सञ्चालनमा आयो मार्कीचोक २२० केभी सबस्टेसन

Swastika Bhandari

पुस २०, २०८१

काठमाडौँ — तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सकिएको छ । मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्मित मार्कीचोक सबस्टेसन विद्युत् प्रवाह गरी (चार्ज) सञ्चालनमा ल्याइएको हो । 

मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको बिजुली काठमाडौं उपत्यकामा ल्याउन मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनलाई पनि मंगलबार नै २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।

८२ किलोमिटर उक्त प्रसारण लाइनलाई ७ असार २०७९ बाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । मार्कीचोक सबस्टेसन चार्ज गरिएसँगै मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइएको हो ।

मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प्रसारण लाइन र मार्कीचोक तथा काठमाडौंको मातातीर्थमा २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो ।

मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न गरी गत वैशाखबाट सञ्चालनमा आइसकेको छ । दुवै सबस्टेसनमा १६०/१६० एमभीए क्षमताका दुई/दुई पावर ट्रान्सफर्मर राखिएका छन् । दुवै सबस्टेसनको क्षमता ३२०/३२० एमभीए छ । मार्कीचोक सबस्टेसन सञ्चालनमा आएसँगै मर्स्याङ्दी नदी करिडोरका जलविद्युत् आयोजनाहरूको विद्युत् २२० केभी प्रसारण लाइनबाट काठमाडौं उपत्यकामा ल्याउन पूर्वाधार संरचना बनेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

यसबाट देशको एकीकृत विद्युत् प्रणालीको भोल्टेज सुधार भई विद्युत् थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने घिसिङको भनाइ छ । मर्स्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माणाधीन मार्कीचोक–भरतपुर खण्ड सकिएपछि विद्युत् भरतपुरतर्फ पनि पठाउन सकिने उनले जनाए । मार्कीचोक–भरतपुर खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ काम भइरहेको छ ।

मार्कीचोकबाट चन्द्रगिरि नगरपालिकाको बाँडभन्ज्याङसम्म मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन बनाइएको त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनलाई बाँडभन्ज्याङमा आपसमा आबद्ध गरिएको छ । त्रिशूली र

मर्स्याङ्दीका दुवै प्रसारण लाइनलाई बाँडभन्ज्याङबाट मल्टिसर्किट (चार सर्किट) मा आबद्ध गरी मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ । मर्स्याङ्दी–काठमाडौं र त्रिशूली–काठमाडौं प्रसारण लाइनबाट आएको करिब १/१ हजार मेगावाट विद्युत् बाँडभन्ज्याङमा आबद्ध भई त्यहाँबाट करिब २ हजार मेगावाट विद्युत् मल्टिसर्किट प्रसारण लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित हुनेछ ।

मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी २०७७ पुसमा चाइना मेसेनरी इन्जिनियरिङ कर्पोरेसनसँग नयाँ ठेक्का सम्झौता गरी बाँकी निर्माण अगाडि बढाइएको थियो ।

दुवै सबस्टेसनको अनुमानित लागत करिब सवा २ अर्ब रुपैयाँ रहेको आयोजना प्रमुख लक्ष्मण फुँयालले उल्लेख गरे । नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजना सुरु गरिएको थियो ।

Sharing Is Caring:

Leave a Comment