पुस १९, २०८१

राजेश विद्रोही
काठमाडौँ — लोकतन्त्र संसारको सबैभन्दा उत्तम व्यवस्था मानिन्छ । जब लोकतन्त्र धनीपति तथा पुँजीपति दलाल वर्गको हातमा पुग्छ त्यसपछि यसको गरिमा नै सकिन्छ र शासक वर्गको निहित स्वार्थ पूरा गर्ने हतियार बन्छ । यतिबेला नेपाली लोकतन्त्रले यस्तै आरोप खेपिरहेको छ ।
राजनीतिक दल, नेता र व्यवस्थाप्रति तीव्र घृणा र वितृष्णा पैदा भएको छ । राजनीतिक दलसमेत आफ्नो राजनीतिक, वैचारिक लाइनबाट स्खलित भएका छन् । विपरीत राजनीतिक दल र वर्गहरूबीच ध्रुवीकरणसमेत बढेर गएको छ । भुइँमान्छे र मुलुकलक्षित काम हुन सकेका छ्रैनन् । गलत प्रतिस्पर्धामा राज्यशक्तिको दुरुपयोग बढेको छ ।
यतिबेला राज्य र राजनीतिको हरेक चरित्रमा चुनावदेखि चुनावसम्मको प्रतिस्पर्धामा धनी तथा दलाल वर्ग नै अघि देखिएका छन् । राज्यभन्दा पनि शक्तिशाली उनीहरू छन् । उनीहरू बिना राज्य र राजनीतिक दलको भविष्य नै छैन जस्तो गरी नेता र नेतृत्वहरूमा दलाली तथा आत्मसमर्पणवादी चिन्तन हाबी भएको छ ।
दलाल पुँजीवादको मुख्य चरित्र भनेको उसले जति नाफा कमाउँछन्, त्यो देशमा राख्दैनन्, विदेशमा लैजान्छन्, लुकाउँछन् र विदेशमै लगानी गर्छन् । किनभने दलाल पुँजीपतिहरूको कुनै राष्ट्रियता हुँदैन, राष्ट्र र जनताप्रति उनीहरूको कुनै किसिमको माया, मोह र विश्वास हुँदैन । उनीहरू जताबाट पनि नाफा मात्र कमाउने प्रवृत्तिका हुन्छन् । मुनाफाका लागि जे पनि गर्छन् । जताबाट पनि पैसा कमाउने मात्र भएपछि यसका लागि उनीहरू साम, दाम, दण्ड, भेद सबै अपनाउँछन् । त्यो पैसाको संरक्षण देशमा हुँदैन भनेर विदेश लान्छन् ।
दलाल पुँजीपति वर्गमा राष्ट्र, जनताप्रतिको विश्वास र माया, मोह नभएपछि राष्ट्रिय पुँजीपति वर्गको विकास हुन सकेन । राज्यले पनि त्यस खालको वातावरण दिन सकेन । उनीहरूले पनि आफ्नो पुँजी लगानीको संरक्षण देखेनन् । मूलतः यिनै चरित्रले राष्ट्रिय पुँजीपति वर्गको उठीबास भयो । देशको विकास र समृद्धि तथा राजनीतिक स्थिरताले गति लिन सकेन । त्यसैले नेपाल नबन्नुको मुख्य समस्या भनेको दलाल पुँजीवाद, दलाल पुँजीपति नै हुन् ।
पछिल्लो पटक जसरी निम्न पुँजीपति दलाल वर्गीय चिन्तनले राज्यलाई दोहन गरेर सम्पत्ति विदेशमा लुकाउने र लगानी गर्ने प्रवृत्तिको विकास भएको छ, यो प्रवृत्ति नेपालको उद्योगपति र पुँजीपतिहरूमा मात्र होइन, राजनीतिज्ञहरूमा पनि देखियो ।
नेपाली उच्च राजनीतिक नेतृत्वको विभिन्न देशहरूमा रहेको लगानी सम्बन्धमा बेलाबखत चर्चा परिचर्चा भइरहन्छ, जुन गम्भीर विषय हो । यसले राष्ट्रलाई खोक्रो बनाउने काम मात्र भएको छ । नेपालमा राष्ट्रिय पुँजीपति वर्गको खडेरी छ । भएका उद्योगधन्दा, कलकारखाना बेचिए, कि त जीर्ण अवस्थामा छन् । हिजोका धनी र पुँजीपतिहरू आज छैनन् । नवधनाढ्यहरू रातारात उदाएका छन् । उनीहरूसँग पुरानो अनुभव छैन ।आउने, जाने र सकिने प्रवृत्तिले ग्रसित छन् । यहाँका उद्योगी तथा पुँजीपतिहरू धन कमाउने, थुपार्ने र राज्य तथा राजनीतिक रूपमा लाभका पदहरू ओगट्ने प्रवृत्तिका भए । उनीहरू राज्य र राजनीतिको ट्याग लगाएर आफूले संरक्षण लिने र यसका लागि जे पनि गर्ने चरित्रका भए । उनीहरू
आफ्नो राष्ट्र र नागरिक चिन्दैनन् । निहित स्वार्थका लागि एउटा पार्टी र नेतालाई प्राथमिकतामा राखेर उनीहरूलाई नै लाभ दिने र लिने खालको भयो । उनीहरूकै क्षेत्रमा विकास र उनीहरूकै प्रतिमा जहिले पनि नागरिकले पुज्ने राजनीतिक रोडम्याप भयो ।
श्रम नगर्ने, दुःख र मिहिनेत नगर्ने तर रातारात धनी हुने र बन्ने प्रवृत्तिको विकास भएको छ । यो दलाल पुँजीवादीहरूले सिर्जना गरिदिएको अवस्था हो । आफूले उत्पादन नगर्ने, उत्पादनसँग नजोडिने, अरूको उत्पादनको उपभोग मात्र गरेपछि यसले दलाल प्रवृत्तिको विकास गर्छ । भारतमा रतन टाटाहरूले राष्ट्रिय पुँजीपतिका रूपमा संसारमा एउटा इतिहास खडा गरे ।
राज्यको आर्थिक विकास र क्षेत्रबाटै आफूलाई एउटा सफल राष्ट्रिय उद्योगी तथा पुँजीपतिका रूपमा स्थापित गरे । उनीहरूमा कहिल्यै राजनीतिको प्रभाव परेन । राजनीतिक तथा राज्यशक्तिको लोभ पनि गरेनन् । तर नेपालका धनी, पुँजीपति तथा व्यवसायीहरूले राजनीतिको आडमा राज्य व्यवस्थाको हुर्मत लिइरहेका छन् । उनीहरू राजनीति र राज्यसत्ताबिना बाँच्नै नसक्ने प्राणी जस्तो भएका छन् ।
उनीहरूलाई राजनीति र राज्यसत्ता भएन भने पानीबिनाको माछा जस्तो छट्पटिन थाल्छन् । वित्तीय क्षेत्र पनि उनीहरूलाई नै चिन्छ, राजनीतिक दल र सरकार पनि उनीहरूसँगै परिचित छ । विदेशी शक्तिहरूले पनि उनीहरूलाई नै चिन्छन् । यहाँ सर्वसाधारण नागरिकलाई चिन्ने कोही भएन । नागरिकसँग फाइदा उठाउने, चुस्ने, ठग्ने र दबाउने काम मात्र भयो ।
लामो समय राज्यसत्ता र शक्ति वरिपरि रहेका कांग्रेस–एमालेभित्र अधिकांश यस्तै मानिसहरूको जमघट छ । नयाँ दलहरू पनि यही रोगबाट ग्रसित देखिन्छन् । जसले राजनीति र राज्यशक्तिको फाइदा उठाइरहेका छन् । बाहिरी दुनियाँले पनि उनीहरूकै कुरा सुन्ने, बुझ्ने र मिडिया जगत्ले पनि प्राथमिकता दिने हुन्छ ।
उनीहरू कस्तो खालका व्यवसायी हुन् ? आजको लोकतन्त्रमा उनीहरूको आवश्यकता के हो ? र, के हुँदै छ ? उनीहरूलाई के–को अभाव र कमी छ ? जसलाई राजनीति, राज्य व्यवस्था र राज्यशक्तिको खाँचो छ, उनीहरूलाई किन बेदखल गरिँदै छ ? जुन वर्ग निरन्तर राज्य र नागरिकको समस्याका रूपमा छन्, उनीहरूलाई काँधमा बोकेर हिँड्ने दुस्साहस किन गरिँदै छ ? जसले समस्या दिन्छ उसैबाट समाधान खोज्नु, देख्नु र उसैलाई भोट दिएर राज्यशक्तिमा पुर्याउने प्रतिस्पर्धा नै राज्य र राजनीतिका लागि घातसिद्ध छ ।
नेपाली जनताले छोटो समयमा धेरै व्यवस्थाको अभ्यास गरेका छन् । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ । व्यवस्था जति छिटो र छोटो रूपमा परिवर्तन हुँदै आयो त्यति यहाँको अवस्थामा परिवर्तन छैन । सुधार गर्न सकिने र नसकिने के थियो ? त्यतातिर हामीले कहिल्यै ध्यान दिएनौं । सबै व्यवस्थालाई एउटै तराजुमा राखेर जोख्न थाल्यौं । जसले गर्दा हरेक व्यवस्थाभित्र रहेको राम्रो पक्ष पनि नराम्रो पक्षसँगै लखेटाइमा पर्यो ।
त्यसैले आजको लोकतन्त्र केबल धनी तथा पुँजीपतिहरूका लागि मात्र बनाइनु हुँदैन । राष्ट्र निर्माणका लागि उनीहरूको सहयोग भने लिनुपर्छ । शोषित, उत्पीडित तथा राज्यद्वारा पछाडि पारिएका वर्ग समुदायको अग्रणी अधिकारसहित समान स्वरूपको हुनुपर्छ । यहाँको प्राकृतिक सम्पदा र मानवीय स्रोतसाधन नेपालकै हितमा प्रयोग गर्नुपर्छ ।
इतिहासमा सीमित बन्दै गरेको कृषि प्रधान देशको बाँझो जमिन फुटाउनुपर्छ । उत्पादन र श्रममा जनशक्ति केन्द्रित गर्नुपर्छ । विश्वको जुन परिवर्तित परिदृश्य देखिएको छ त्यसबाट नेपाली श्रम र श्रमिकलाई नेपालमै आकर्षण गरिनुपर्दछ । भविष्य आफ्नै देशमा छ भनेर देखाउन सक्नुपर्छ । विदेशमा सिकेर आएको कला, सीप र प्रविधिलाई नेपालमै प्रयोग र खपत गर्ने तथा नेपाली उत्पादनलाई विश्वका ठूला विकसित छिमेकी मुलुक भारत र चीनको बजारमा बिक्री गर्ने र आयआर्जन गर्ने खालको नीति राज्यले बेलैमा लिन जरुरी छ ।