पुस २०, २०८१
काठमाडौँ — धान लगाएको क्षेत्रफल घटे पनि यस वर्ष धान उत्पादन बढेको छ । समयमै भएको वर्षा, उन्नत बीउको बढ्दो प्रयोग र मलखादको सहजताले धानको उत्पादन र उत्पादकत्व बढेको हो ।
गत बर्षको तुलनामा धान उत्पादन २ लाख ३१ हजार २ सय ४२ टन बढेको कृषि तथा पुशपन्छी विकास मन्त्रालयले जनाएको छ ।
‘चालु आर्थिक वर्षमा ५९ लाख ५५ हजार ४ सय ७६ टन धान उत्पादन भएको छ । यो परिमाण आर्थिक वर्ष २०८०/८१ को तुलनामा ४.०४ प्रतिशतले अर्थात् २ लाख ३१ हजार २ सय ४२ टन बढी हो,’ मन्त्रालयका प्रवक्ता मतिना जोशी वैद्यले भनिन्, ‘उत्पादन बढ्नुको मुख्य कारण उत्पादकत्वमा आएको वृद्धि नै हो । समयमै भएको वर्षा, उन्नत बीउको प्रयोग र रासायनिक मलको सहजताले पनि यो सम्भव बनाएको हो ।’ २०८१/८२ मा १४ लाख २० हजार ६ सय ३६ हेक्टरमा धान खेती गरिएको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा भने १४ लाख ३८ हजार ९ सय ८९ हेक्टरमा धान खेती गरिएको थियो । त्यसबाट ५७ लाख २४ हजार २ सय ३४ टन उत्पादन भएको थियो । यस वर्ष उत्पादनकत्वमा आएको सुधारसँगै धानको उत्पादन पनि बढेको मन्त्रालयको दाबी छ । गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ३.९८ टन थियो । यस वर्ष उत्पादकत्व बढेर ४.१९ टन पुगेको जोशीको भनाइ छ ।
गत वर्षको तुलनामा धानको उत्पादन बढे पनि मागअनुसार अझै अपुग छ । अझै मुलुकका लागि वार्षिक ८ लाख टन अपुग नै रहेको कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए । गत वर्ष भने करिब १० लाख टन अपुग थियो ।
मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार समग्र उत्पादन र उत्पादकत्व बढे पनि प्रदेशमा भने कुनैमा घटेको र कुनैमा बढेको छ । यस वर्ष कोशीमा धान लगाउने क्षेत्रफल, उत्पादन र उत्पादकत्व बढेको छ । गत वर्ष कोशीमा ३ लाख २४ हजार ४ सय १ हेक्टरबाट १४ लाख ३५ हजार ६ सय ७८ टन धान उत्पादन भएको थियो ।
यस वर्ष ३ लाख २९ हजार २ सय १२ हेक्टर खेती भएकामा १४ लाख ६६ हजार ५ सय १८ टन धान फलेको छ । कोशीमा उत्पादकत्व बढेको छ । गत वर्ष कोशीमा धानको उत्पादकत्व प्रतिहेक्टर ४.४३ टन थियो । यसपालि बढेर प्रतिहेक्टर ४.४३ टन पुगेको मन्त्रालयले जनाएको छ ।
मधेशमा धान लगाएको क्षेत्रफल घटेको छ । तर धान उत्पादन र उत्पादकत्व बढेको छ । गत वर्ष मधेशमा ३ लाख ८३ हजार १ सय ८३ हेक्टर धानखेती गरिएको थियो । र १३ लाख ३७ हजार ६ सय ७२ टन धान उत्पादन भएको थियो । यस वर्ष ३ लाख ७४ हजार १ सय १७ लाख हेक्टरमा खेती गरिएकामा १४ लाख ८० हजार ८ सय ३० टन धान उत्पादन भएको छ । उत्पादकत्व प्रतिहेक्टर ३.४९ टनबाट बढेर ३.९६ टन पुगेको मन्त्रालयले बताएको छ ।
बागमतीमा भने धान लगाएको क्षेत्रफल र उत्पादन दुवै घटेको छ । तर उत्पादकत्व भने बढेको छ । गत वर्ष १ लाख २८ हजार ९ सय ३ हेक्टरमा धान खेती गरिएको थियो । उक्त क्षेत्रफलबाट ५ लाख ४ हजार ३ सय ४४ टन धान उत्पादन भएको थियो ।
यस वर्ष धान लगाएको क्षेत्रफल खुम्चिएर १ लाख २५ हजार १ सय ५७ हेक्टरमा सीमित भयो । धान उत्पादन पनि घटेर ४ लाख ९८ हजार ६ सय ६२ टनमा झरेको छ । यहाँ धान उत्पादकत्व भने प्रतिहेक्टर ३.९१ टनबाट बढेर ३.९८ टन पुगेको छ ।
गण्डकीमा पनि धान लगाएको क्षेत्रफल र उत्पादन घटेको छ । यहाँ पनि उत्पादकत्व बढेको छ । गण्डकीमा ९७ हजार ९ सय ५९ हेक्टरमा ३ लाख ७९ हजार ३२ टन धान उत्पादन भएको छ । गत बर्ष भने १ लाख १ हजार ९ सय २३ हेक्टरमा धानबाली खेती गरिएको थियो । र ३ लाख ९१ हजार ६ सय २४ टन धान उत्पादन भएको जोशीले जनाइन् । यहाँ धान उत्पादकत्व भने प्रतिहेक्टर ३.८४ टनबाट बढेर ३.८७ टन पुगेको छ ।
लम्बिनीमा पनि धानखेती घटेको छ । तर उत्पादन र उत्पादकत्व दुवै बढेको छ । गत वर्ष लुम्बिनीमा ३ लाख २ हजार ३ सय ८६ हेक्टरमा धानखेती गरिएको थियो । उक्त क्षेत्रफलबाट १३ लाख १० हजार ८ सय २९ टन धान उत्पादन भएको मन्त्रालयको भनाइ छ । यस वर्ष लुम्बिनीमा २ लाख ९९ हजार ७ सय ६९ हेक्टरमा धानी खेती गरिएको छ । उक्त क्षेत्रफलबाट १३ लाख ६४ हजार ३१ टन धान उत्पादन भएको छ । लुम्बिनीमा धान उत्पादकत्व भने प्रतिहेक्टर ४.३३ टनबाट बढेर ४.५५ टन पुगेको छ ।
कर्णालीमा धान लगाएको क्षेत्रफल, उत्पादन र उत्पादत्व सबै घटेको छ । गत वर्ष यस प्रदेशमा ४१ हजार ९ सय ४ हेक्टरमा धान खेती गरिएको थियो । त्यसबाट १ लाख ४५ हजार ६३ टन धान उत्पादन भएको थियो । कर्णालीमा प्रतिहेक्टर उत्पादकत्व ३.४६ टन थियो । यसपालि धान लगाउने क्षेत्रफल घटेर ३८ हजार ७ सय ६३ हेक्टरमा झरेको छ । उत्पादन १ लाख ३० हजार १ सय ९१ टन र उत्पादकत्व ३.२७ टनमा सीमित भएको मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिममा पनि धान लगाइएको क्षेत्रफल घटेको छ । उत्पादन र उत्पादकत्व भने बढेको छ । गत वर्ष सुदूरपश्चिममा १ लाख ५६ हजार २ सय ८९ हेक्टरमा धान खेती गरिएको थियो । उक्त क्षेत्रफलबाट ५ लाख ९९ हजार १२४ टन धान उत्पादन भएको थियो । यस वर्ष धान लगाउने क्षेत्रफल घटेर १ लाख ५४ हजार ६ सय ६० हेक्टरमा झर्यो । धान उत्पादन भने बढेर ६ लाख ३६ हजार २ सय १२ टन पुगेको छ । धानको उत्पादकत्व प्रतिहेक्टर ३.८३ टनबाट बढेर ४.११ टन पुगेको जोशीले जनाइन् ।
‘कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिममा कूल धान उत्पादनमा वृद्वि भएको छ । बाँकी तीन प्रदेशका उत्पादन वृद्वि नकारात्मक रह्यो,’ रेग्मीले भने, ‘रुकुम (पश्चिम) मा धानबाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा कमी रहेकाले समग्र कर्णालीको उत्पादनमा कमी आएको छ ।
नवलपरासी (पूर्व) केही भागमा वर्षे धानको बाला नलाग्ने समस्या देखापर्यो, उत्पादनमा कमी आउँदा र लमजुङमा धान बाली लगाइएको क्षेत्रफल परिमाण परिमार्जन हुँदा कुल धानबाली भित्र्याइएको क्षेत्रफलमा कमी आई उत्पादनमा कमी हुन आएको छ ।’