गुल्मीमा तीन युवाले खोले २ करोडमा खानेपानी उद्योग

Swastika Bhandari

२५ पुस, गुल्मी । गुल्मीमा तीन युवा मिलेर खानेपानी उद्योग खोलेका छन् । उद्योगमा उनीहरूले करिब २ करोड रुपैयाँ लगानी गरेका छन् ।

रेसुङ्गा नगरपालिका–३ बेहोरेस्थित छल्दी खोला किनारमा उनीहरूले रेसुङ्गा जल उद्योग प्रालि सञ्चालनमा ल्याएका हुन् ।

रेसुङ्गा–२ का विश्वास पुन, ३ का सन्तोष कुँवर र ६ का राम पन्थी मिलेर पानी उद्योग सञ्चालन गरेका हुन् । कुँवर सिभिल इन्जिनियर र पन्थी मेकानिकल इन्जिनियर हुन् ।

रेसुङ्गा काखमा रहेको मूलबाट प्रशोधन गरी खानेपानी बिक्री वितरण थालिएको अध्यक्ष कुँवरले बताए । प्रतिघण्टा २ हजार लिटर पानी उत्पादन क्षमताको उद्योगले अहिले १ हजार ४ सय लिटर उत्पादन गरिरहेको छ ।

उद्योगबाट १ लिटर, आधा लिटर र २० लिटर जारमा पानी बजार पठाउने गरिएको सञ्चालक पन्थीले बताए । पानी गुल्मीभरि पठाउन थालिएको उनले बताए ।

उद्योगका अनुसार जिल्लाको माग पूरा भएपछि अन्य जिल्ला पठाइने छ । प्रतिबोतल २० रुपैयाँ खुद्रा मूल्य तोकिएको छ । चिनियाँ प्रविधियुक्त स्वचालित उद्योगमा स्थानीय १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

पछिल्लो समय जिल्लामा साना–ठूला उद्योग बन्द हुने अवस्थामा पुगेका बेला तीन युवाले आँट गरेर पानी उद्योग सञ्चालनमा ल्याएपछि जिल्लामा उद्योग–व्यवसायमा सम्भावना देखिएको गुल्मी उद्योग वाणिज्य संघ अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए ।

Sharing Is Caring:

Leave a Comment