सुन्तला उत्पादन क्षेत्र बढ्यो, यस वर्ष पाल्पाबाट ५२ करोड ७६ लाखको कारोबार

Swastika Bhandari

पुस २४, २०८१

पाल्पा — असिना पानीले फूल खेल्दै गरेका सुन्तलालाई असर पुगे पनि यस वर्ष ५२ करोड ७६ लाख ८४ हजार रुपैयाँ बराबरको सुन्तलाको कारोबार भएको छ । गत वर्ष भने सुन्तला बिक्रीबाट ४६ करोड ७ लाख ७२ रुपैयाँको कारोबार भएको थियो । 

अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन हुने क्षेत्रफल बढेको छ भने किसानले मूल्य पनि बढी पाएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोष कुमार चौधरीले बताए । अघिल्लो वर्षको तुलनामा यस वर्ष ६ करोड ६९ लाख १२ हजार बढीको सुन्तला बिक्री हुने निमित्त प्रमुख चौधरीले बताए । पाल्पामा दुई वर्षअघि भने ४३ करोड ३५ लाखको सुन्तलाको कारोबार भएको थियो ।

‘भैरव स्थान, कुसुमखोला र पालुङमैनादी क्षेत्रमा असिना र रोगले केही समस्या देखिए पनि अन्यत्र यस वर्ष सुन्तला उत्पादन बढेको छ,’ चौधरीले भने, ‘कतिपय स्थानमा कम फले पनि अधिकांश स्थानमा राम्रो फलेको छ र बजार भाउ राम्रो पाउँदा कारोबार बढेको छ । अघिल्लो वर्षको तुलनामा भाउ भने पाउन सफल भयो ।’ जिल्लामा दुई वर्षअघि नौ हजार ३१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । अघिल्लो वर्ष ८ हजार ८ सय ६१ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस वर्ष भने १ हजार १ सय ९६ हेक्टर क्षेत्रफलमा ९ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

गत वर्षको तुलनामा २ सय ३७ मेट्रिक टन सुन्तला बढी उत्पादन भएको छ । किसानले दुई वर्षअघि सरदरमा प्रतिकिलो ४० देखि ४६ रुपैयाँ मूल्य पाएका थिए । गत वर्ष भने ५५ देखि ६० रुपैयाँको अनुपातमा सुन्तला बिक्री गरेको ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष सरदरमा ५८ रुपैयाँ प्रतिकेजी सुन्तलाको भाउ किसानले पाएका छन् ।

‘उत्पादनमा यस वर्ष थोरै परिमाणमा ह्रास आए पनि बजारमा राम्रो भाउ पाएको छ,’ निमित्त प्रमुख चौधरीले भने, ‘फूल खेल्ने समयमा कतिपय स्थानमा असिना परेर समस्या ल्यायो भने पर्याप्त पानी नपर्दा केही स्थानमा पातलो फलेको थियो । तर बजार भाउ राम्रो पाएकाले राम्रो कारोबार देखिएको हो ।’ सुन्तला किन्ने व्यापारीलाई बारीमा बोलाएर गत कार्तिकदेखि नै निकासी सुरु गर्ने गरेको रिब्दीकोट गाउँपालिका–७ पालुङमैनादीका किसान जनक आचार्यले बताए । उनले यस वर्ष १५ लाख बढीको बिक्री गर्ने योजना बनाए पनि असिना पानीका कारण १० लाख रुपैयाँको मात्र बिक्री गरेको बताए ।

कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार १ हजार १ सय ७५ हेक्टर क्षेत्रफलमा सुन्तला लगाइएको छ । यस वर्ष १ हजार १ सय १५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको छ ।

जिल्लाको रैनादेवी छहरामा सबैभन्दा धेरै ४ सय ५२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ । यहाँ ३ हजार ६ सय ३९ मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । रिब्दीकोटमा ३ सय ९६ हेक्टर क्षेत्रफलमा ३ हजार १ सय ८४ मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । तानसेन नगरपालिकामा ६८ हेक्टर क्षेत्रफलमा ५ सय ४६, बगनासकालीमा १ सय १३ हेक्टरमा ९ सय १० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । त्यसै गरी पूर्व खोलामा ९० हेक्टरमा ७ सय २८, माथा गढीमा ११ हेक्टर क्षेत्रफलमा ९१ मेट्रिक टन सुन्तला उत्पादन हुन्छ ।

सुन्तला जोन सञ्चालक समितिका संयोजक नित्यानन्द पोखरेलका अनुसार रैनादेवी छहराको चार वटा वडाबाट मात्र १० देखि १२ करोडको सुन्तला बाहिर जिल्लामा निकासी हुन्छ । यस क्षेत्रका अधिकांश किसानले सुन्तला बिक्रीबाट कम्तीमा ३० हजारदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनले बताए । ‘किसानलाई आवश्यक प्राविधिक सीप, ज्ञान र प्राविधिक सहयोग नै हो,’ उनले भने, ‘यसका लागि संघ, प्रदेश र स्थानीय तहले व्यवस्थापन गर्नुपर्छ । किनभने सुन्तलाका लागि प्राविधिक खटाउने व्यवस्था छैन । जसले गर्दा किसानले हरेक वर्ष दुःख पाइरहेका छन् ।’

उनका अनुसार अहिले पनि विभिन्न रोग लागेर किसान समस्यामा छन् । सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका पाल्पाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकामा यस वर्ष धेरै किसानको बारीमा रोगले सताएको भैरव स्थानका सुन्तला किसान अमरकुमारी घर्तीले बताइन् । पाकिसकेका र पाक्ने बेलाको सुन्तला छिट्टै पहेँलो हुने, खाँदा अमिले हुने, बोट कालै देखिने, बोट सुक्दै जाने र कतिपय किसानको बारीमा औँसा कीराको प्रकोप देखिएको उनले बताइन् । कतिपय स्थानमा सुन्तला झर्ने र हाँगा सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । प्राविधिक सेवा पाउन नसकेपछि उनीहरूको सुन्तला बगान नै सखाप हुने हो कि भन्ने चिन्ता बढेको गुनासो गर्दै आएका छन् ।

गाउँपालिकाका साथै जिल्ला स्तरबाट प्राविधिक सहयोग नपाउँदा पनि किसानले रोगको समाधान गर्न सकेका छैनन् । सुन्तलाका पकेट क्षेत्र रिब्दीकोटको भैरवस्थान मात्र होइन, कुसुम खोला, पालुङमैनादी, मुझुङ, अमलावास, सोमादीमा पनि सुन्तला झर्ने, बोट पहेँलिने, हाँगा सुक्ने, बोटमा कालो ढुसीको समस्या देखिएको रैनादेवी छहरा गाउँपालिका-४ छहरा अमलावासी किसान सरस्वती पोखरेलले बताइन् । सुन्तलामा रोग देखा परे पनि प्राविधिक सेवा पाउन भने कठिन भएको उनले बताइन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुन्तला जोन सञ्चालन गरेको छ । तर यहाँ पनि पर्याप्त प्राविधिक छैनन् । जसले गर्दा सामग्री दिने भए पनि अन्य ज्ञानको अभाव छ । कतिपय स्थानमा सुन्तलाका बोट मरेको छ तर प्राविधिक ज्ञान नभएपछि उपचार गर्ने भन्दा पनि निकालेर फाल्ने काम भएको उनले बताए ।

Sharing Is Caring:

Leave a Comment