पुस २४, २०८१
काभ्रे — मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेंसीको फाँटमा यतिबेला लहलह तरकारी फलेको छ । फाँटैभरि फलेको काउली बजारमा लैजान तयार छ । किसानलाई काउली काट्न भ्याइनभ्याई छ । कोही काउली काट्न त कोही बजार लैजाने तयारीमा छन् ।
राम्चेबेंसीका ३८ वर्षीय चिरञ्जीवी सापकोटा दम्पतीलाई पनि काउली काट्ने र प्याक गर्ने हतारो छ । साँझ व्यापारी तरकारी लिन आउने भएकाले उनीहरू काममा तातिएका हुन् ।
व्यापारी तरकारी लिन बारीमै आउँछन्,’ सापकोटाले भने, ‘उनीहरूले तरकारीको मोल गर्दैनन्, यहाँबाट लिएर जान्छन्, काठमाडौं लगेर बिक्री गरेपछि आफूलाई केही रकम नाफा राखेर हामीलाई दिन्छन् ।’ व्यापारीलाई विश्वासकै भरमा तरकारी दिने गरेको उनको भनाइ छ । ‘तरकारी बजारमा लगेर आफैंले बिक्री गर्न समय नहुने भएकाले व्यापारीले जति दिन्छन्, त्यति नै लिन्छौं,’ उनले भने ।
आफूले गरेको दुःखअनुसारको आम्दानी नपाएकामा सापकोटाले दुःख व्यक्त गरे । ‘महिनौं दिनसम्म दुःख गरेर काउली लगायो,’ उनले भने, ‘बिक्री गर्ने बेलामा भाउ छैन, अहिले किलोको १० रुपैयाँमा दिएका छौं, यसबाट लगानी पनि उठ्दैन, बिक्री गर्ने समयमा कहिल्यै राम्रो भाउ पाइँदैन, किसानको दुःख सधैं उस्तै छ ।
हालसम्म राम्रो भाउ पाएका भनेको प्रतिकिलो १७ रुपैयाँ मात्रै पाएको हो । किसानले उचित मूल्य नपाउँदा निरुत्साहित हुने उनले बताए । सापकोटाले ५ रोपनीमा लगाएको काउलीबाट गत वर्ष १ लाख ५० रुपैयाँ आम्दानी गरेका थिए । गत वर्ष अलि राम्रो मूल्य पाएकाले थोरै फाइदा भएको थियो । तर यस वर्ष मूल्य राम्रो नपाएकाले फाइदा निकाल्न सक्ने स्थिति नरहेको सापकोटाको भनाइ छ । यस वर्ष ८०/९० हजार रुपैयाँ मात्र आम्दानी हुने उनको अनुमान छ ।
आफ्नो दुःख र मिहिनेतको प्रतिफल निकाल्ने समयमा प्रायः किसान खुसी हुन्छन् । तर काउली उत्पादनका लागि महिनौं दिन गरेको दुःख र परिश्रमको प्रतिफल निकाल्ने समयमा राम्चेबेंसीका किसान राममणि सापकोटामा खुसी छैनन् । कारण हो, तरकारीको बजार मूल्य । उपभोक्ताले बजारमा काउलीको मूल्य प्रतिकिलो ५० रुपैयाँसम्म तिर्दा किसानले भने १० देखि १२ मात्रै पाइरहेका छन् ।
‘एउटा काउली फलाउन कति धेरै मिहिनेत गर्नुपर्छ,’ राममणिले भने, ‘काउली रोप्ने स्थानको तयारी गर्ने, काउलीको बेर्ना तयारी गर्ने, रोप्ने, गोडमेल, गर्ने, मलजल गर्ने, समय–समयमा किटनाशक विषादी हाल्ने, झार निकाल्नेलगायतका काम गर्नुपर्छ । मिहिनेत उत्तिकै लाग्छ । तर त्यसको मूल्य पाइन्न ।’ काउलीबाट फाइदा हुन किसानले प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्म पाउनुपर्छ ।
राममणिले ६ रोपनीमा काउली लगाएका छन्, जसबाट करिब ६ हजार केजी उत्पादन गरिरहेका छन् । यसबाट उनले यस वर्ष ६० हजार आम्दानी हुने अनुमान गरेका छन् । स्थानीय ४८ वर्षीयाले सन्तोषी सापकोटा कृषिमै आत्मनिर्भर हुने सोचले व्यावसायिक तरकारी खेतीमा लागेकी छन् । पछिल्लो समय तरकारीबाट उचित मूल्य नपाएकामा उनमा निराशा छाएको छ ।
भन्छिन्, ‘भारतीबाट तरकारी निर्यात हुँदा यहाँका किसानले तरकारीको उचित मूल्य पाएका छैनन्, मौसमी तरकारी काउली अहिलेको समयमा बढी उत्पादन भएकाले पनि किसानले उचित मूल्य पाएका छैनन्, यो समयमा भारतबाट तरकारी निर्यातलाई रोक्न सके किसानले राम्रो मूल्य पाउँछन् ।’