पुस २६, २०८१
खोटाङ — निर्माण सुरु भएको ३० वर्षमा पनि सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल) अपूरै छ । विभिन्न निर्माण कम्पनीले काम थाले पनि अलपत्र पारेपछि सडक अपूरै रहेको हो । उक्त सडकअन्तर्गत चार खण्डमा विभाजन गरेर विभिन्न निर्माण कम्पनीले ठेक्का पारी काम थालेका थिए । तर बेलामा काम नगरी अलपत्र पारेपछि ठेक्का तोडेर पुनः नयाँ बोलपत्र आह्वान गरी सम्झौताको चरणमा पुगेको छ ।
उदयपुरको दियाले–फोक्सिङटार सडक खण्ड (३२ किलोमिटर), खोटाङको फोक्सिङटार–सिम्पानी (२६ किलोमिटर), सिम्पानी–महुरे (२२ किलोमिटर) र फोक्सिङटार–सिम्पानी सडक खण्डको कन्स्ट्रक्सन निर्माणको काम अलपत्र पारेपछि ठेक्का तोडिएको थियो ।
यसमध्ये फोक्सिङटार–सिम्पानी (२६ किलोमिटर) र सिम्पानी–महुरे (२२ किलोमिटर) का लागि नयाँ बोलपत्र आह्वान गरी सम्झौताको चरणमा पुगेको गाईघाट–दिक्तेल आयोजना प्रमुख पशुपति ज्ञवालीले बताए ।
यसमध्ये फोक्सिङटार–सिम्पानी (२६ किलोमिटर) र सिम्पानी–महुरे (२२ किलोमिटर) का लागि नयाँ बोलपत्र आह्वान गरी सम्झौताको चरणमा पुगेको गाईघाट–दिक्तेल आयोजना प्रमुख पशुपति ज्ञवालीले बताए ।
फोक्सिङटार–सिम्पानी सडक खण्डमा दिव्यज्योति कन्स्ट्रक्सन प्रालि धादिङ र सिम्पानी–महुरे सडकमा रायमाझी कन्स्ट्रक्सन प्रालि काठमाडौंले ठेक्का पारेको हो । उक्त ठेक्काको आर्थिक र प्राविधिक प्रस्तावको आशय सार्वजनिक गरी अन्य प्रक्रियामा रहेको ज्ञवालीले सुनाए । ‘आर्थिक र प्राविधिक प्रस्तावको आशय सार्वजनिक भइसकेको छ,’ ज्ञवालीले भने, ‘सबै प्रक्रिया सकेर अबको १५ दिनभित्र सम्झौता हुन्छ ।’
गाईघाट–दिक्तेल सडक निर्माणका लागि विभिन्न निर्माण कम्पनीले ठेक्का लिएर अलपत्र पारेपछि ठेक्का तोडिएको थियो । यसअन्तर्गत देवनारायण मैनाचुलीनसकी खम्पाची जेभीले २०७७ साउन १० भित्र सक्ने गरी ठेक्का लिएको खोटाङको फोक्सिङटार–सिम्पानी सडक नसकी अलपत्र पारेपछि २०७९ भदौमा ठेक्का तोडिएको थियो ।
करिब ४९ करोडको लागतमा २०७३ साउन ११ मा सम्झौता गरी सुरु सडकको भौतिक ६२ र वित्तीय ६०.३ प्रतिशत प्रगति देखिन्छ । निर्माण कम्पनीले पाटनस्थित उच्च अदालतमा ठेक्का तोड्ने निर्णयविरुद्ध दिएको उजुरीपछि उच्च अदालतले फेरि विभागको निर्णयलाई सदर गर्दै २०८० असोजमा फैसला सुनाएको थियो ।
फोक्सिङटार–सिम्पानी सडक खण्डको कन्स्ट्रक्सन निर्माणका लागि ठेक्का लिएको मैनाचुली–सिद्धिसायी–प्रकाश जेभीले पनि काम अलपत्र पारेपछि उक्त ठेक्का पनि तोडिएको थियो । करिब ११ करोड लागतमा २०७७ साउन १० भित्र सक्ने गरी २०७३ साउन ११ मा सम्झौता गरी काम थाले पनि ८० प्रतिशत मात्र भौतिक र वित्तीय प्रगति देखिएको छ ।
उक्त ठेक्का पनि २०७९ भदौमै तोडिएको थियो । त्यसमा पनि निर्माण कम्पनीले पाटनस्थित उच्च अदालतमा ठेक्का तोड्ने निर्णयविरुद्ध अन्तरिम आदेशका लागि दिएको उजुरीमा विभागको निर्णयलाई सदर गर्दै २०८० असोजमै फैसला सुनाएको थियो ।
सिम्पानी–महुरे (२२ किलोमिटर) सडक निर्माणको ठेक्का लिएको भारत कन्स्ट्रक्सन–सिद्धिसायी जेभीले २०७७ असार ३० भित्र सक्ने गरी ठेक्का लिए पनि काम अलपत्र छाडेर हिँडेपछि गत माघ २९ मा ठेक्का तोडिएको थियो । करिब ४६ करोड लागतमा निर्माण थालिएको उक्त सडक खण्डको भौतिक र वित्तीय प्रगति ४३.६२ प्रतिशत देखिएको छ ।
यस सडक खण्डअन्तर्गतका निर्माण कम्पनी सम्बद्ध कामदारले स्थानीयबाट लिएका दैनिक उपभोग्य वस्तुको रकम समेत नतिरी भागेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ का वडाअध्यक्ष दिनेश राईले बताए ।
उदयपुरको दियाले–फोक्सिङटार सडक खण्ड (३२ किलोमिटर) मा कञ्चनजंघा गोल्डेन गुड्सले २०७५ भदौ १० भित्र सक्ने गरी २०७३ भदौ १२ मा सम्झौता गरे पनि काम अलपत्र पारेपछि गत माघ २ मा ठेक्का तोडिएको थियो । करिब ३१ करोड लागतमा सक्ने गरी सुरु गरिएको उक्त सडकको भौतिक र वित्तीय प्रगति ८२.६० प्रतिशत पुगेको गाईघाट–दिक्तेल सडक आयोजना गाईघाटले जनाएको छ ।
२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा सुरु भएको गाईघाट–दिक्तेल सडक अझै पूरा भएको छैन । त्यतिबेला खोटाङ ३ बाट निर्वाचित तत्कालीन यातायात राज्यमन्त्री अशोककुमार राईको पहलमा सुरु भएको उक्त सडक अलपत्र पारेपछि तराईसँग यातायात सम्बन्ध जोडिन नसकेको हो । बेलामा सडक नबन्दा जिल्लाको विकासमा बाधा पुगेको स्थानीयको गुनासो छ ।
बाढीले बगाएको ठाउँमा बेलिब्रिज
सगरमाथा लोकमार्गअन्तर्गत खोटाङ र उदयपुरको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडान अन्तिम चरणमा पुगेको छ । फोक्सिङटारस्थित पुल असोज १२ को बाढीले बगाएपछि उक्त ठाउँमा बेलिब्रिज जडान गरिएको हो ।
पुस २५ भित्र सक्ने गरी काम भइरहेको गाईघाट–दिक्तेल सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीले जनाए । उक्त बेलिब्रिज एक करोड २९ लाख ४६ हजार ७७ रुपैयाँ लागतमा बोलपत्र आह्वान भए पनि एक करोड दुई लाख रुपैयाँमा आर्यन कन्स्ट्रक्सन मल्टिपर्पोज प्रालि उदयपुर कटारीले ठेक्का लिएको थियो । उक्त निर्माण कम्पनीले पुसभित्र सक्ने गरी मंसिर २८ मा सम्झौता थियो । उक्त ठाउँमा ५० मिटरको बेलिब्रिज जडान हुनेछ ।
बेलिब्रिजले खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटार जोड्छ । बेलिब्रिज बनेपछि तराईसँग खोटाङको सिधा यातायात सम्बन्ध जोडिनेछ । यसले उपभोग्य लगायत अन्य वस्तुको मूल्यसमेत घट्ने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले बताए । ‘लोडअनलोड र बोकाई खर्च गरी प्रतिकेजी तीन रुपैयाँ सस्तो हुन्छ,’ आचार्यले भने, ‘प्रतिकेजी तीन रुपैयाँ सस्तो हुनु पनि धेरै राहत हो ।’