प्लाटफर्मसँगै ठूला बजेटका म्युजिक भिडियोमा एआई कम्पनीहरूलाई प्रयोग गर्ने चलन बाक्लिँदै गएको छ । धेरैजसो म्युजिक भिडियोमा आंशिक रूपमै भए पनि एआईको मद्दत लिन थालेको देखिन्छ । हिपहप मात्रै नभएर अन्य विधाका संगीतकर्मीले पनि एआईलाई आत्मसात् गर्न थालेका छन् ।

चर्चित ब्यान्ड ‘कोल्डप्ले’ ले बनाएको ‘फिल्स लाइक आईएम फलिङ इन लभ’ नामक एआईमा आधारित भिडियो निर्माण गर्न झन्डै ३५ लाख अमेरिकी डलर खर्च भएको थियो ।

एमिनेमको ‘होडिनी’ भन्ने हिपहप म्युजिक भिडियोका लागि झन्डै २८ लाख अमेरिकी डलर, ट्रभिस स्कटको ‘भर्चुअल रियालिटी’ नामक म्युजिक भिडियोका लागि झन्डै २५ लाख, वेस्टको ‘एआई ड्रिम्स’ नामक म्युजिक भिडियोका लागि लगभग २२ लाख अनि लील नास एक्सको ‘फ्युचर भिजन्स’ नामक म्युजिक भिडियोमा झन्डै २० लाख अमेरिकी डलर खर्च भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

यीमध्ये एमिनेमको गीतमा युट्युबमा झन्डै २० करोड भ्युज छ भने ट्रभिस, वेस्ट, लील नास, सिन्थवेभ कालेक्टिभजस्ता हिपहप सर्जकका गीतहरूले पनि करोडौं भ्युज बटुल्न सफल भएका छन् । गायकको प्रस्तुतिलाई पनि नियालिने हिपहप विधाका एफएन मेका, ग्राइम्ससँगै लील नास र ट्रभिस स्कटले एआईमै आधारित संगीत बनाएर त्यसकै म्युजिक भिडियोसमेत बनाइसकेका छन् ।

सुनो, बुमी, साउनड्र, आइभा, मुबर्टजस्ता प्लाटफर्महरूको प्रयोग गरेर बन्ने एआईमा आधारित हिपहप संगीत स्पटिफाई, एप्पल म्युजिकजस्ता स्ट्रिमिङ प्लाटफर्ममा पनि राम्रै चल्ने गरेका छन् । एमिनेमको ‘होडिनी’ गीत सार्वजनिक भएको पहिलो दुई सातामै स्पटिफाईमा लगभग ६ करोड पटक सुनिएको थियो ।

यस्तै बेकीजीको ‘पोर एल कोन्त्रारियो’ नामक एआईमा आधारित गीतले पनि झन्डै ३२ करोड भ्युज बटुलिसकेको छ । बितिसकेका सर्जक वा आफूलाई मनपर्ने हिपहप गायकको गीत आफ्नै शैलीमा बनाएर छोटो वा लामो भिडियोमार्फत स्ट्रिमिङ प्लाटफर्महरूमा राख्ने काममा पनि विशेष गरी युवा पुस्ता पारंगत हुँदै गएका छन् ।

Sharing Is Caring:

Leave a Comment