प्रधानमन्त्री ओलीले गरे लुक्लामुनिको शेर्पा पर्यटन सडक उद्‌घाटन 

Swastika Bhandari

पुस २०, २०८१

सोलुखुम्बु — प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च तापमानका कारण हिमालमा हिउँ पग्लन थालेको भन्दै जलवायु न्यायका लागि आफू नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय समुदायमा मुद्दा उठाएको बताएका छन् ।

लुक्लामुनि सुर्केसम्म पुगेको ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वलाई शितल प्रदान गर्ने अग्ला हिमाल कालापत्थर हुनु दुखद् भएको भन्दै विकसित देशहरु संवेदनशील हुनु पर्ने धारणा राखे । उनले विश्वको सर्वोच्च शिखर रहेको खुम्बु क्षेत्र विश्वकै आकर्षक पर्यटकीय गन्तव्य भएको भन्दै यस क्षेत्रको विकासमा नेपाल सरकार लागि पर्ने बताए । उनले खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र चौंरीखर्कसम्म कालोपत्र सडक निर्माण गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा भौतिक योजनामन्त्री देवेन्द्र दाहालले खुम्बु क्षेत्रको पर्यटन सडकलाई कालोपत्र गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने आश्वासन दिए ।

रक्षामन्त्री मानवीर राईले जलविद्युत् र पर्यटनकमा प्रचूर संभावना बोकेको सोलुखुम्बुको सर्वांगीण विकासमा वर्तमान सरकार लागि परेको बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले यो पर्यटन सडक नेपालको होचो स्थान केचनाकवललाई विश्वको उच्च स्थानमा जोड्न उपयोगी हुने भन्दै पूर्वाधार विकासमा प्रदेश सरकारले ठोस योजना अगाडि सार्ने प्रतिबद्धता व्यक्त गरे ।

समाहरोहमा बोल्दै कोशी प्रदेशसभा तथा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुलाई बजेट र कार्यक्रम दिने कुरामा संघीय सरकारले उपेक्षा गरेको गुनासो पोखे ।

पालिका अध्यक्ष मिङ्माछिरि शेर्पाले सुर्केसम्मको सडक उद्घाटन भएसँगै हवाई मार्गको विकल्पको रुपमा पर्यटकले सडक उपयोग गर्न पाउने बताए । उनले पालिका केन्द्र चौरीखर्कसम्म सडकको ट्र्याक पुर्‍याउने बताए ।

सडक उद्घाटन गर्न नेपाली सेनाको हेलिकप्टरमार्फत जम्बो टोली लिएर सुर्के आएका प्रधानमन्त्री ओलीको टोली ३ घण्टा कार्यक्रमस्थल बसेर काठमाडौं फर्किएको छ । सदरमुकाम सल्लेरीबाट ६४ किलोमिटर दुरीमा सुर्केसम्म सडक आइपुगेको छ । यसअघि माप्यदुधकोशीको सिमाना खरिखोलासम्म पुगेको सडकलाई विस्तार गरी विभिन्न जलविद्युत् आयोजना र पालिकाको समेत गरी १६ करोडको लागत सुर्केसम्म कच्ची सडक पुगेको पालिकाका प्रवक्ता लाक्पाछिरि शेर्पाले बताए ।

बाटो खुलेसँगै अहिले दैनिक बस, सुमो र जिपले यात्रुहरुलाई लुक्लामुनिको सुर्केसम्म पुर्‍याउने गरेका छन् । सुर्केबाट लुक्ला विमानस्थल १ घण्टाको पैदल दूरीमा पर्छ ।

शनिबार खुम्बुक्षेत्रको सुर्केसम्म पुगेको सडक उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलगायत संघीय सरकारका मन्त्रीहरु र प्रदेश सरकारका मुख्यमन्त्री । 

Sharing Is Caring:

Leave a Comment